माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको आठौं दिनको बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम सुनाए । उनले सुनाएको नाम ताली बजाएर अनुमोदन गर्नका लागि प्रचण्डले प्रतिनिधिलाई आग्रह गरे ।
फ्लोरबाट ताली बज्यो र प्रचण्डले ‘टीका’ लगाएर दिएका केन्द्रीय सदस्यहरूको नाम अनुमोदन भयो ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई प्रयोग गरेर पदाधिकारी छान्ने पद्धति छ, राजनीतिक दलहरूमा । माओवादीको इतिहासमा पहिलोपटक निर्वाचन कार्यतालिका प्रस्तुत भएको थियो, यो महाधिवेशनमा ।
यो महाधिवेशन आफैँमा फरक थियो । किनभने यसको प्रचार राष्ट्रिय सम्मेलन भनेर गरिएको थियो तर, भइदियो महाधिवेशन । देशभरबाट सर्वसम्मत छनोट भएर आएका प्रतिनिधिहरूको भूमिका प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन पढ्नुबाहेक केही देखिएन ।
ओली चाहन्थे
जसरी शनिबार प्रचण्डले केन्द्रीय कमिटीको नाम पढेर सर्वसम्मत पारित गरे, त्यसैगरी चितवनमा भएको एमालेको दशौं महाधिवेशनमा ओलीले गर्न चाहन्थे ।
उनले पनि हर प्रयास सर्वसम्मत केन्द्रीय कमिटी र पदाधिकारीको टुंगो लगाउनेमा गरे । मंसिर १२ गते राति १२ बजेपछि बल्ल ओली बन्दसत्र हलमा पुगेका थिए, केन्द्रीय कमिटीसहितका पदाधिकारीको सूची बोकेर ।
केहीबेरअघिमात्र एमाले केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रस्तुत गरेको थियो ।अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने ढिपी नछाडेपछि ओली आफ्नोमात्र नाम प्रिन्ट गरेर पार्क सफारी होटलबाट सेभेनस्टारतर्फ गएका थिए ।
मध्यरातपछि १३ गते बिहान १ बजेबाट सुरु भएकाे बन्दसत्रमा केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । ओलीले नाम सुनाइसकेपछि केही असन्तुष्ट सदस्यहरू मन्चतर्फ जान खोज्दैगर्दा ओलीले ‘यहाँ नआउनुस्’ भन्दै रोकेका थिए ।
चित्त नबुझेकाहरूले उम्मेदवारी दिन सक्ने ओलीको भनाइ थियो । आफूले घोषणा गरेको प्यानलविरुद्ध उम्मेदवारी दिनेलाई मतदान नगर्न समेत ओलीको उर्दी जारी भयो ।
खासमा चितवनबाट महाधिवेशन सकेर काठमाडौं फर्कँदैगर्दा ‘सर्वसम्मत अध्यक्ष, सर्वसम्मत केन्द्रीय कमिटी’ को ट्याग झुन्ड्याएर ओली फर्कन चाहन्थे । तर, उनको त्यो चाहनामा असन्तुष्ट अध्यक्षका दाबेदार भीम रावल, घनश्याम भुसाल, टंक कार्की लगायतले ब्रेक लगाइदिए ।
प्रचण्डले पूरा गरे
माओवादी महाधिवेशन तोकिएको मितिभन्दा ४ दिन बढी चल्यो । पहिलो दिन ११ पुसमा उद्घाटन सत्र नै ढिलोगरी सुरु भयो ।
भोलिपल्टबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदन पेस भयो । जसमा २५ समूहमा दुई दिनसम्म छलफल चल्यो । छलफलले निकालेको निष्कर्ष अर्को दुईदिनसम्म बन्दसत्र हलमा पेस भयो ।
एउटा पुरक र अर्को फरक मत पनि दर्ज भयो । पुरकमतलाई समावेश गर्ने र फरकमतलाई ‘फरकमत’ कै रूपमा राख्नेगरी हलले प्रचण्डको प्रतिवेदन पारित गर्याे।
त्यसपछि मुख्य आकर्षण थियो, आगामी ५ वर्षको नेतृत्व छनोट ।
आफैँ ३५ वर्षदेखि निरन्तर पार्टी हाँक्दै आएका प्रचण्डलका लागि यो महाधिवेशनबाट नेतृत्व छान्न सकस पर्याे । धेरै आकांक्षीहरूलाई व्यवस्थापन गर्दै प्रचण्ड अन्ततः सर्वसम्मत केन्द्रीय कमिटीको नाम वाचन गरेर सुनाउन सफल भए ।
त्यसअघि निर्वाचन आयोगले दुई पटकसम्म निर्वाचन कार्यतालिका संशोधन गर्नपर्याे । त्यसको कारण थियो, प्रचण्डले चाहेको सर्वसम्मतिको चाहना ।
ओलीले चितवन महाधिवेशनमा चित्त नबुझेकाहरूलाई उम्मेदवारी दिन पाउने बताएका थिए । तर, प्रचण्डले त्यसो भनेनन्, बरु सूचीमा नपरेकालाई मिलाइन्छ भन्दै आश्वासनको भाषा प्रयोग गरे ।
हलमा केन्द्रीय कमिटीका पदाधिकारीको नाम पढ्दै गर्दा प्रचण्ड आफैं उकुसमुकुस भएको अनुभव गरिरहेका थिए । केन्द्रीय कमिटीमा परेकाको नामलिस्ट लिएर उभिएका प्रचण्डलाई नै त्यो नामबारे सम्पूर्ण जानकारी नभएकोजस्तो सुनिन्थ्यो ।
उनले यो हुनुपर्नेमा त्यो भएछ, त्यो हुनुपर्नेमा अर्को भएछ, भनेर फ्लोरमा उपस्थित प्रतिनिधिहरूलाई निरन्तर भनिरहेका थिए ।
पहिलोपटक निर्वाचन प्रणालीको अभ्यास गर्न लागेको माओवादी केन्द्रले त्यसको अनुभव गर्न पाएन। देशभरबाट आएका प्रतिनिधिहरू भूमिकाविहीन भएर फर्किनुपर्याे।
तर, प्रचण्डले दुई पटकसम्म निर्वाचन कार्यतालिका संशोधन गरेरै भएपनि ओलीले पूरा गर्न नसकेको त्यो चाहना पूरा गरेरै छाडे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।