ओली एमसिसीबारे सकारात्मक, सभामुख सापकोटा र माधव नेपाललाई कारवाहीको माग !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दल अमेरिकी सहयोग परियोजना एमसिसीसँग भएको सम्झौता कार्यान्वयनमा सकारात्मक भएको संकेत गरेका छन् । 

तर, यसका लागि उनले सत्तारुढ दल नेपाली कांग्रेससँग दुई सर्त राखेका छन् । 

उनका ती दुई सर्त हुन्– सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कारवाही गरिनु पर्ने । ओलीले आफ्ना यी दुई सर्त प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पुर्याउन नेपाली कांग्रेसकै नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । 

बुधबार साँझ ओलीनिवास बालकोटा पुगेका पौडेलसँग उनले यी दुई सर्त राखेका हुन् । पौडेलका प्रेस संयोजक खिला कार्कीले फरकधारलाई बताएअनुसार ओलीले पौडेलले संसदको ‘डेडलक’ हटाउन अनुरोध गर्दा पनि यी दुई सर्त अगाडि सारेका थिए । ‘संसद र अदालतको डेडलक पोलिटिकल्ली करेक्ट हुनका लागि पनि हटाउन अनुरोध पौडेलले गर्नुभएको हो,’ कार्कीले फरकधारसँग भने, ‘तर, ओलीले यसमा आफ्ना दुई कुरा मात्र राख्नु भयो, अन्य विषयमा प्रवेश गर्नु भएन ।’

केही दिनअघि एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूहरुले संसदको अवरोध आगामि निर्वाचनसम्मै राख्ने बताएका थिए । अहिले बोलाइएको संसदको बैठक एमाले अवरोधकै कारण राम्रोसँग बस्न सकेको छैन, नियमित रुपमा स्थगित गरिएको छ ।

संसदमा अमेरिकी परियोजना एमसिसीसँग भएको सम्झौता टेबुल पनि भएको छैन । यसअघि नेकपा माओवादी केन्द्रमा रहेका सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार राजनीतिक सहमति नभएसम्म आफूले एमसिसीसँगको सम्झौता संसदमा नल्याउने बताइसकेका छन् । केहीअघि सम्म एमसिसीबारे सकारात्मक देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भर्खरै सकिएको महाधिवेशनपछि यसबारे कस्तो धारणा बनाउने हुन् भन्ने हेर्न बाँकी छ ।



यसबारे फरकधारको यो समाचार पढ्नुहोस्ः के होला महाधिवेशनपछि माओवादी केन्द्रको धारणा ?

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको अस्तित्व हुँदा नै सभामुखमा सापकोटा चयन भएका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि एक युवतीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएपछि उनले सभामुख पदबाट राजीनामा दिए । उनले राजीनामा दिएपछि खाली भएको सभामुखमा ओलीले आफूनिकट नेता ल्याउन चाहन्थे । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडानका कारण सभामुखमा सापकोटा चयन भए ।



सर्वोच्च अदालतको फैसलासँगै नेकपा दुई पार्टीमा फेरि विभाजित भएको छ– नेकपा एमाले र नेकपा माओवादी केन्द्र । नेकपाको विभाजनपछि ओली सभामुख तथा नेकपा माओवादी केन्द्रका नेताहरुप्रति रुष्ट हुँदै आएका छन् ।

त्यस्तै, नेकपा एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाएका माधवकुमार नेपालप्रति पनि ओली रुष्ट देखिन्छन् । नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो नेतृत्वमा गठन गरेका नेपालको दल पनि अहिले सरकारमा सहभागी छ । एमाले फुटाएर नेपाल सरकारमा गएपछि ओलीले बारम्बार उनको आलोचना गर्दै आएका छन् । 

एमसिसी अनुमोदानका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारम्बार ओलीलाई सहयोग गर्न अनुरोध गर्दै आएका छन् । यसअघि उनले सन्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई पटकपटक ओलीलाई भेट्न उनको निवासमा पठाएका थिए ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार २०:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया