कैलालीको धनगढीमा ९औँ राष्ट्रिय पोल्ट्री दिवस पहिलो पटक मनाइएको छ । दिवसमा सहभागी व्यवसायीले कैलाली र कञ्चनपुरमा खुला सिमानाका कारण व्यवसाय गर्न चुनौती रहेको गुनासो गरे ।
कैलालीको घोडाघोडी नगरपालिका व्यवसायी पहल देउवाले खुला सिमानाले गर्दा उचित मूल्य पाउन नसकेको बताए । ‘कैलाली र कञ्चपुरमा वारिपट्टि फर्म खोलिएका छन् । पारिबाट कुखुरा ल्याएर व्यवसाय गरेका हुन्छन्,’ उनले भने, ‘ ‘यसले गर्दा नेपाली कुखुरा व्यवसायीले उचित मूल्य पाउन सकेका छैनन् ।’
सरकारले सीमा नाकामा कडाइ नगर्दा व्यवसाय गर्न मुस्किल रहेको उनले बताए । उनले बाहिरबाट आउने कुखुरा पूर्ण रुपमा बन्द नहुँदा सम्म व्यवसायीलाई अघि बढ्न चुनौती रहेको बताए ।
दिवसमा धारणा राख्ने अधिकांश व्यवसायीले मुख्य समस्या भारतबाट आउने अवैध कुखुरा रहेको गुनासो गरे । सरकारले पक्षीजन्य पदार्थ आयातमा पूर्ण रुपमा रोक लगाए पनि अवैध रुपमा कुखुरा भित्रिँदा व्यवसायीलाई चुनौतीको विषय रहेको बताए । ‘सीमामा दुई किलोमिटरको फरकमा सशस्त्र प्रहरीको बिओपी रहेका छन्,’ कञ्चनपुरका कुखुरा व्यवसायी विक्रम नाथले भने, ‘तर, पनि सहजै तस्करी हुन्छ । यसमा सुरक्षा निकायको पनि मिलेमतो रहेको देखिन्छ ।’
भारतबाट पोल्ट्रीजन्य पदार्थ आयातले नेपाली व्यवसाय र किसानहरू समस्या परेको कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले बताए । ‘स्वदेशमै उत्पादन भएका पोल्ट्रीजन्य पदार्थको बजारीकरणमा समस्या छ,’ उनले भने । पोल्ट्री व्यवसायी, किसानको समस्या प्रदेश सरकार तथा सरोकारवालासँग राख्ने र प्रदेश सरकारको तर्फबाट कस्तो नीति नियम कानुन बनाउनुपर्छ त्यसका लागि आफूहरुले सुझाब दिने उनले बताए ।
कोरोना संक्रमणको समयमा धराशायी व्यवसायलाई माथि उकास्न, कुखुरा तथा अण्डाबाट आत्मनिर्भर बनाउन र कुखुरा तथा अण्डाको मानव स्वास्थ्यमा उपयोगिताबारे जानकारी गराइने उनले बताए । ब्रोइलर कुखुराको हकमा भने सुदूरपश्चिम प्रदेश पूर्णरूपमा आत्मनिर्भर भए पनि अण्डाको माग भने धेरै रहेको पाण्डेले बताए ।
सुदूरपश्चिममा दैनिक ५ देखि साढे ५ लाख गोटा अण्डाको माग रहेकोमा २ लाख ५० हजारसम्म उत्पादन रहेको छ । ‘प्रत्येक हप्ता १ लाख गोटा चल्लाको आवश्यकता पर्छ,’ उनले भने, ‘अहिले ४० हजार ५० हजार मात्रै रहेकोमा अन्य बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ ।’
व्यावसायिक अण्डा उत्पादक र वितरकबीच भाइचाराको सम्बन्ध कायम राख्दै यस व्यवसायलाई अरू बढी व्यावसायिक बनाउने उद्देश्य रहेको उनले बताए । छरिएर रहेको अण्डा बजारलाई एकीकृत गर्दै संगठित रुपमा विकास गर्ने उद्देश्य रहेको उनको भनाइ छ । अण्डा उत्पादन व्यवसायको केन्द्रको रूपमा परिचित चितवनलाई केन्द्र बनाई अण्डा उत्पादक व्यवसायको समय विकास र प्रवर्द्धन गर्न व्यावसायिक उत्पादकको संगठित संस्था स्थापना गर्ने उद्देश्यले २०५६ सालमा नेपाल अण्डा उत्पादक संघको स्थापना भएको हो ।
नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली र कञ्चनपुरको आयोजनामा दिवस मनाइएको हो ।
‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान ः सर्वोत्तम प्रोटिन स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ आयोजना भएको दिवसमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ प्रमुख अतिथि रहेका थिए ।
उनले व्यावसायिक रुपमा काम गर्ने हो भने पोल्ट्री धेरैको आयआर्जनको बाटो बन्न सक्ने बताए । राज्यले पनि पोल्ट्री व्यवसायीलाई प्राथमिकता साथ लिएको उनले बताए ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराज केसीले देशभरका व्यवसायी एक ठाउँमा उभिएर समस्याको खोजी गरेको बताए । व्यवसायीको एकताले गर्दा नै उनीहरुको समस्यामा राज्यको ध्यानाकर्षण हुने उनले बताए ।
मासुमा आत्मनिर्भर, अण्डामा परनिर्भर
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध, मासु र अण्डाको कोटा सुदूरपश्चिम प्रदेशमा अपुग छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ मानव जीवनका लागि प्रत्येक व्यक्तिलाई प्रति वर्ष ९१ लिटर दूध, ४८ वटा अण्डा र १४ केजी मासु आवश्यक हुन्छ ।
प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश दूध तथा मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको भए पनि अण्डाको आपूर्ति भने निकै कम छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष सरदर ८० दशमलव ७९ लिटर दूध, १० दशमलव ६८ किलो मासु र ३० दशमलव ४१ गोटा अण्डा आपूर्ति भइरहेको छ ।
यस प्रदेशमा दूध, मासु र अण्डामा क्रमशः १० दशमलव २१ लिटर, तीन दशमलव ३२ किलो र १७ दशमलव ५९ गोटा अण्डा अपुग रहेको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४–७५ मा प्रदेशमा प्रतिव्यक्ति सरदर ८१ लिटर दूध, ११ दशमलव पाँच किलो मासु र १८ गोटा अण्डा आपूर्ति भएको छ । यस प्रदेशमा दूध, मासु र अण्डामा क्रमशः १० लिटर, दुई दशमलव पाँच किलो र ३० गोटा अण्डा अपुग रहेको सो समयको तथ्यांकमा उल्लेख छ।
प्रदेशमा दूध, माछा र मासुको उत्पादन मागभन्दा घटेको देखिए पनि अण्डाको मागमा भने वद्धि भएको देखिएको छ । मन्त्रालयले पाँच वर्षमा दूध, मासु र अण्डाको उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।
मन्त्रालयले प्रदेशलाई आत्मनिर्भर बनाउन दूधमा ३० हजार चार सय ८६ मेट्रिक टन उत्पादन वृद्धि गरी पाँच वर्षमा दुई लाख ६० हजार चार सय ८६ मेट्रिक टन, मासुमा पाँच हजार आठ सय ४१ मेट्रिक टन वृद्धि गरी ३४ हजार नौ सय २८ मेट्रिक टन र अण्डामा १९ हजार छ सय २३ गोटा वद्धि गरी पाँच वर्षमा ६१ हजार आठ सय ७० गोटा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।
त्यस्तै, माछाको उत्पादन दुई हजार एक सय २८ मेट्रिक टनबाट चार हजार मेट्रिक टन पुर्याउने तथा पशुपं क्षेत्रबाट पाँच वर्षको अवधिमा थप एक लाख १५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।