फेरि उकालो लाग्यो कोरोना संक्रमणदर, जोखिम न्यूनीकरणका लागि के हुँदैछ ?
फाइल तस्वीर

कोरोना संक्रमणदर पुनः बढ्न थालेको छ । पछिल्लो एक सातामा कोरोना संक्रमणदर बढ्न थालेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक तीन सयभन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् । यो साता गरिएको कुल ४९ हजार ५९५ आरटी पीसीआर परीक्षणमा एक हजार ८६९ संक्रमण पुष्टि भएको छ । 

अर्थात् संक्रमणदर ३.८ प्रतिशत रहेको छ । यो संक्रमणदर अघिल्लो हप्ताको तुलनामा ०.९ प्रतिशतले बढी रहेको स्वास्थ्‍य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । 

पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको पीसीआर परीक्षण गराउँदा ४३५ जनामा संक्रमण पुष्टि भएको छ । जुन केही सातायताकै सबैभन्दा बढी हो । अहिलेसम्म नेपालमा ४८ लाख ९४ हजार ५३३ पीसीआर परीक्षण भएको छ । 

संक्रमणदर बढ्दै गएकाले जोखिम पनि बढ्दै गएको प्रवक्ता मिश्रले बताइन् । अब बढी सतर्क हुनुपर्ने र जनस्वास्थ्य मापदण्डको पालना अझ बढी कडाईका साथ गर्नुपर्ने देखिएको उनको भनाइ छ । 

विश्व स्वास्थ्य संगठनले प्रति हप्ता प्रतिहजार जनसंख्यामा कम्तिमा पनि एउटा आरटी पीसीआर परीक्षण हुनुपर्ने सिफारिस गरेको छ । नेपालमा भने त्योभन्दा पनि बढी भइरहेको उनको भनाइ छ । 



केही प्रदेशमा भने यो लक्ष्यअनुसार परीक्षण हुन नसकेको स्वीकार गरिन् । ती प्रदेशहरूमा परीक्षण दायरा बढाइने बताइन् । 

यसरी सिफारिस गरेको लक्ष्यअनुसार काम गर्न सकेको खण्डमा अधिकांश जनसंख्यालाई निगरानीको दायरामा ल्याउन सकिने उनको भनाइ छ । यसरी परीक्षणको दायरा बढाउँदा संक्रमणको चक्र तोड्न मद्दत मिल्ने उनले बताइन् । 



जोखिम न्यूनीकरणका लागि के हुँदैछ ? 

कोरोना संक्रमणको तेस्रो लहर तथा ओमिक्रोन भेरियन्टको थप संक्रमण न्यूनीकरणका लागि सरकारले विभिन्न उपाय अपनाउँदै आएको छ । 

यसका लागि मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङलाई तीब्रता दिने, सीमा नाकाहरूमा परीक्षणको दायरा बढाउने, जनस्वास्थ्य मापपदण्डमा कडाइलगायतका कार्यलाई तीब्रताका साथ गर्दै आएको उनको भनाइ छ । 

सबै प्रदेशहरूलाई पनि यसरी नै कार्य गर्नको लागि समन्वय गरिएको उनले बताइन् । 

स्मार्ट लकडाउन गाइडलाइनले अस्पतालका कोभिड १९ का बेडहरू ३० प्रतिशतभन्दा बढी भरिनुलाई जोखिमको सूचकमा राखेको छ । 

कति कतै यसरी ३० प्रतिशतभन्दा बढी बेडहरू भरिएको खण्डमा जोखिम मानेर त्यही अनुसार काम गर्न आग्रह गरिन् । यही सूचकलाई आधारमा मानेर अस्पताल तथा कोरोना संक्रमितको उपचार गराइरहेका स्वास्थ्य संस्थाले थप सावधानी अपनाउनुपर्ने र त्यहीअनुसार तयारी गर्नुपर्ने उनको भनाइ छ । 

विश्वमा ओमिक्रोनको संक्रमणदर तीब्र गतिमा फैलिरहेको छ । अस्पताल जाने दर निकै बढिरहेको छ । नेपालमा हालसम्म तीन जनामा कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । 

थप फैलिन नदिनको लागि सीमा नाकामा कडाई गर्नेदेखि लिएर स्वास्थ्य परीक्षणलाई पनि व्यापक बनाइएको उनको भनाइ छ ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १७:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया