महासचिवमा जनार्दनको दाबी कमजोर बन्नसक्ने केही कारण

माओवादी केन्द्रको जारी आठौं महाधिवेशनबाट आउने निष्कर्षका केही कुरा निश्चितजस्तै छन् । केही अन्यौलताकै बीचमा छन् । 

विचारमाथि बहस गरिरहेको माओवादीले नेतृत्व छनौटको प्रक्रिया आजबाट अघि बढाउने भनेको छ । यद्यपि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड दोहोरिने पक्का छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष पद पनि नारायणकाजी श्रेष्ठकै लागि खडा गरिएको निश्चित बनेको छ ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्षपछि सबैभन्दा बढी चर्चा पाएको पद हो- महासचिव । कम्युनिस्ट पार्टीमा अध्यक्षभन्दा पछिको सबैभन्दा बलियो र महत्वपूर्ण पदको रूपमा लिइन्छ महासचिवलाई । त्यतिमात्रै होइन, महासचिवलाई पार्टीको उत्तराधिकारीको रूपमा पनि लिइन्छ ।

माओवादीका एकजना केन्द्रीय सदस्यका अनुसार यो महाधिवेशनमा महासचिव बन्ने व्यक्ति अर्को महाधिवेशनपछि माओवादीको नेतृत्वमा पुग्नेछ । किनभने, प्रचण्डले आफैँले पनि अन्तिम पटक आफू मैदानमा आएको उद्घोष गरेका छन् ।

तर, १५ सदस्यीय पदाधिकारीमा महासचिव को हुने भन्नेबारेमा प्रचण्ड आफैँ अनिर्णयको बन्दीमा फसेका छन् । महासचिवमा वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाल विद्युतको दाबी छ । पुन उपचारका लागि चीनमा भएकाले केही बोलेका छैनन् । शर्मा र भुसालले सार्वजनिक रूपमै आफूहरू महासचिव हुनपर्ने बताइसकेका छन् ।

उपचारका लागि विदेशमा रहेको मौका छोपेर जनार्दनले पुनलाई साइड लगाई महासचिव बन्ने तयारीमा तीव्र लागेका छन् । पार्टीमार्फत् अवसर र त्यसको प्रयोग गर्न जानेका शर्मा महासचिव बन्ने कुरा भने त्यति सहज छैन ।



अहिले उनी अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यसअघि ऊर्जा मन्त्रालयको जिम्मवारी सम्हालेको अनुभव पनि उनीसँग छ । ऊर्जा मन्त्रालयको जिम्मेवारीमा सफल भए पनि अर्थमन्त्रालयमा पुगेर छिटोछिटो बोल्दा उनी विवादमा फसिरहेका छन् ।

सेयर बजारका विषयमा शर्माले गरेको टिप्पणीका कारणले पनि व्यवसायीहरू अहिले शर्मासँग रुष्ट छन् । केही व्यवसायीहरू शर्मालाई महासचिव नबनाउने दबाब अध्यक्ष प्रचण्डसामू पुर्‍याइरहेको स्रोतको दाबी छ ।



जनयुद्धकालीन अवस्थामा पनि उनको वरियता महासचिवका अन्य दाबेदारको तुलनामा कमजोर थियो । शर्माले गण्डकी र राप्तीलाई कार्यक्षेत्र बनाएर युद्धको भूमिकामा अघि बढेका थिए ।

एकजना माओवादी पृष्ठभूमि बोकेका सेयरमा लगानी गरेका व्यवसायीका अनुसार शर्मासँग अहिले धेरै रुष्ट छन् । 

‘नबुझी बोल्दा व्यवसायलाई असर पर्ने कुरामा उहाँको राम्रो देखिएन’, ती व्यवसायीले भने, ‘स्वार्थ समूह डराएर मात्र नजिक हुन्छ । नत्र उनको व्यवहार रिसाउने खालको भएकाले पनि पार्टी नेताहरू मान्न तयार छैनन् ।’

शर्मालाई पार्टीको राजनीतिमा रुकुमभन्दा बाहिर निस्कन नसकेको आरोप पनि लाग्ने गरेको छ । माओवादीमा बहस भइरहने परिवारवादको विषयमा पनि उनी अगाडि छन् । 

माओवादीका अर्का एकजना केन्द्रीय सदस्यले भने, ‘आफ्नालाई भनेपछि प्रभाकर कमरेड मरिहत्ते गरेर लाग्नुहुन्छ ।’

शर्माको बुहारीसमेत रहेकी कर्णाली प्रदेशकी नेतृ बिमला केसी निर्विकल्प कर्णाली प्रदेशको अध्यक्ष बनेकी छन् । यसअघि उनी महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा मन्त्री थिइन् भने सरकारको प्रवक्तासमेत बनेकी थिइन् ।

शर्माले लुम्बिनीमा आफ्नो सहोदर ज्वाइँ जगप्रसाद शर्मालाई अघि सारे । मन्त्री बनाउँदा आफ्ना भाइ भतिजालाई अघि सारेको आरोप उनलाई माओवादी केन्द्रभित्र लाग्ने गर्छ ।

लोकेन्द्र विष्टलाई पराजित गर्ने मुख्य आधार शर्माले नै तय गरेको आरोप अहिलेसम्म पनि उनलाई लाग्छ ।

नाम नबताउने सर्तमा माओवादीका एक नेताले भने, ‘इगोले गर्दा लोकेन्द्र विष्टलाई पराजित गर्ने मुख्य आधार शर्माले नै बनाए । हेमन्त प्रकाश ओली पनि रुकुमका हुन् । उनलाई पनि शर्माकै जोडबलमा पार्टीबाट लखेटियो ।’

रुकुममा वाइसिएलको नेतृत्व गरिसकेका गणेशमानसँग लडाइँ हुन्छ भनेर रुकुम फुटाएको उनीमाथि आरोप छ ।

त्यस्तै, माओवादी केन्द्र साना दलहरूसँगको एकता प्रयासमा छ । यदि मिलेसम्म माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीसँगको एकतालाई पनि माओवादीले अघि बढाउनेछ । त्यस्तो अवस्थामा जनार्दनलाई महासचिवको रूपमा मान्न तयार नहुने पंक्ति धेरै रहेको ती नेताले बताए ।

एमालेसँग एकता गरेर नेकपा भएको बेलामा पनि जनार्दन र विष्णु पौडेलबीच सहकार्य बढेको चर्चा चलेको थियो । उनलाई प्रचण्ड छाडेर ओली क्याम्पतिर गएको भन्ने आरोप पनि लागेको थियो ।

यद्यपि उनले त्यसलाई प्रचण्डसँगको सामिप्यता बढाएर सन्तुलन गरे । नेकपामा वामदेव गौतमलाई संगठन विभाग प्रमुख र जनार्दनलाई उपप्रमुख बनाइयो । 

उनीहरू दुवैबीच सम्बन्ध बढ्दै गएको मात्र नभई ओलीतिर नजिक हुँदै गएको आरोप लागेको थियो । जब ओलीसँग प्रचण्डको दूरी बढ्दै गयो, अनि प्रभाकरले पनि ओलीको आलोचना गरेका थिए ।

भौतिकरूपमा हक्की स्वभावका साथ उपलब्ध भएका जनार्दनलाई प्रचण्डको नयाँ प्रयोगका रूपमा पनि नेताहरूले लिएका छन् । 

जनार्दन निकट एक नेताका अनुसार अहिले जनार्दनलाई प्रचण्डले देशैभर परिचालित गर्ने उद्देश्यका साथ अघि बढाएका हुन् । यद्यपि, महासचिवकै रूपमा अघि सार्न भने प्रचण्ड तयार नभएको उनको भनाइ छ । 

पुँजीगत खर्च नगरेका कारण बैंकमा ऋण नपाएको, ठेकेदारहरूले पेमेन्ट बेलामा नपाएको जस्ता जनार्दनकै गल्तीहरू प्रचण्ड सचिवालय हुँदै हेडक्वार्टरसम्म यतिबेला पुग्न थालेका छन् ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ९:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया