कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा नेपाल भित्रने रेमिटेन्समा पछिल्लो समय गिरावट आइरहेको छ ।
रेमिटेन्स घट्दा देशको अर्थतन्त्रलाई ठूलो असर गर्ने अनुमान भइरहँदा अहिले एउटा तथ्याङ्कले केही आशा जगाएको छ ।
त्यो तथ्याङ्क हो– सन् २०२१ मा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या ।
हो, वैदेशिक रोजगारीमा जानेको संख्याले फेरी नेपाल भित्रने रेमिटेन्स बढ्ने विश्वास पलाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार सन् २०२१ मा नेपालबाट वैदेशिक रोजगारीमा जानको लागि ३ लाख ६४ हजार १०८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएकाहरु अधिकांश वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश गएका छन् ।
पछिल्लो एक वर्षको अवधिमा झण्डै महामारीभन्दा अघिको सामान्य अवस्थामा जस्तै वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको देखिन्छ ।
विभागका अनुसार सन् २०२१ को जनवरीमा १४ हजार ७५३, फेब्रुअरीमा १७ हजार ८८७, मार्चमा १९ हजार ८०८, अप्रिलमा ३२ हजार १४२, मेमा २४ हजार ३६३, जुनमा ४ हजार ८६, जुलाईमा २० हजार ६५८, अगष्टमा २५ हजार ४२८, सेप्टेम्बरमा ३६ हजार ४०, अक्टोबरमा ३९ हजार ६७१, नोभेम्बरमा ५४ हजार ९१८ र डिसेम्बरमा ७४ हजार ३५४ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका छन् ।
पछिल्ला प्रत्येक महिना वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेहरुको संख्या बढ्दो क्रममा रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जान मात्र १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ६८ हजार ४३५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
२०७६ चैतबाट कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । गन्तव्य राष्ट्रले पनि लामो समय लकडाउन गर्दा झन् यो संख्या घटेको थियो ।
पछिल्लो समय खोपको विकास र प्रयोग बढेसँगै लामो समय अन्तर्राष्ट्रिय सीमा बन्द गरेका राष्ट्रहरुले सीमा क्रमशः खुलाउन थालेका छन् । जसले वैदेशिक रोजगारीका ढोका समेत खुलेको छ । यसैकारण पछिल्ला महिनाहरुमा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेहरुको संख्या बढेको हो ।
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ६ लाख ४० हजार ९८१, आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ४२ हजार ८५९, आर्थिक वर्ष २०७४/७५ मा ६ लाख १२ हजार ६८५, आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ८ हजार ८२८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । आर्थिक वर्ष २०७६/७७ को तुलनामा उक्त वर्ष नेपाल भित्रने रेमिटेन्समा ९.८ प्रतिशतले वृद्धि भएको थियो ।
कोरोना महामारीको सुरु भएपछिको एक वर्षसम्म नेपाल भित्रने रेमिटेन्स बढ्दो क्रममा रहेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो मात्रामा घट्दा पनि रेमिटेन्स भने बढेको थियो । महामारीका कारण रेमिटेन्स फर्मल तथा वैधानिक च्यानल मार्फत भित्रिँदा रेमिटेन्स बढेको देखिएको थियो । तर यथार्थमा भने यो घटेको थियो ।
कोरोना महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा त्यसको प्रभाव रेमिटेन्समा परेको छ भन्ने पुष्टी चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनाले देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनबाट रेमिटेन्स घट्न सुरु गरेको छ । गत साउन देखि कात्तिकसम्म नेपालमा कूल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । साउनमा १८ प्रतिशतले घटेको रेमिटेन्स कात्तिकका ७.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा त्यसको असर अहिले देखिन थालेको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या पुनः बढ्न थालेपछि रेमिटेन्स घट्ने क्रम रोकिने अनुमान गरिएको छ ।
सबैभन्दा बढीको रोजाई कतार, साउदी र युएई
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेहरुको प्रमुख रोजाइमा परेका तीन राष्ट्रमा कतार, साउदी अरब र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार सन् २०२१ मा १ लाख २८ हजार ७७३ जनाले कतार, १ लाख १६ हजार ९४१ जनाले साउदी अरब र ७६ हजार २७० जनाले युएई जानको लागि श्रम स्वीकृति लिएका छन् ।
कतार, साउदी र युएईपछि ठूलो संख्याले बहराइन रोजेको छ । पछिल्लो एक वर्षमा ८ हजार १२२ जाले बहराइन जान श्रम स्वीकृति लिएका छन् । सो अवधिमा ४ हजार १४१ जनाले कुवेत र १ हजार ९ जनाले मलेसिया जानको लागि श्रम स्वीकृति लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।