क्यान–खेलाडी विवादः समस्या जहाँको त्यहीं, प्रशिक्षकको आगमनले केही परिवर्तन होला त ?
फरकधार / १५ पुस, २०७८

पछिल्लो समय नेपाली खेलकुदमा निकै चर्चाको विषय बन्यो– नेपाल क्रिकेट एसोसिएशन (क्यान) र राष्ट्रिय क्रिकेट खेलाडीबीचको विवाद । 



यो चर्चा तब चुलियो जब क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडी माथि कारवाही गर्यो र नेपाली क्रिकेट टिमको नयाँ कप्तानमा युवा खेलाडी सन्दीप लामिछानेलाई नियुक्त गर्ने निर्णय लियो । 

त्यसपछि पक्ष–विपक्षमा धारणाहरू सार्वजनिक भइरहेका छन्, खासगरी सामाजिक सञ्जालमा । 



त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि क्यान–खेलाडी विवादमा चासो देखाए । उनीहरुले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)सँग के भएको भनि सोधे । 



पछिल्ला दिन विवाद सुल्झाउने तर्फ कोही अघि नबढ्नुले यही भन्छ– देउवा र प्रचण्डको सोधपुछ देखाउनको लागि मात्र थियो, समाधानको लागि थिएन । 

क्यान र खेलाडी दुवै तर्फबाट एक हप्ता जति आफ्ना पक्षमा कुराहरु राख्ने काम भयो । केही दिन तातेको यो विषय अहिले सेलाएको छ । क्यान र खेलाडी आ–आफ्नै तर्क र ढिपीमा मस्त छन् । 

कप्तान सन्दीप लामिछाने भने यो विवाद छिटो सुल्झिए हुन्थ्यो भन्नेमा छन् । समस्या सुल्झिए कारवाहीमा परेका चारै जना खेलाडी टिममा फर्कनेमा उनी विश्वस्त छन् । उनले खुलेरै यस्तो अभिव्यक्ति दिइरहेका छन् । उनी आफू कप्तानको रुपमा सफल हुन पनि कारवाहीमा परेका चार जना खेलाडीको सहयोगको आवश्यकता उनले महशुस गरेका छन् । 

कारवाहीमा परेका खेलाडी आफूहरुमाथि भएको कारबाही अनावश्यक भएको र यसलाई क्यानले त्यसै उचालेको आरोप लगाउँदै आएका छन् । 

क्यान–खेलाडी विवादमा क्यानका ६ पदाधिकारीले पनि क्यानको निर्णयमा असन्तुष्टि जनाइरहेका छन् । यति मात्रै होइन यो विषय खेलकुद मन्त्री गहतराजले पदाधिकारीलाई मन्त्रालयमा नै बोलाएर पुर्नविचार गर्न समेत भनेका छन् । 

यस बिचमा क्यानका पदाधिकारी तथा कप्तान सन्दीप लामिछानेले खेलाडीलाई सक्दो समझदारीमा ल्याउने प्रयत्न भइरहेको बताएका छन् । तर देखिने गरी उपलब्धि हात परेको छैन । 

नेपाली राष्ट्रिय क्रिकेट टिम आउँदै गरेको ग्लोबल क्वालिफायर तथा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरियता कायम तथा व्यवस्थापन गर्न ओडीआई खेल्ने तयारीमा रहेको छ । यस्तो बेला निस्केको विवादले अन्तराष्ट्रिय स्तरका नेपाल सहभागी हुने प्रतिस्पर्धामा समेत असर गर्नसक्ने आँकलन धेरैले गरेका छन् । 

यही असरलाई कम गर्न क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल विवाद जतिसक्दो छिटो मिलाउने तथा समझदारी तर्फ लैजाने प्रयास भइरहेको बताउँछन् । उनले भने, ‘हामी टोलीमा रहेका हरेक खेलाडीले राम्रो खेलोस् र टोली एकबद्धता होस् भन्ने चाहन्छौं ।’

क्यानको खेलाडी मिलाउने प्रयास 

राष्ट्रिय टोलीका चार खेलाडी कप्तान ज्ञानेन्द्र मल्ल​, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी माथि भएको कारवाहीका कारण  कारबाहीमा पर्ने मात्र होइन नपरेका खेलाडीमा समेत नैराश्यता छाएको छ । 

यो नैराश्यकता धेरै बढ्न नदिन खेलाडीलाई सक्दो मिलाएर जाने सुरुवात भई सकेको कार्यवाहक सचिव मल्लले जनाए । ‘कुरा भइरहेको छ । राम्रै होला भन्ने आशमा छौं,’ उनले भने । 

खेलाडीलाई फकाउने प्रयास भएको तर कारवाही भने फिर्ता नहुने उनले स्पष्ट पारे । उनले भने, ‘अनुशासनको कारबाही संसारका जुनसुकै ठाउँमा पनि हुन्छ । यस विषयमा पूरै कारबाही नै बदल्ने अथवा गरिसकेको निर्णय बदल्ने भन्ने चाँही हुँदैन ।’ 

क्यानका लागि हरेक खेलाडी बराबरी रहेको र गल्ती गरेको अवस्थामा कारबाही हुने कुरालाई सामान्य रुपमा लिन उनको आग्रह छ ।

‘कुरा धेरै बढाइचढाई गर्दा झन नराम्रो होला । सकेसम्म सबैकुरा सुल्झाएर अघि बढ्ने लक्ष्य हाम्रो छ,’ कार्यवाहक सचिव मल्लले भने, ‘भविष्यमा के होला त्यो पछिको कुरा हो । तर एउटा निर्णय त भइसक्यो ।’

क्यानले खेलाडीलाई खेल्न रोकेको छैन 

कारवाहीमा परेका तर राष्ट्रिय टोलीमा खेल्दै गरेका महत्वपूर्ण चार खेलाडी अब टोलीमा फर्कने कि नफर्कने भन्ने दुविधामा बस्न नहुने कार्यवाहक सचिव मल्लको धारणा छ । 

‘हामीले टोलीमा खेल्न रोकेका छैनौं । उहाँहरुलाई हरेक किसिमको प्रतियोगिता खेल्न पाउनु हुन्छ,’ उनले भने, ‘क्यानले एउटा समान्य रुपमा खेलाडीलाई अनुशासा सम्झाउने काम मात्र गरेको हो । उहाँहरुलाई राष्ट्रिय टोलीबाट खेल्न भने रोकेको छैन ।’

६ महिनासम्म तलबविहिन बसेर खेलाडीले खेल्न तयार होलान् त भन्ने प्रश्नमा मल्ल भन्छन्, ‘यस अघि पनि राष्ट्रिय टोलीमा भएका हरेक खेलाडीले तलब पाउने भन्ने थिएन । केही खेलाडीले तलबबिना पनि खेलिरहेका थिए ।’ 

यस अघि रोहित पौडेल, गुल्सन झा जस्ता खेलाडीले कन्ट्रयाक्ट बिना खेलेको उदाहरण दिँदै खेलाडीलाई प्रतियोगिता खेल्न भने नरोेकेको फरकधारसँगको कुराकानीमा मल्लले बताए । 

के पुबुदुले फर्काउन सक्लान त खेलाडी ?

अहिले धेरेको मनमा उठेको प्रश्न हो– विवादै विवादबिच पुनः नेपाली राष्ट्रि क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएर आएका पुबुदु दसनायकेले राष्ट्रिय टोलीका खेलाडीलाई एकजुट बनाएर खेलाउन सक्लान् त ? 

 अथवा उनले काम गर्न सक्लान त ? 

पुबुदु नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक भएर नेपाल आएको यो दोस्रो पटक हो । यसअघि पनि उनले नेपाली टोलीको जिम्मेवारी उठाइसकेका छन् । त्यतिबेला खेलाडी र क्यानबीच खासै असमझदारी थिएन, तर अहिले विवाद उत्कर्षमा पुगेको छ । धेरेथोरै यो मिलाउने जिम्मेवारी उनको काँधमा पनि छ । 

‘यो कुरालाई प्रमुख प्रशिक्षकले पनि कसरी सुलझाउनु हुन्छ हामी हेरिरहेका छौं । यो उहाँको पनि जिम्मेवारी हो । हरेक राम्रो कुराको लागि क्यान सदैव तयार रहेको छ,’ कार्यवाहक सचिव मल्लले भने । 

खेलाडी र क्यानको असमझजदारीबिच नेपालको लागि ठूलो सम्भावना बोकेका तथा यसअघि सफलता दिलाइसकेका प्रशिक्षकले पुनः नेपाली क्रिकेटलाई नयाँ उचाइ दिन सक्लान् त ? यस प्रश्न भित्र क्रिकेट–खेलाडीबीचको समस्याको समाधान पनि लुकेको छ । 

  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १६:३४:५९,   अन्तिम अपडेट : पुस १६, २०७८ शुक्रबार ११:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया