सुरु भयो कोरोनाको सुनामीः एक सातामा १ करोड २१ लाखभन्दा बढीमा संक्रमण, संक्रमितको संख्या ८२ प्रतिशतले वृद्धि

कोरोना भाइरसको संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो चौबिस घण्टामा विश्वमा २१ लाख ५३ हजार ७२२ जना कोरोना भाइरसका नयाँ विरामी थपिएका छन् । यसअघि एकैदिन यति ठूलो संख्यामा संक्रमित थपिएका थिएनन् । 

यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित २०२१ डिसेम्बर ३० का दिन थपिएका थिए । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार उक्त दिन विश्वमा १९ लाख ३५ हजार १७१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । 

२०२१ डिसेम्बर ३१ दिन पनि विश्वमा निकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका थिए । सो दिन १९ लाख ३४ हजार ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।  

पछिल्लो साता विश्वमा प्रत्येक दिन औषतमा करिव साढे १७ लाख जना कोरोना संक्रमित थपिदै आएको वर्ल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ ।  

पछिल्लो चौबिस घण्टा अर्थात मंगलबार अमेरिकामा मात्र ५ लाख ६७ हजार ६९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

वर्ल्डोमिटर्सका अनुसार मंगलबार भारतमा ५८ हजार ९७, बेलायतमा २ लाख १८ हजार ७२४, फ्रान्समा २ लाख ७१ हजार ६८६, टर्कीमा ५४ हजार ७२४, जर्मनीमा ४३ हजार ८९०, स्पेनमा १ लाख १७ हजार ७७५, इटालीमा १ लाख ७० हजार ८४४, अर्जेन्टिनामा ८१ हजार २१०, क्यानडामा ४९ हजार ८२९ र पोर्चुगलमा २५ हजार ८३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 



कोरोनाको डेल्टा र ओमिक्रोन भरियन्टका कारण पछिल्लो समय द्रुत गतिमा संक्रमण फैलिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । विशेषगरी ओमिक्रोन छिटो फैलने हुँदा संक्रमण बढेको जनाइएको छ । 

विश्वमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि गत साता नै डब्लुएचओले विश्वमा कोरोनाको खतरनाक सुनामी आउने चेतावनी दिएको थियो । डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्ट कम खतरनाक भए पनि सतर्कता अपनाउन डब्लुएचओले भनेको थियो । 



डब्लुएचओले भने जसरी नै पछिल्ला दिन विश्वमा बढ्दै गरेको संक्रमणको संख्याले कोरोनाको सुनामी सुरु भइसकेको पुष्टी गरेको छ । 

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा विश्वमा १ करोड २१ लाख ८४ हजार २६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । अर्थात प्रत्येक दिन औषतमा १७ लाख ४० हजार ६०८ जना कोरोनाका नयाँ संक्रमित विश्वमा थपिदै आएका छन् । 

अघिल्लो साताको तुलनामा पछिल्लो साता विश्वमा कोरोना संक्रमितको संख्या ८२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो एक सातामा विश्वमा ६६ लाख ७८ हजार ६४ जना कोरोनाका नयाँ विरामी थपिएका थिए । पछिल्लो साता यो संख्या १ करोड २१ लाख ८४ हजार २६२ जना पुगेको छ ।

नेपाललाई भारतको डर 

भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु भएको आँकलन गरिएको छ । 

यसभन्दा अघिका दुई वटा लहरको समयमा भारतमा संक्रमित बढेपछि नेपालमा पनि संक्रमितको संख्या बढेको थियो । अर्थात भारतमा कोरोनाको लहर आएपछि त्यसको असर नेपालमा परेको थियो । 

भारतमा लाखौं नेपाली मजदुरी गर्न जाने र कोरोनाका कारण लकडाउन हुँदा ती मजदुर स्वदेश फर्कने गर्छन् । यसरी फर्कदा उनीहरुले संक्रमण पनि सँगै ल्याउने गर्छन्, जसले गर्दा नेपालमा कोरोनाको संक्रमण बढ्ने गरेको छ । 

भारतसँगको खुला सीमाले पनि आवतजावत गर्न सहज हुने भएकोले भारत आउजाउ गर्नेमाथि नियन्त्रण राख्न कठिन हुने गरेको छ । 

२०२१ मेमा एकैदिन ४ लाख १४ हजारभन्दा बढी संक्रमित भारतमा थपिएका थिए । विस्तारै नियन्त्रण गर्दै यो संख्या २०२१ डिसेम्बर दोस्रो सातासम्म आइपुग्दा ६ हजारमा झरेको थियो । 

अहिले भारतमा पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या पनि तिव्र गतिमा बढीरहेको छ । पछिल्लो चौबिस घण्टामा भारतमा कोरोनाका ५८ हजार ९७ जना नयाँ संक्रमित थपिएका छन् । 

भारतमा सबैभन्दा बढी दिल्ली र मुम्बईमा संक्रमण बढेको छ, जहाँ नेपाली मजदुरको संख्या निकै ठूलो रहेको छ । 

संक्रमित तिव्र रुपमा बढेपछि दिल्ली सरकारले राती र विदाको दिन शनिबार र आइतबार कर्फ्यु लगाउने घोषणा गरिसकेको छ । 

पछिल्ला दिन नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै उकालो लाग्दै छ । सीमामा अहिलेदेखि आवश्यक सतर्कता नअपनाए भारतमा सुरु हुन लागेको तेस्रो लहर नेपाल आइपुग्न बेर लाग्नेछैन । 

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १२:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया