नेपाल क्रिकेट संघ (क्यान)ले आगामी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल ए छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । प्रमुख प्रशिक्षक पुबुदु दसनायकेले प्रारम्भिक ३० सदस्यीय टोली छनोट गरेका हुन् ।
पहिलो चरणको बन्द प्रशिक्षणका लागि उनले कारबाहीमा परेका चारैजना खेलाडी समावेश गरिएको हो । बन्द प्रशिक्षण पुस १७ गते अर्थात् जनवरी १ तारिखबाट सुरु हुने क्यानले जानकारी दिएको छ।
टि–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ ।
समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जर्मनी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
ग्लोबल छनोटको समूह बी का खेल भने जिम्बावेमा हुनेछन् । जसअन्तर्गत समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।
टि–२० ग्लोबल छनोट बी जुलाई ८ देखि १८ सम्म जिम्बावेमा हुनेछ । टि–२० विश्वकप २०२२ आगामी अक्टोबर–नोभेम्बरमा हुनेछ । २०२४ देखि भने टि–२० विश्वकपमा २० टोली हुनेछन् ।
नेपालले पहिलो तथा एक मात्र विश्वकप २०१४ मा खेलेको थियो । उक्त समय पुबुदुकै मुख्य प्रशिक्षकमा खेलेको थियो ।
नेपालको प्रारम्भिक ३० सदस्य टोली
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशनकुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।