मंसिर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुन लागेकोे एसिया प्यासिफिक समिटमा भाग लिन आउने विशिष्ट पाहुनाको सुरक्षाका लागि भन्दै सरकारले यातायातमा लागू गरेको जोर–विजोर प्रणालीको चर्को आलोचना भएको छ । सामाजिक सुरक्षा दिवसका अवसरमा सरकारले गरेको स्टन्टबाजी र फजुल खर्चको आलोचना सेलाउन नपाउँदै सरकारको अर्को निर्णय फेरि आलोचित बनेको हो ।
युथ कांग्रेस नेपालले एक विज्ञप्ति जारी गर्दै जोर–विजोर प्रणाली अवज्ञा गर्न सबैलाई अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा राज्यले जनतालाई दुःख दिने काम गर्न लागेको प्रति हाम्रो गम्भिर आपत्ति छ ।’ जोर–विजोर प्रणालीलाई ‘जिम्मेवार राज्यको गैरजिम्मेवार कदम’को संज्ञा दिँदै युथ कांग्रेसले सरकारी निर्णयलाई ‘रहस्यमय, शंकास्पद र अस्वाभाविक’ पनि भनेको छ ।
त्यसैगरी, कांग्रेस नेता गगन थापाले पनि युथ कांग्रेसको विज्ञप्ति सेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘सही कामको लागि सरकारले आह्वान गर्दा जोर–विजोर मात्रै होइन गाडी नै नचलाउन र भोेकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ ।’ प्रतिनिधिसभाका सदस्यसमेत रहेका थापाले पनि जोर–विजोर अवज्ञा गर्न सार्वजनिक अपिल गरेका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले पनि जोर–विजोर गलत र अनावश्यक भन्दै भत्सर्ना गरेका छन् । समिटमा आउने पाहुनालाई राजकीय सम्मान दिनु कूटनीतिक मान्यता अनुकूल नहुने भन्दै थापाले ट्विट गरेका छन्, ‘धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागी पाहुनालाई जुन तहबाट राजकीय सम्मान÷स्वागत अर्पण गरिएको छ, त्यो अवाञ्छित छ ।’
आजबाट लागू भएको जोर–विजोर प्रणालीका कारण सडकमा गाडीहरूको संख्या न्यून छ । विद्यार्थी र कर्मचारीलाई कार्यालय तथा विद्यालय आवातजावत गर्न समस्या परेको छ । युनिभर्सल पिस फेडरेसनले आयोजना गर्न लागेको समिटका लागि सरकारले उपत्यकामा मात्रै बिहीबारदेखि आइतबारसम्म जोर र विजोर नम्बरका आधारमा सवारी चलाउन पाउने निर्णय गरेको थियो ।
आफूले जोर–विजोर अवाज्ञा गर्न लागेको जानकारी दिँदै अरुलाई पनि आह्वान गर्ने लहर बिहानैदेखि सामाजिक सञ्जालमा पनि चलेको छ । ‘नयाँ युगको स्वारी’ नामको ह्यान्डलबाट जोर–विजोर अवज्ञा गर्ने घोषणा गर्दै एक युवक ट्विट गर्छन्, ‘तपार्इंसँग जोर सवारी छ ? ढुक्क भएर चढेर काममा जानुहोस् । गलत काममा यिनीहरूको आदेश शिरोपर गर्ने रैती होइनाँै हामी । पुलिसले समात्छ भने समात्न दिनुहोस् । आउनुस् जोर–विजोरको अवज्ञा गरौँ ।’
त्यसैगरी, ट्विटरमा शिव रेग्मी लेख्छन्– ‘सवारी व्यवस्थापनमा जोर–विजोर ठीक छ, तर जनतालाई नै सास्ती हुने गरी सवारी नचलाउनु ठीक होइन्, विकल्प जरुरी थियो । कम्तीमा सेना र प्रहरीका बस चलाएर भए पनि जनतालाई सेवा दिनुपथ्र्यो ।’ म्यानमारकी नेता आङ साङ सुकीलाई रोहिंग्या मुसलमानहरूको ‘जातीय नरसंहार’ गरेको आरोपसहित उनको विरोध पनि सामाजिक सञ्जालमा देखिएका छन् ।
सम्मेलनमा भाग लिन सुकी नेपाल आइसकेकी छन् भने कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि आजै आइसकेका छन् । विशिष्ट पाहुनाको बलियो सुरक्षा प्रबन्धका लागि ३ हजार ५ सयको संख्या प्रहरी परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरकारका अन्य विशिष्ट व्यक्तिहरूको सम्मलेनमा आउने पाहुनासँग छुट्टै भेटघाट र उनीहरूको सम्मानमा भोजको कार्यक्रम पनि रहेको छ ।
सम्मेलनका सत्रहरू जलवायु परिवर्तन, सञ्चारमाध्यम र अन्तरधार्मिक संगठनबीचको सम्बन्धका विषयमा केन्द्रित हुने बताइएको छ । तर, आलोचकहरूले आयोजकको धार्मिक उद्देश्यलाई मुख्य तारो बनाएका छन् ।
नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनका वेला प्रायः जोर–विजोर प्रणाली लागू हुँदै आएको छ । भदौमा भएको बिमस्टेक सम्मेलनको समयमा पनि सरकारले ३ दिन जोर–विजोर प्रणाली लागू गरेको थियो । सम्मेलनका कारण सर्वसाधारणको आवागमनमा समस्या हुने भन्दै दुई दिन शैक्षिक संस्था पनि बन्द गरिएको थियो । जनतालाई समस्यामा पारेर देशमा समय–समयमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नुको कुनै अर्थ नभएको भन्दै त्यस समयमा पनि सरकारको आलोचना निकै भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।