कस्ता विद्यालयमा पढ्छन् माओवादी नेताका छोराछोरी ?
महँगा विद्यालयमा छोराछोरी पढाउँदै महाधिवेशनमा सामुदायिक शिक्षाको बहस

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । महाधिवेशनको मुख्य चर्चाको विषय बन्यो- अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेज ।

प्रचण्डको राजनीतिक दस्तावेजमाथि विभिन्न २५ समूहले निष्कर्ष सुनाइरहँदा अझै चर्चाको विषय बन्यो- नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने ।

प्रज्ञा भवनमा जारी महाधिवेशनकै बीच शिक्षामन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेलकी छोरी अमेरिकातिर लागिन् । उनी उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएकी हुन् ।

यता, प्रज्ञा भवनमा सो विषयमा भएको छलफल सेलाएको थिएन । पार्टीका अर्का नेता लेखनाथ न्यौपानेले लिखित प्रस्ताव नै अघि सार्दै माओवादी नेताका छोराछोरीले सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने बताइरहेका थिए । 

त्यतिबेलै नेता पौडेलले सामाजिक सञ्जालमार्फत् छोरीलाई ‘शुभयात्रा’ भन्दै सेयर गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा पौडेलको चरित्रको बारेमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । 

त्यसो त, पौडेलले मात्र आफ्नो छोरीलाई विदेश पढ्न पठाएका हुन् त ? इतिहास त्यस्तो छैन । स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाति पनि ललितपुरको एक महँगो बोर्डिङमा पढ्दै आएको समाचारहरू बेलाबेलामा आउँछन् ।



माओवादीको बुझाइ

धेरै लामो समयअघि फर्किनु पर्दैन, तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्ध सुरु गर्दा विद्यालयमा हुने पढाइलाई ‘बुर्जुवा शिक्षा’ भनेर व्याख्या गरिन्थ्यो । 



सार्वजनिक विद्यालयमा नैतिक शिक्षाको पठनपाठन बन्द गराएको माओवादीले जनवादी शिक्षा लागू गर्ने उद्घोष समेत गर्‍याे । देशमा बुर्जुवा शिक्षा खारेज गरेर वैज्ञानिक शिक्षा लागू गर्ने नारा त्यतिबेला माओवादीको थियो ।

युद्धको रापताप बढ्दै जाँदा धेरैले यो नारालाई पत्याएर पढाइ छाडी जनयुद्धमा लागे । तर अहिले अवस्था भने ठीक उल्टो छ ।

माओवादीले जनवादी शिक्षा लागू गरेकाे स्कुलले अहिले बुर्जुवा शिक्षा नै पढाइ ‍रहेका छन् ।एकातिर माओवादीले खोलेका ती विद्यालय अलपत्र छन्, अर्कोतिर जनयुद्धको नेतृत्व गरेका कमाण्डरका छोराछोरी उच्च शिक्षाका लागि भन्दै विदेसिएका कयौं उदाहरणहरू जीवितै छन् ।

फेरि एकपटक माओवादीमा विद्यालय शिक्षाको बहस उठान भएको छ । यो बहस केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सुरु गरिदिएका थिए । ओलीले जनयुद्धका कमाण्डर डा. बाबुराम भट्टराईलाई छोराछोरीलाई कहाँको आम्दानीले कसरी पढाउनुभयो भन्दै प्रश्न गरेका थिए । 

ओलीको प्रश्न थियो- ‘बाबुरामजी बताइदिनुस् त ! तपाईंका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कम्सेकम दुई-चार, पाँच-लाख महिनाको खर्च हुन्छ । भूमिगत हुँदा छोराछोरीलाई कहाँको आम्दानीले कसरी पढाउनु भएको थियो ?’

उडन्ते कुरा नगर्न भन्दै भट्टराईले छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न चुनौती दिएका थिए त्यतिबेला । 

‘पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन’, सामाजिक सञ्जालमार्फत् भट्टराईले भनेका थिए, ‘हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९-०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएको र सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !’

१० वर्षे आन्दोलनको नेतृत्व गर्नेमध्येका एक बाबुराम आफैँ पढेलेखेका मध्येमा चिनिन्छन् । उनले पिएचडीसम्मको अध्ययन सकेर डाक्टरको उपाधि पनि लिइसकेका छन् । तर, उनकी पुत्री डा. मानुषी यमि भट्टराई भने बेलायतमा गएर अध्ययन गरेकी होइनन् । 

ओलीले तथ्य जाँच नगरी बोलिदिँदा बाबुरामले खण्डन गर्न त पाए । तर, उच्च शिक्षाकै लागि मानुषी भारतको जे एन यू युनिभर्सिटीमा लामो समय अध्ययन भने गरेकी थिइन् ।

कुन नेताका छोराछोरी कहाँ ? 

जनयुद्ध सुरु गर्दैगर्दा माओवादी नेताहरूले त्यतिबेलाको शिक्षालाई ‘बुर्जुवा शिक्षा’को संज्ञा दियो । हजारौं बालबालिकालाई विद्यालयबाट उठाएर बन्दुक समाउन लगाएका उदाहरणहरू छन् । अहिले तीनै नेताका छोराछोरी राजधानी र विदेशका महँगा विद्यालयहरूमा अध्ययन गरिरहेका छन्। 

माओवादी नेता वर्षमान पुनले छोरीलाई शिक्षाका लागि चीन पठाएका थिए । कोभिड-१९ को भयावहस्थिति पछि उनी नेपाल फर्किएकी हुन् । हाल पुनको उपचारका लागि उनी पनि चीनमै छिन् । पुनले छोरालाई सेन्ट जेभियर्स स्कुलमा विद्यालय तहकाे शिक्षा दिलाएका थिए ।

त्यस्तै, माओवादी नेता दीनानाथ शर्माका छोरा साजन चीनमा भाषा अध्ययन गरेर नेपाल फर्किए।

अर्का माओवादी नेता तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराका छोरा राहुल महरा पनि चीनमा भाषा विषय अध्ययन गरेर फर्किएका छन् । उनी अहिले बाबुको सहयोगीको रूपमा राजनीतिमा सक्रिय छन् । 

उता, सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटाका छोरा रूपक सापकोटाले पनि विदेशमै अध्ययन गरेका हुन् । उनले चीनमा अध्ययन सकेर अहिले काठमाडौंमा छन्।  अर्का नेता देव गुरुङले पनि पाल्पामा छोरालाई एमबिबिएस पढाइ गराएका छन् ।

त्यस्तै, माओवादीकै अर्का कमाण्डर नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाश चन्दले चितवन मेडिकल कलेजबाट डाक्टरको उपाधि लिए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग ०७६ फागुन २१ गते शान्ति प्रक्रियामा आएको विप्लव समूह अहिले पनि जनताका पक्षमा वकालत गरिरहेको हुन्छ । दलाल पुँजीवादविरोधी क्रियाकलाप गराउँदै हिँडेका विप्लवका छोरा भने महँगो विद्यालयमा शिक्षा हासिल गरिरहेका छन् । 

पहिल्यै पनि चलेको थियो अभियान

मुलुकको सर्वहारा पार्टी भन्न रुचाउने माओवादीमा यो विषय नचलेको होइन । केही वर्षअघि नेता हिमाल शर्माले अखिल क्रान्तिकारीको नेतृत्व गरिरहँदा आफ्ना छोरालाई चीनबाट फिर्ता बोलाएका थिए ।

उनले माओवादी नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने भन्दै आवाज उठाएका थिए ।

त्यसपछि क्रान्तिकारीका अध्यक्ष बनेका लेखनाथ न्यौपानेले ०६७ सालमै यो आवाज उठाएका थिए। पार्टी संगठनमा माओवादी नेताका छोराछोरीहरू महँगा विद्यालयमा पढाइएको रिपोर्ट आएको भन्दै त्यसविरुद्ध अभियान नै सुरु भएको थियो । 

न्यौपानेले पार्टीको आठौं महाधिवेशनमा मुख्य विषय नै यही बनाएर बहस सुरुवात गरेपछि हल्लाखल्ला सुरु भएको हो ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १४:५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया