सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि ६ महिनाको म्याद दिएको छ ।
कोरोना भाइरस महामारी अघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्राय भएकोले व्यवहारिक कठिनाइका कारण ६ महिना कामदार पठाउन पाउने गरि म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
२०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको हो ।
सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन अघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यन्वयन हुनेछ ।
वैदेशिक रोजगारी सम्वन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो ।
अहिले अन्तर्राष्ट्रिय उडान संचालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भइ आएकोले पहिले नै प्राप्त भएका माग पत्र अनुरुप श्रमिक पठाउन ६ महिनाको म्याद थप गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।