देउवाको दूत बनेर रामचन्द्र पौडेलले भेटे केपी ओली !
फाइल तस्वीर ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । पौडेल ओलीलाई भेट्न बुधबार साँझ ओलीनिवास बालकोट पुगेका थिए ।

पौडेलका प्रेस संयोजक खिला कार्कीले फरकधारलाई दिएको जानकारीअनुसार यो भेटमा पौडेलले संसदमा एमालेले गरेको विरोध अब रोक्न अनुरोध गर्दै पुगेका हुन् ।

‘संसद र अदालत दुवैले काम गर्न सकेका छैनन्,’ कार्कीले फरकधारलाई भने, ‘यस्तो डेडलक हुँदा पोलिटिक्सप्रति वितृष्णा पर्छ, यसलाई हटाउन के के विकल्प सोच्ने हो भन्ने छलफल गरौँ भनेर पौडेलले ओलीलाई भन्नु भयो ।’

यो भेटमा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन आग्रह गरेको कार्कीले जानकारी दिएका छन् । 

‘ओलीको यस्तो आग्रहमा छलफल गरौँ भनेर पौडेलले ओलीलाई भन्नुभयो,’ उनले भने, ‘तर, ओली आफ्नै अडानमा रहनु भयो, उहाँले माधवकुमार नेपाललाई कारवाही गर्नु पर्छ भन्ने पनि माग राख्नु भयो ।’

यसअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी भएअनुसार पौडेल ओलीलाई भेट्न बालकोट पुगेको कांग्रेसका अर्का एक नेताले फरकधारलाई बताए । 



‘देउवाको सन्देश लिएर पौडेल बालकोट गएका हुन्,’ ती नेताले भने, ‘संसद सुचारु होस् भन्ने चाहना नै प्रमुख हो ।’



  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १९:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया