राष्ट्रियसभा निर्वाचनः कांग्रेस उम्मेदवार माओवादी पीडितदेखि राष्ट्रपतिबाट अस्वीकृतसम्म

आजभन्दा ठिक २० वर्षअघि । तत्कालीन नेकपा (माओवादी) सशस्त्र युद्धमा होमिएको थियो । देशभर उसले नेपाली कांग्रेसका नेताहरुलाई आफ्नो ‘टार्गेट’ बनाएको थियो । सुर्खेतमा माओवादीको शिकार बने, महेन्द्र गुरुङ । उनको हत्या भयो । २८ पुसमा उनको हत्या भएको २० वर्ष पुग्दैछ ।

तिनै गुरुङकी पत्नी दुर्गादेवी अब राष्ट्रिय सभाको निर्वाचनमा होमिएकी छिन् । माओवादी केन्द्रसँग मिलेर गठबन्धन सरकार बनाएको नेपाली कांग्रेसले दुर्गादेवीलाई कर्णाली प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

१२ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट उम्मेदवार बनेकी हुन्, दुर्गादेवी । उनले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गर्नेछिन् ।

यसपटक दुर्गादेवीले जित हासिल गर्ने सम्भावना पनि निकै बढी छ । यो सम्भावना प्रवल हुनुको कारण हो, कर्णाली प्रदेशमा सत्ता गठबन्धन विपक्षी दल नेकपा एमालेभन्दा निकै बलियो छ । 

कर्णालीबाट २०७७ साल फागुनमा राष्ट्रियसभा सदस्य भएका कविता बोगटी, जीवन बुढा र ठगेन्द्रप्रसाद पुरीको पदावधि २० फागुनमा सकिँदै छ । बोगटी एमाले, बुढा माओवादी केन्द्र र पुरी नेकपा एकीकृत समाजवादी पार्टीका हुन् । पार्टीमा सभापति शेरबहादुर देउवानिकट मानिने दुर्गादेवी राष्ट्रियसभामा आएपछि उनले कस्तो काम गर्नेछिन्, त्यो चाहिँ हेर्न बाँकी नै छ ।

नेपाली कांग्रेसले १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि अन्य उम्मेदवारहरू पनि तय गरेको छ । यीमध्ये दुई जना हुन्, यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘अस्वीकृत’ भएका दुई नेता– गोपाल बस्नेत र कृष्णप्रसाद पौडेल ।



झापामा नेपाली कांग्रेसका लागि लामो समयदेखि काम गरिरहेका बस्नेतको उम्मेदवारी यसपटक प्रदेश १ बाट हुने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाका लागि बस्नेतको नाम पनि सिफारिस गरेको थियो । तर, राष्ट्रपति भण्डारीले यसलाई अस्वीकत गरेकी थिइन् ।

१ नम्बर प्रदेशबाट राष्ट्रियसभाका लागि उम्मेदवारी दिएका बस्नेत निर्वाचित हुनका लागि चाहिँ कठिन छ । प्रदेश १ मा कांग्रेससहित पाँच दलीय गठबन्धन हुँदा पनि विपक्षी नेकपा एमालेको मतभार ३० ले बढी छ । 



अहिलेको अवस्थालाई हेर्ने हो भने प्रदेश १ मा एमालेको ५ हजार ४४२ र गठबन्धनको ५ हजार ४१२ मतभार छ । प्रदेश १ बाट राष्ट्रिय सभामा को निर्वाचित हुने भन्नेमा १२० मतभार भएको राप्रपा निर्णायक छ ।

राप्रपाले समर्थन जसलाई गर्छ, उसैले निर्वाचनमा जित दर्ज गर्ने निश्चित छ । गठबन्धन कोसँग गर्ने भन्नेबारे निर्णय गर्ने अधिकार राप्रपाले पार्टी उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई दिएको छ । तर, अहिलेसम्म उनले यसबारे निर्णय गरिनसकेको बताएका छन् ।

स्वयं कांग्रेस नेता डा. शेखर कोइराला पनि यसलाई स्वीकार गर्छन् । ‘निर्वाचनमा हामीलाई प्रदेश १ मा केही गाह्रो हुनसक्छ, हेरौँ, राप्रपासँग सहकार्य हुन्छ कि,’ नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले फरकधारलाई बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेल पनि यसपटक निर्वाचनमा होमिने भएका छन् । बस्नेतजस्तै पौडेललाई पनि यसअघि राष्ट्रपति भण्डारीले अस्वीकृत गरेकी थिइन् ।

बागमती प्रदेशबाट निर्वाचित राधेश्याम अधिकारीको पदावधि सकिने भए पछि नेपाली कांग्रेसले यो प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि पौडेललाई अगाडि सारेको हो । सभापति देउवाका विश्वास पात्र मानिने पौडेल पनि निर्वाचित हुने सम्भावना बढी छ ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले देउवानिकट अर्का एक नेतालाई पनि उम्मेदवार बनाउने भएको छ । उनी हुन्, युवराज शर्मा । कांग्रेसमा लामो समय काम गरेका शर्मालाई कांग्रेसी वृत्तमा अवसर नपाएका नेताका रुपमा चित्रण गरिन्छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार हुने निश्चित भएपछि शर्माले उचित अवसर पाएको टिप्पणी हुँदैछ । यो प्रदेशबाट दृगनारायण पाण्डेको कार्यकाल २० फागुनमा सकिँदै छ । 

लुम्बिनीमा सत्तारुढ गठबन्धन बलियो भएकाले शर्माले जित निकाल्ने अनुमान गर्न थालिएको छ ।

कांग्रेसबाट गण्डकी प्रदेशबाट उम्मेदवार बन्दैछिन् कमला पन्त । पन्त पूर्वमन्त्री हुन् । कांग्रेस नेता रामचन्द्र पौडेल प्यानलनिकट मानिने पन्त १४ औं महाधिवेशनमा सहमहामन्त्री पदकी उम्मेदवार थिइन् । तर, उनी पराजित भइन् ।

कांग्रेसको पदाधिकारीमा पराजित भएको केही दिनमा नै उनलाई कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको हो । यो प्रदेशमा पनि सत्तारुढ गठबन्धन मतभारमा एमालेभन्दा बलियो छ । त्यसैले पनि पन्त निर्वाचित हुने सम्भावना बढी छ ।

सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका नारायणदत्त मिश्र पनि यसपटक राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । उनी सुदूरपश्चिम प्रदेशमा देउवानिकट वीरबहादुर बलायरसँग पराजित भएका थिए । 

सुदूरपश्चिममा पनि एमालेभन्दा सत्तारुढको मतभार बढी भएकाले उनको जितलाई निश्चितप्रायः ठानिएको छ ।

  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार २०:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया