प्रचण्डले पाउँदैछन् ४० वर्ष निरन्तर माओवादीको नेतृत्व गर्ने मौका, अन्य पदाधिकारीमा के हुन्छ ?

कम्तिमा अर्को पाँच वर्षका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पुनः अध्यक्षमा निर्वाचित हुँदैछन् । सोमबार दिउँसो सानेपास्थित हेरिटेज प्लाजामा बस्ने केन्द्रीय कमिटीले अध्यक्षमा प्रचण्डसहित १५ जना अन्य पदाधिकारी टुंगो लगाउने बताइएको छ ।

२०४४ सालमा मोहन वैद्यलाई सेक्टर काण्डपछि महासचिवबाट हटाइयो । त्यसयता प्रचण्ड निरन्तर पार्टीको प्रमुख भूमिकामा छन् । उनले कम्युनिस्ट पार्टीकै इतिहासमा निरन्तर ४० वर्षसम्म नेतृत्व गर्न पाउने पक्काजस्तै छ । 

आइतबार अबेर सुरु भएको आठौं महाधिवेशनको अन्तिम बन्दसत्रमा प्रचण्डले पेस गरेको २३६ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मत पारित भएको छ । उनले केन्द्रीय कमिटीको नाम हलमा पढेर सुनाएपछि त्यसलाई पास गर्न अनुरोध गरेका थिए । 

लगत्तै हलले नाम अनुमोदन गरेको थियो । विधानअनुसार आज बस्ने केन्द्रीय कमिटीले १५ सदस्यीय नयाँ पदाधिकारीको नाम टुंगो लगाउनेछ । आजको केन्द्रीय कमिटी ज्येष्ठ सदस्यताको आधारमा बस्ने बताइएको छ । 

पदाधिकारी छनोटमा सकस

देशभरबाट २९९ जना केन्द्रीय कमिटीका सदस्य छान्नका लागि प्रचण्डलाई सकस परेको थियो । यद्यपि प्रचण्डले प्रस्तुत गरेको सूचीप्रति असन्तुष्टिका आवाज सुनिन थालेका छन् । प्रदेश निर्वाचनको पदाधिकारीमा हारेकालाई पनि प्रचण्डले केन्द्रीय सदस्य बनाएको भन्दै माओवादीभित्रै असन्तुष्टि सुनिन थालेको हो । 



माओवादीको विधानमा प्रदेश पदाधिकारीमा पराजित भएको सदस्य स्वतः प्रदेश सदस्य हुने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यमा असन्तुष्टि चुलिँदै गर्दा प्रचण्डसामु पदाधिकारी चुन्नुपर्ने चुनौती छ । 

अध्यक्षपछि महत्वपूर्ण मानिने महासचिव पदका लागि तीन नेताको पल्लाभारी छ । यो पदका लागि जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतबीच प्रतिस्पर्धा छ । तीनै नेतालाई व्यवस्थापनमा प्रचण्डलाई सकस छ । 



तीनै नेता प्रचण्डनिकट मानिन्छन् । बन्दसत्रमा प्रचण्डलाई गुटबन्दी अन्त्य हुनेगरी पदाधिकारी चयनको प्रक्रिया अघि बढाउने सुझाव पुगेको छ । अहिले माओवादीभित्र जनार्दन र वर्षमानको दुईवटा गुट देखिएका छन् । 

जाजरकोटका बस्नेत युद्धकालमा अग्रमोर्चामा खटिए पनि अहिले भने संगठनमा कमजोर भएको बताइन्छ । यद्यपि नेताहरूबीचको आन्तरिक प्रतिस्पर्धालाई चिर्ने र गुटबन्दी अन्त्य हुनेगरी तेस्रो धारको नेतालाई अघि बढाउने सुझाव पनि प्रचण्डसामु छ । यसो हुँदा बस्नेतलाई अघि सारेर जनार्दन र वर्षमानलाई महासचिवको दौडबाट निकाल्न सकिने आशंका पनि पार्टीभित्र हुन थालेका छन् । 

अन्यमा को-को आकांक्षी ? 

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १५ जना पदाधिकारी हुने व्यवस्था छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुईजना उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने प्रावधान माओवादीले प्रस्ताव गरेको थियो । तर आफ्नै प्रस्ताव प्रचण्डले आफैं खारेज गरिदिए । 

पदाधिकारी संख्या र चयन गर्ने जिम्मा हलले केन्द्रीय कमिटीलाई दिएको छ । माओवादीमा महाधिवेशन अन्त्य भइसक्दा पनि कति पदाधिकारी रहन्छन् भन्ने अन्योल कायमै छ । अध्यक्षमा भने प्रचण्ड निर्विकल्प हुन् । 

एक नेताका अनुसार वरिष्ठ उपाध्यक्ष पद पनि नारायणकाजी श्रेष्ठकै लागि स्थापना गरिएको हो । त्यसपछि अर्को महत्वपूर्ण पद महासचिवमा भुसाल, शर्मा, पुन र बस्नेतमध्ये एकले बाजी मार्नेछन् । केन्द्रीय कमिटीमा प्रचण्डले आफ्नो मनोमानी चलाइरहँदा पदाधिकारीमा पनि उनले चाहेका भन्दा बाहिरकाले स्थान नपाउने निश्चितजस्तै छ । 

६ जना उपाध्यक्षमा हरिबोल गजुरेल, गणेश साह, देव गुरुङ, मातृका यादव, लीलामणि पोखरेल र गिरिराजमणि पोखरेल लगायतको दाबी छ । सचिवमा रेखा शर्मा, चक्रपाणि खनाल र देवेन्द्र पौडेल, जयपुरी घर्ती र ओनसरी घर्तीलगायतको दाबी रहेको बुझिएको छ । यसमा प्रचण्डको सहमति नभए कुनै पनि पदाधिकारीको टुंगो लाग्ने छैन ।

  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार ९:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया