एमालेलाई गठबन्धन चाहिँदैन, एक्लै चुनौती सामना गर्छौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले एक्लै चुनौती सामना गर्ने बताएका छन् । एमालेको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले कमजोर भएकाहरू नै गठबन्धन निर्वाचनसम्मै जानुपर्छ भनेर कराइरहेको उल्लेख गरेका हुन् । 

देशभरका ६३ वटा जिल्लाको अधिवेशन ओलीले वार रुमबाट एकैसाथ उद्घाटन गरेका छन् । उद्घाटन गर्दै ओलीले सम्बोधनको क्रममा भने,‘जो जति कमजोर छ त्यो त्यति चर्को गरी कराइरहेको छ । गठबन्धन निर्वाचनसम्मै जानुपर्छ भनेर । जो जति कमजोर छ उसलाई गठबन्धन त्यति बढ्दा चाहिएको छ ।’

उनले एमालेलाई गठबन्धन नचाहिएको बताए । ओलीले अघि भने, ‘नेकपा एमालेलाई गठबन्धन चाहिएको छैन । नेकपा एमाले एक्लै चुनौतीहरूको सामना गर्नसक्छ । नेकपा एमाले देशका निम्ति खटेको, जनताको सेवाको निम्ति समर्पित, जनताको निम्ति काम गर्दै आएको विकासप्रेमी पार्टी हो ।’

आफ्नो पार्टी एमाले देश बनाउने संकल्प बोकेको र बनाउन योगदान गरेको पार्टी भएको बताउँदै ओलीले भने,‘कामबाट व्यवहारतः प्रमाणित गर्दै आएको हो । यसलाई कसैले जनताबाट अलग गर्न सक्दैन र कमजोर पार्न सक्दैन् ।’

साथै, उनले आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेको परिणाम प्रतिकुल आउने स्वीकार गरेका छन् । उनले भनेका छन, ‘राष्ट्रिय सभाको निर्वाचन १२ गते मतदान हुँदैछ । त्यसको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउनसक्छ ।’

उनले यो जनमत आजको नभएको भन्दै त्यसलाई यथार्थ नमान्न कार्यकर्तालाई भनेका छन् । ‘किन प्रतिकुल आउनसक्छ भने त्यो आजको जनमत होइन र त्याे यथार्थ जनमत होइन् । किनभने हिजो साढे ४ वर्ष अगाडी जनताबाट जुन जनमत ल्याएका थियौं त्यो मत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापन गरेर सिटहरू बाँडेका थियौं ।’ उनले भने,‘ती कुराहरुलाई हतियार बनाएर हिजो हाम्रो शक्तिको आधारमा बनाइएका र जे भएका थिए त्यसलाई भत्काउने स्थितिबाट भएको हो ।’





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १३:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया