नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रीय सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारका सदस्य राखेकोमा कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ‘परिवार पार्टी पनि देखियो नेपालमा’ भन्दै कटाक्ष गरेका हुन् । माओवादीले आठौं महाधिवेशनबाट आइतबार २३६ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मत पारित गरेको छ । आठौं दिनको बन्दसत्रमा प्रचण्डले केन्द्रीय सदस्यको नाम पेस गरेका थिए ।
जसमा प्रचण्डको परिवारमा उनीसहित ४ जना केन्द्रीय सदस्यमा परेका छन् । प्रचण्डले आफ्नो नाम खुलातर्फको २३ औं नम्बरमा स्वघोषणा गर्दै हलमा सुनाएका थिए ।
उनीसहित भाइ नारायणप्रसाद दाहाल, छोरी रेनु दाहाल र बुहारी बिना मगर केन्द्रीय सदस्य बनेका हुन् । प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य भने शनिबार प्रचण्डले सुनाएको नामावलीमा समावेश भएका छैनन् ।
आचार्यले पनि केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । उनलाई प्रचण्डले बाँकी १५ प्रतिशत केन्द्रीयमध्येबाट मनोनित गर्ने बुझिएको छ ।
त्यसप्रति कडा कटाक्ष गर्दै बाँस्कोटाले सामाजिक सञ्जालमा भनेका छन्, ‘दाइ+भाइ+बा+छोरी+ससुरा+बुहारी+मनोनीत हुन बाँकी ज्वाइँ=परिवार पार्टी पनि देखियो नेपालमा !’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।