माओवादी महाधिवेशनको निर्णायक दिन : क्लस्टर मिलाउन सकस, के छ प्रचण्डको रणनीति ?

नेकपा माओवादीको महाधिवेशनको आज आठौं दिन । बन्दसत्र सुरु भएको भने सात दिन पुगिसकेको छ । आइतबारलाई महाधिवेशनका अरूभन्दा महत्वपूर्ण दिनका रूपमा हेरिएको छ ।

सँगसँगै महाधिवेशन पनि निर्णायक घडीमा पुगेको छ । महाधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिनसम्म पनि माओवादीमा त्यति ठूलो उत्साह थिएन । किनभने यो महाधिवेशनको नाम नै राष्ट्रिय सम्मेलन दिइएको थियो । 

तर, एकाएक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नाराणकाजी श्रेष्ठको मुड परिवर्तन भएपछि राष्ट्रिय सम्मेलन महाधिवेशनमा रूपान्तरणमा परिणत भयो । खुलासत्र सकेर बन्दसत्रमा होमिएपछि माओवादी महाधिवेशनमा केही उथलपुथल भए । 

शान्ति प्रक्रियामा आएपछि पुँजीसँग मात्र नजिक भएको आरोप खेपेका माओवादी नेताहरू पुँजीकै वरिपरि रहेर बहसमा उत्रिएका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि २५ समूहले दुईदिनसम्म छलफल गरे ।

छलफलबाट आएको निश्कर्ष अर्को दुई दिन लगाएर बन्दसत्रमा प्रस्तुत भयो । त्यसपछि प्रचण्डले उठेका प्रश्नको जवाफ दिए । लगत्तै हलले प्रचण्डको प्रतिवेदन पारित गर्‍यो । उनको प्रतिवेदनमाथि दुईवटा प्रस्ताव बन्दसत्रभित्रै प्रस्तुत भए । वैचारिक नेता राम कार्कीको पुरक प्रस्तावलाई प्रचण्डले सकारात्मक तरिकाले ग्रहण गरे । उता, लेखनाथ न्यौपानेले राखेको फरकमतलाई भने फरकमतकै रूपमा राख्ने पार्टीको निर्णय छ ।  

केन्द्रीय कमिटी चयनमा सकस



माओवादीका नेताहरूका अनुसार शनिबार नै केन्द्रीय कमिटीको नाम पढेर हलमा सुनाउने प्रचण्डको तयारी थियो । तर, बन्दसत्र प्रभावकारी रूपमा चल्न सकेन । शनिबारको बन्दसत्र सुरु हुनुअघि नै माओवादी नेताहरू स्थायी कमिटीमा जुटिसकेका थिए । 

स्थायी कमिटीमा विधानबारे छलफल गरेर बन्दसत्रमा प्रस्तुत भयो । त्यसपछि पुनः दिउँसो २ बजेतिर एकपटक बन्दसत्र बस्यो । प्रचण्डले सकेसम्म सहमतिमा र नभए लोकतान्त्रिक प्रक्रियाबाट केन्द्रीय कमिटी चुनिने हलमा सुनाए । 



लगत्तै, अर्को स्थायी कमिटी बैठक बस्यो । बेलुकी ५ बजेसम्मका लागि स्थगित भनिएको बैठक पौने ७ बजेमात्र सुरु भयो । त्यतिबेलासम्म केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको थियो । तर, केन्द्रीय कमिटीले पूर्णता पाएन । 

‘सकेसम्म केन्द्रीय पदाधिकारी सर्वसम्मत घोषणा गर्ने तयारीमा अध्यक्ष प्रचण्ड हुनुहुन्छ । केही क्लस्टरहरूमा कुरा मिल्न बाँकी भएकाले स्थगित भएको हो,’ एक स्थायी कमिटी सदस्यले फरकधारसँग भने । उनका अनुसार सोही विषय मिलाउनका लागि बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।  

प्रचण्ड रणनीति

अध्यक्षमा आफू निर्विकल्प हो भन्नेमा प्रचण्डलाई द्विविधा छैन । तर, पदाधिकारी र केन्द्रीय कमिटीको रूप कस्तो दिने भन्ने दबाब भने प्रचण्डसामु छ । उनी  पदाधिकारीसहित केन्द्रीय कमिटी निर्विरोध घोषणा गर्ने पक्षमा छन् । तर, पदाधिकारीको घोषणा गर्न भने उनले सोचेजस्तो सजिलो छैन । 

माओवादीभित्र केन्द्रीय समितिले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ । प्रचण्डले पदाधिकारी चयनका लागि केन्द्रीय सदस्यमा पनि सहमति बनाउन खोजेका छन् ।

यसअघि निर्वाचन प्रक्रिया अगाडि बढाउँदै १७ सय ४२ मतदाताको नामावली माओवादीको निर्वाचन आयोगले प्रकाशित गरेको थियो । आज १ बजे सुरु हुने भनिएको बन्दसत्र हलमा पुगेर ओली शैलीमै प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाउने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

इतिहासमै पहिलो निर्वाचन, क्लस्टर मिलाउन सकस

माओवादीको इतिहासमै यो पहिलो केन्द्रीय निर्वाचन हो । यसअघि माओवादीले मतदान प्रक्रियाअघि बढाएको थिएन । तर, बन्दसत्र स्थगित भएसँगै मतदान प्रक्रिया भने प्रभावित भइसकेको छ ।

माओवादीले शनिबार पारित भएको विधानमा महिलाको प्रतिनिधित्व पार्टीमा ३५ प्रतिशत हुने भनिएको छ । माओवादीले दलितको हकमा पनि अगाडि बढ्दै १५ प्रतिशतको प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरेको छ । 

दलितको जनसंख्या १३.६ प्रतिशत भए पनि विगतको क्षतिपूर्ति स्वरूप माओवादीले त्यसलाई बढाएर १५ प्रतिशत प्रतिनिधित्व गराउने भनेको थियो । त्यस्तै, मुस्लिमको ५ प्रतिशत र सबै समूहबाट ४० वर्षसम्मका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुने व्यवस्था विधानमा गरेको थियो । 

विधानअनुसारको व्यवस्था कार्यान्वयन गराउन भने प्रचण्डलाई सकस देखिन्छ । निर्वाचन प्रयोजनार्थ माओवादीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको ‘क्लस्टर’ले भने पार्टी विधानको मर्म भत्काउने सम्भावना छ । दलितलाई १५ प्रतिशत प्रतिनिधित्व गराउने भनेको माओवादीले ५० प्रतिशत समानुपातिक कोटाअन्तर्गत २२ जना केन्द्रीय सदस्य मात्रै दलित समुदायबाट निर्वाचित हुने उल्लेख गरेको छ ।

महासचिवमा सबैको चासो

माओवादीमा पनि महासचिव पदलाई सबैभन्दा बढी चासोका साथ हेरिएको छ । कम्युनिस्ट पार्टीमा महासचिवलाई अध्यक्षको उत्तराधिकारीको रूपमा पनि हेरिन्छ । माओवादी महासचिवमा आकांक्षीहरू सबै बलियो पृष्ठभूमि जोडेर प्रचण्ड समक्ष कुरा राखिरहेका छन् । 

जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालले आफ्नो दाबी प्रचण्डलाई भनिसकेका छन् । जनार्दन वर्तमान सरकारका अर्थमन्त्री पनि हुन् । रुकुमबाट प्रतिनिधित्व गर्ने उनी प्रचण्डनिकट छन् । 

उता, वर्षमान पुन उपचारका लागि चीनमा छन् । उनलाई चीनमै बसेर महासचिवमा उम्मेदवारी दिन र सहभागी हुन दुवै सकस परेको छ । प्रचण्डको रुचाइएका पात्रका रूपमा चिनिए पनि यो पटक पुनलाई स्वास्थ्यावस्थाका कारणले अप्ठेरो परेको छ । 

पुन र शर्माबीचको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । चीनमा रहेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको भेटघाट पुनले तीव्र बनाएका छन् । अर्को, विरामी भएका कारणले पनि उनीमाथि भावनात्मक सोच बढेको छ । साथै, चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको पुनको भेटलाई पार्टीभित्र अर्थपूर्ण रूपमा पनि हेरिएको छ । 

  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार ८:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया