गण्डकी प्रदेश : तीन सिटका लागि १२ माघमा राष्ट्रियसभा निर्वाचन

आगामी १२ माघका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाइ हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो । 

गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दुई र नेकपा (एकीकृत समाजवादी) का एक गरी तीन सिट खाली हुने भएपछि सो सिटमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

माओवादीबाट दीनानाथ शर्मा ‘अन्य समूह’ र खिमकुमार विक ‘दलित’ समूहबाट राष्ट्रियसभामा निर्वाचित भएको थियो । यसैगरी एकीकृत समाजवादीका शान्तिकुमारी अधिकारी ‘महिला कोटा’मा निर्वाचित भएकामा उनीहरूको चार बर्से पदावधि आगामी फागुनमा पूरा हुन लागेकाले निर्वाचन प्रक्रिया सुरु गरिएको प्रदेश निर्वाचन अधिकृत एवं कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

उनका अनुसार निर्वाचन तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना, मतदाता नामावली प्रकाशन, नामावली उपर दाबी विरोधलगायतका कार्यक्रम सम्पन्न भएका छन् । यही २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रमुख पराजुलीले बताए ।  

प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ । प्रदेशसभा र स्थानीय तहका मतदाताका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।  

गण्डकीमा ५९ जना प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी कूल २२९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहनेछ ।



संविधान बमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । 



  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १३:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया