दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयबाट उपकरण सहयोग

सवारी दुर्घटनाका घाइतेहरूको प्राथमिक उपचारका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा बागमती प्रदेशका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको हो । 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग सामग्री सहयोग गरेको छ ।

उपकरण सहयोगका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

निर्देशनालयले प्यासेन्ट मोनिटर, अक्सिजन कन्सनट्रेटर , इसिजी मेसिन, व्हिलचियर, बेड, स्टेचर, अक्सिमिटर लगायतका उपकरण सहयोग गरिएको छ ।

सहयोग सामग्री हस्तान्तरण गर्दै मन्त्री निमा लामाले प्रदेशका ग्रामीण भेगसम्म सडक पूर्वाधारको विस्तार भइरहेको र दुर्घटनाको दर समेत बढेकाले दुर्घटनामा घाइतेहरूको जीवनरक्षाका लागि सहयोग गरिएको उपकरण उपयोगी हुने विश्वास व्यक्त गरे । 

उनले दुर्घटनाका घाइतेहरूलाई समयमै उद्धार र प्राथमिक उपचारका लागि मन्त्रालयले उपलव्ध गराएको उपकरणको सदुपयोग गर्न समेत सुझाव दिए । 



उनले आगामी दिनमा प्रदेशका सवारीको बढी चाप हुने सडकको प्रत्येक ५० किलोमिटरमा स्वास्थ्यकर्मीहरूको टिमसहित एम्बुलेन्सको व्यवस्था गरिने जिकिर गरे । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई सबल बनाउन निरन्तर सहजीकरण एवं सहयोगका लागि काम गरिरहेको र यसलाई निरन्तरता दिने बताउँदै सेवा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् ।



स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, निक साइमण्ड इन्स्टिच्युटका कार्यकारी अधिकृत अनिल बहादुर श्रेष्ठ, विभिन्न स्थानीय तहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १७:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया