राष्ट्रियसभा निर्वाचन : धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, यस्तो छ निर्वाचन कार्यतालिका

माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको कैलालीका जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले उद्घाटन गरेको हुन् ।

२०७४ सालको निर्वाचन प्रदेशको डोटी जिल्लामा गरिएको थियो । यस वर्ष भने निर्वाचन आयोगले धनगढीमा गर्ने निर्णय गरेको थियो । आयोगको मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवनमा यसअघि नै तोकी सकेको छ ।

जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यही १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि छ ।

निर्वाचन अधिकृतका कार्यालयका अनुसार पुस १८ गते निवेदन तथा उजुरी छानबिन र कारबाही गर्ने, १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ । यस्तै, २० गते उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको निर्वाचन चिह्न प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ । प्रदेशमा महिला, दलित र अन्य पदका लागि निर्वाचन हुनेछ । निर्वाचन अधिकृत पनेरुले धनगढीस्थित प्रदेशसभा सचिवालयमा दुइटा मतदान केन्द्र स्थापना गरी मतदान गराइने बताए । सोका लागि एक मतदान केन्द्रमा तीनवटा मतपेटिका राखिनेछ ।

तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १४:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया