आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि प्रदेश २ मा दुई पदमा ४ दलबाट ६ जनाको उम्मेदवारी परेको छ ।
चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपाले १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा नेकपा एमालेबाट २/२ जनाले मनोनयन दर्ता गराएका हुन् । मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा चारवटै दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दर्ता गराएकी छिन् । पर्साको वीरगञ्ज महानगरपालिकाकी अर्यालको प्रस्तावक नगिना यादव रहेकी छिन् भने सीता साह समर्थक रहेकी छिन् । यस्तै, जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले मनोनयन दर्ता गराएका छन् ।
लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा र सप्तरीका श्यामसुन्दर सरदारले अन्य समूहमा उम्मेदवारी दर्ता गराएका छन् । यादवको प्रस्तावक प्रदेशसभा सदस्य रानी शर्मा तिवारी र समर्थक परमेश्वर साह रहेका छन् । सरदारको प्रस्तावक प्रदेशसभा सदस्य अभिराम शर्मा र समर्थक गौरीनारायण साह रहेका छन् ।
त्यस्तै, नेकपा एमालेको तर्फबाट महिला कोटामा रौतहटकी बिना देवी र अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन् । त्यस्तै अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन् ।
प्रदेश-२ मा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।
यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा कांग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक काँग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।
प्रदेश २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव हुन लागेको हो ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।