नेपाली जुत्ता–चप्पलप्रति बढ्दै उपभोक्ताको विश्वास

काठमाडाैं– २०२२ सालमा नेपालमा चिनियाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना खुल्यो । बाँसबारी कारखानामा जुत्ताका सोल उत्पादनदेखि छाला प्रशोधन हुन्थ्यो ।विद्यार्थी, कर्मचारी, नेपाल प्रहरीदेखि सेनाले बाँसबारी कारखानामा उत्पादन भएका जुत्ता प्रयोग गर्थे । तर, जब मुलुकले आर्थिक उदारीकरणको नीति ल्यायो, तब कारखाना बन्द भयो । निजीकरण भएपछि नेपालमा बिस्तारै गोल्डस्टार, फिटराइट, कसमसलगायत निजी उद्योगको खुल्नेक्रम बढ्न थाल्यो । 

बाँसबारी छाला जुत्ता कारखाना बन्द भए पनि नेपालमा जुत्ता उद्योग खुल्ने वातावरणको ढोका भने सदैवका लागि खुला भयो । केही समयपछि बाँसबारी कारखानामा निजी क्षेत्रले लगानी गर्न थाले । नेपालमा पाँच दशकअघिसम्म ९५ प्रतिशत जुत्ता–चप्पल बाह्य मुलुकबाट आयात  भइरहेका थिए । छिमेकी मुलुक भारत, चीनलगायत अन्य मुलुकका जुत्ता–चप्पलले नेपाली बजार ओगटेका थिए । 

बिस्तारै नेपालमा पनि धमाधम जुत्ता–चप्पल उद्योग खुल्ने क्रम सुरु भयो । यद्यपि, सुरुवातमा छिमेकी मुलुकबाट आउने जुत्ता तथा चप्पलहरू सस्तो हुँदा उपभोक्ता विदेशी ब्रान्डप्रति आकर्षित भए । फलस्वरूप नेपाली निजी उद्योगहरूले उपभोक्ताको मागलाई ध्यानमा राख्दै गुणस्तरीय उत्पादनमा जोड दिँदै गए ।  

नेपाल फुटवेर मेनुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष कृष्णकुमार फुँयालका अनुसार अहिले नेपालमा गोल्डस्टार, शिखर, दोछा, बिटी डियर हिललगायत गरी १५ सयभन्दा बढी जुत्ता तथा चप्पल उद्योग छन् । ती उद्योगले स्पोर्ट्स, क्याजुअल सुज, पार्टी सुज, स्कुल तथा कलेजका जुत्ता उत्पादन गरिरहेका छन् । ती उद्योग अहिले उपभोक्ताको मागलाई ध्यानमा राख्दै अघि बढेका छन् । उनीहरूले गुणस्तरीय जुत्ता तथा चप्पल उत्पादन मात्र गरेका छैनन्, ६ महिनाको वारेन्टी पनि दिँदै आएका छन् । त्यसकारणस्वदेशी उत्पादनमा उपभोक्ताको विश्वास बढ्दै गएको छ । 

नेपालमा अहिले वार्षिक आठ करोडको जुत्ता तथा चप्पलको माग रहेको फुटवेयर मेनुुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष फुँयाल बताउँछन् । स्वदेशी उत्पादनको यसमा ५० प्रतिशत मात्र योगदान छ । 

आजभन्दा १० वर्षअघि स्वदेशी उत्पादनका जुत्ताप्रति उपभोक्ताको विश्वास कम थियो । तर, अहिले समय फेरिएको छ । आमनेपालीको रोजाइ नै स्वदेशी उत्पादनका जुत्ता तथा चप्पल पर्न थालिसकेको अध्यक्ष फुँयालले दाबी गरे । 



खुला अर्थबजारका कारण नेपालमा बर्सेनि अर्बौंका जुत्ता तथा चप्पल भित्रिँदै आएका छन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४–०७५ मा मात्र नेपालमा ४ अर्ब २७ करोड १५ लाख ७७ हजार रुपैयाँबराबरका विभिन्न प्रकारका जुत्ता तथा चप्पल  भित्रिए । जसमध्ये सबैभन्दा बढी छिमेकी मुलुक चीनबाट ३ अर्ब ३९ लाख ७७ हजार रुपैयाँका जुत्ता तथा चप्पल आयात भए । त्यसैगरी, भारतबाट १ अर्ब ६ करोड ९७ लाख ४३ हजार रुपैयाँ, भियतनामबाट ७ करोड ८० लाख ६९ हजार रुपैयाँ, थाइल्यान्डबाट ५ करोड ४८ लाख रुपैयाँ, इन्डोनेसियाबाट ३ करोड ८१ लाख रुपैयाँका जुत्ता तथा चप्पल आयात भएका थिए । यस्तै, ब्राजिल, इटली, टर्की, अमेरिका, बेलायतलगायत मुलुकबाट ३ करोड ८ लाख ७८ हजार रुपैयाँका उत्पादन आयात भएको थियो । 

अर्बौैं रुपैयाँका जुत्ता तथा चप्पल आयात भइरहेका छन् । विदेशी आयात रोक्न नसकिए पनि स्वदेशी उपभोक्ताको मागलाई परिपूर्ति गर्न सक्ने हो भने स्वतः विदेशी उत्पादनको आयातमा कमी हुने अध्यक्ष फुँयाल बताउँछन् । 



नेपालको चर्चित ब्रान्ड गोल्डस्टार जुत्ताले उपभोक्ताको मागअनुरूप वार्षिक २५ देखि ३० लाख जोर विभिन्न प्रकारका जुत्ता तथा चप्पल उत्पादन गर्दै आएको छ । 

पहिला ब्रान्डमा समस्या थियो । तर, अहिले त्यो हटेर गएको छ । नेपाली जुत्ता भन्नेबित्तिकै उपभोक्ताले गर्वका साथ लगाउन थालेका छन् । ‘सस्तोमा  गुणस्तरीय जुत्ता पाइने र त्यसमा पनि ६ महिनाको वारेन्टी पाउँदा उपभोक्ताको विश्वास बढ्दै गएको छ,’ फुँयालले भने, ‘नेपालमै कच्चा पदार्थको उत्पादन हुन सक्यो भने यस क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ 

सरकारले नेपाली जनशक्तिलाई रोजगारी दिन नसक्दा नेपालबाट हरेक दिन हजारौँ नेपाली विदेश पलायन हुन्छन् । नेपाली उद्योगमा दक्ष जनशक्तिको कमी छ । नेपाल सरकारले यससम्बन्धी सीप तथा तालिमको व्यवस्था गर्न सके नेपालमै दक्ष जनशक्ति उत्पादन हुन सक्थे । अझ शैक्षिक पाठ्यक्रममा नै यसखाले नीति ल्याउन सके जनशक्ति बाहिरिने क्रम रोकिन सक्छ । नेपालमा जुत्ता उत्पादनका क्षेत्रमा विभिन्न नयाँ प्रविधिको विकास भइरहेको छ । उनले भने, ‘अबको केही वर्षपश्चात् विदेशी ब्रान्डका उत्पादन कम हुँदै जान्छन् । 

चालू आर्थिक वर्षको ३ महिनामै नेपालमा २ अर्ब ४३ करोड ६७ लाख ३३ हजार रुपैयाँका विभिन्न प्रकारका जुत्ता तथा चप्पल आयात भएका छन् । जसअन्तर्गत चीनबाट सबैभन्दा बढी १ अर्ब ९८ करोड ५२ लाख रुपैयाँका उत्पादन आयात भएका छन् । यस्तै, भारतबाट ३७ करोड २९ लाख, भियतनामबाट ३ करोड ५२ लाख, थाइल्यान्डबाट १ करोड ८४ लाख, इन्डोनेसियाबाट १ करोड ३० लाख रुपैयाँको आयात भएका छन् भने बंगलादेश, टर्की, क्याम्बोडियालगायत अन्य मुलुकबाट १ करोड २० लाख रुपैयाँका जुत्ता–चप्पल आयात भएका छन् । 

स्वदेशी उत्पादनका जुत्ता–चप्पलको प्रवद्र्धन गर्न हरेक वर्ष नेपालमा जुत्ता–चप्पल औद्योगिक प्रदर्शनी आयोजना हुने गर्छ । यस्तो मेलाले स्वदेशी उत्पादनमा उपभोक्ता आकर्षित हुने र विदेशी जुत्ता बिस्तारै प्रतिस्थापन हुने मेला आयोजकको दाबी रहँदै आएको छ । 

स्वदेशमा उत्पादन भएका चर्चित ब्रान्डका जुत्ता तथा चप्पल बाह्य मुलुकमा निर्यात पनि नभएका होइनन् । दक्षिण एसियाका विभिन्न मुलुकदेखि युरोपसम्म स्वदेशी उत्पादनको माग उत्तिकै बढिरहेको छ । 

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष मात्र नेपालबाट १ अर्ब २८ करोड ५० लाख ५ हजार रुपैयाँका स्वदेशी ब्रान्डका जुत्ता–चप्पल निर्यात भएका छन् । जसअन्तर्गत सबैभन्दा बढी भारतमा १ अर्ब २४ करोड ७६ लाख ८८ हजार रुपैयाँको, डेनमार्कमा १ करोड ६२ लाख, जर्मनीमा ५५ लाख, क्यानडामा ४४ लाख, भुटानमा २४ लाख ९७ हजार, अमेरिकामा २४ लाख ६६ हजार रुपैयाँका नेपाली जुत्ता–चप्पल निर्यात भएका हुन् । यस्तै, अस्ट्रिया, जापान, मलेसिया, नेदरल्यान्डलगायत अन्य मुलुकमा ६२ लाख ६१ हजार रुपैयाँका जुत्ता तथा चप्पल निर्यात भएका छन् । 

चालू आर्थिक वर्षको ३ महिनामा २५ करोड ५५ लाख १ हजार रुपैयाँका उत्पादन निर्यात भएका छन् । जसअन्तर्गत भारतमा २४ करोड ३५  लाख, क्यानडामा ५२ लाख २६ हजार, अमेरिकामा २८ लाख ७९ हजार, अस्ट्रियामा १६ लाख ७६ हजार रुपैयाँका उत्पादन निर्यात भएका छन् । यस्तै, फ्रान्स, जापान, स्विट्जरल्यान्ड, डेनमार्कलगायत मुलुकमा २२ लाख २६ हजार रुपैयाँका उत्पादन निर्यात भएका छन् । 

स्वदेशी जुत्ता उद्योगमा ३० अर्बभन्दा बढी लगानी रहेको छ । विदेशी ब्रान्डका उत्पादनले ओगटिरहेको नेपाली बजारमा अहिले स्वदेशी उत्पादनले ५० प्रतिशत योगदान दिनु भनेको बिस्तारै स्वदेशी ब्रान्डका उत्पादनप्रति उपभोक्ता आकर्षित हुँदै गएको प्रमाण भएको अध्यक्ष फुँयालको दाबी छ । 

  • प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार १७:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया