कैलालीमा द्वन्द्वपीडित महिलालाई रोजगार सामग्री हस्तान्तरण गरिएको छ । अलर्ट, टिपिओ नेपाल तथा महिला कानुन र समाज कैलालीले करिब ५ लाखबराबरको रोजगार सामग्री कैलारी गाउँपालिकाका १० जना द्वन्द्वपीडित महिलालाई वितरण गरेको हो ।
द्वन्द्वपीडित भई राज्यबाट कुनै सहयोग नपाएका तथा समस्यामा परेका महिलालाई लक्षित गरी सामग्री हस्तान्तरण गरिएको महिला कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए ।
उनका अनुसार पाँचजना महिलालाई बंगुर, एकजनालाई किराना, एकजनालाई होटेलसम्बन्धी, एकजनालाई कस्मेटिक सामग्री, एकजना महिलालाई सिलाइ मेसिन र एकजना महिलालाई माछाका भुरा वितरण गरिएको छ ।
सहयोग पाउने महिलालाई यसअघि सीप विकाससम्बन्धी तालिम दिइएको र उनीहरुको मागअनुसार व्यवसाय सञ्चालन गर्न तथा सञ्चालित व्यवसायलाई पवर्द्धन गर्न सामग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए । संस्थाले परिवारकेन्द्रित अवधारणाअनुरुप द्वन्द्वपीडितलाई आर्थिक शसक्तीकरणका लागि सहयोग गर्ने गरेको उनले बताए ।
सहयोग सामग्री पाउने महिलाले अब आत्मनिर्भर हुन सहज हुने बताएका छन् । ‘राज्यकै कारण पीडित भएका हामीलाई राज्यले कहिल्यै हेरेन,’ शिलादेवी चौधरीले भनिन्, ‘केही काम गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक समस्याका कारण असहज भइरहेको थियो, अब स्वरोजगार बन्ने इच्छा पूरा हुने आशा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।