सिके राउतको आन्दोलनमा भएको गोली प्रहारको घटनाका दोषीलाई कारबाही गर्न लोसपाका असन्तुष्ट नेताको माग

लोकतान्त्रिक समाजवादी पार्टीका असन्तुष्ट पक्षका नेताहरुले बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएका छन् । सो क्रममा उनीहरुले धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा राज्यपक्षद्वारा गरिएको गोली प्रहारको घटनाका दोषीलाई कारबाही गर्न माग गरे । 

प्रहरीले १८ पुसमा धनुषामा आन्दोलनका क्रममा जनमत पार्टीका कार्यकर्तामाथि गोली प्रहार गरे‍को थियो ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो । 

प्रहरीको गोली लागेर चारजना घाइते भएका थिए । गोली लागेर धिरज मण्डल र नथ्थुराम यादव गम्भीर घाइते भएको जनमत पार्टीले जनाएको थियो । 

राज्यद्वारा आफ्नै निहत्था जनतामाथि गोली प्रहार गर्नु निन्दनीय भएको भन्दै उनीहरुले यो निरंकुशता र अत्याचारको पराकाष्ठा रहेको बताएका छन् । पूर्वराष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले यस्तो निर्मम घटनालाई कदापि स्वीकार गर्न नसकिने बताए । 

राज्यका प्रशासक वा सिपाहीलाई आत्मरक्षा गर्नुपर्ने अनियन्त्रित परिस्थितिमा बाहेक त्यसो गर्ने कुनै अधिकार नरहेको समेत उनले प्रजिअ वास्तोलालाई अवगत गराए । उनले आन्दोलनलाई वार्ता, वैचारिकता र सहमतिले सम्बोधन गरी नियन्त्रित गर्नुपर्नेमा गोली प्रहार गर्नु सम्बन्धित प्रशासनिक अधिकारी र सरकारको असफलता रहेको बताए ।
 
त्यस्तै, पूर्वसंविधानसभा सदस्य डा. विजयकुमार सिंहले आन्दोलनको जिम्मेवारी आन्दोलनकारीले मात्रै नलिने भन्दै यसमा राज्यपक्षसमेत संवेदनशील हुनुपर्ने आवश्यकता रहेको बताए ।
 
लोसपाका असन्तुष्ट पक्षका युवानेता उमेशकुमार मण्डलले प्रहरी प्रशासनद्वारा कुनै पनि आन्दोलन अथवा बन्द हडतालको क्रममा महिलामाथि समेत हातपात एवं कुटपिट गर्नु निन्दनीय रहेको बताए । उनले अबउप्रान्त यस्तो घटना दोहरिए आफूहरु चुप लागेर नबस्ने समेत चेतावनी दिए । नेता मण्डलले प्रशासनलाई संयमित हुन आग्रह गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी बास्तोलाले पोर्ताहाको घटनामा प्रहरी प्रशासनद्वारा सामान्य त्रुटि भएको स्वीकार्दै अबदेखि यस्ता घटनाक्रममा संयमता अपनाउन आग्रह गर्ने बताए । 



प्रजिअ बास्तोलालाई डेलिगेसन बुझाउन योगेन्द्र राउत, विभा ठाकुर, विन्दु ठाकुर, बिमला साह, रामजी राय, धिरेन्द्र सिंह, सतीशलाल दास, हेमन्त साह, भोला झा, राधिका साह, रामचन्द्र साहलगायतका नेता जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए ।



  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १८:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया