विनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छु : सुभाषचन्द्र यादव

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जाने डा. सुभाषचन्द्र यादवले बताएका छन् । 

क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधानको प्रावधानविपरीत चौधरीलाई ‘बलमिच्याई गरेर’ विजयी बनाएको भन्दै उनीसँग पराजित यादवले न्याय नपाए अदालत जाने बताएका हुन् । 

‘चौधरीजीले मनोनयन दर्ता गर्ने बेलामा नै मैले उजुरी दिन खोजेको थिएँ तर मेरो उजुरी त्यो बेला लिइएन, त्यसपछि निर्वाचन समितिमा संयोजक कृष्णगोपाल घिमिरेलाई उजुरी लिन नमानेको बारेमा जानकारी गराएँ,’ यादवले भने, ‘तर, उहाँले विधानले नदिए पनि पार्टीबाट लेखाएर आउनु भएको छ भन्ने कुरा गर्नुभयो, मैले भने कसैले लेखाएर हुने भए विधान किन बनाउनु पर्‍यो तर उहाँले कुनै जवाफ दिनु भएन ।’

उनका अनुसार १६ मङ्सिरमा दिएको उजुरी कांग्रेस केन्द्रीय कार्यालयले १ सय ३५ दर्ता नम्बरमा चार दिनपछि अर्थात् २० पुसमा दर्ता गरेको छ । चौधरीको उम्मेदवारीविरुद्ध अरू कसैले पनि उजुरी गरेको तर निर्वाचन समितिले सुनुवाइ नगरेको जानकारीमा आएको उनले जनाएका छन् । 

‘उहाँको उम्मेदवारीविरुद्ध अरूले पनि उजुरी गरेका रहेछन् तर निर्वाचन समितिले कुनै सुनुवाइ गरेन, त्यसबेला सुनुवाइ नगरेको र विजयी भएपछि पनि सुनुवाइ नगरे पछि म निर्वाचन आयोग गएको हुँ,’ यादवले भने, ‘आयोगले आन्तरिक मामिला भने पनि उजुरी भने दर्ता गरेको छ, यदि आयोगले पनि निकास दिएन भने म अदालत जानेछु ।’

निर्वाचन आयोगले यादवको उजुरीलाई दर्ता नम्बर ११२६ मार्फत सम्बोधन गरेको छ । मधेसी खुलातर्फका उम्मेदवार यादव छैटौँ स्थानमा रहेर पराजित भएका थिए तर १० वर्ष क्रियाशील सदस्यता नभएका चौधरीलाई उम्मेदवार मात्रै नभई विजयी पनि बनाएको भन्दै यादवले काँग्रेसको निर्वाचन समिति, सानेपा र निर्वाचन आयोग, कान्तिपथ दुवैमा लिखित उजुरी हालेका हुन् ।  






  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १०:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया