२४ घण्टामै उल्टियो स्वास्थ्य मन्त्रालयको निर्णय, बुस्टर डोज दिने निर्णय स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोराना भाइरसविरुद्धको खोपको बुस्टर डोज दिने निर्णय तत्काल स्थगित गरेको छ । यसअघि हिजो मात्रै आजदेखि बुस्टर डोज खोप दिने निर्णय गरेको थियो । कतिपय क्षेत्रमा भने आजदेखि बुस्टर डोज पनि दिन थालिएको थियो । 

स्वास्थ्य मन्त्रालयले यसअघि आफैँले गरेको निर्णय २४ घण्टा पुग्न नपाउँदै उल्ट्याएको हो । अब अर्को सूचना जारी नभएसम्मका लागि बुस्टर डोज दिने निर्णय स्थगित भएको हो । 

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले सबै नागरिकलाई कोभिडविरुद्धको पूरा मात्रा खोप दिनु महत्वपूर्ण रहेकाले तत्काल बुस्टर डोज दिने कार्यक्रम स्थगित गरिएको बताइन् । 

अहिले राष्ट्रिय खोप द्रुत गतिमा सञ्चालन गर्न आवश्यक रहेको भन्दै मन्त्रालय तत्काल उक्त निर्णय स्थगित गरेको उनको भनाइ छ । बुस्टर डोजका विषय थप प्राविधिक विषयहरूमा छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि लगाउन थालिने उनको भनाइ छ । 

यसअघि हिजो दिउँसो बसेको मन्त्रालयको खोप समन्वय तथा अनुगमन समितिको बैठकले बुस्टर डोज दिने निर्णय गरेको थियो । सोही आधारमा आज देशभरका अधिकांश खोप केन्द्रमा बुस्टर डोज खोप पनि दिइएको थियो । 

तर, काठमाडौं उपत्यकाका तिनै जिल्लामा मन्त्रालयबाट ढिलागरी परिपत्र भएपछि खोप लगाउने कार्यक्रम रोकिएको थियो । 




 



  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १७:४३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया