सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए । संसद सुचारु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले बताए ।
‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मूल रूपमा माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ । र यो बैठक हिजोकै बैठकको निरन्तरता रहेको छ । र अर्को विषय संसद लामो समयदेखि अवरुद्ध छ । यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन । त्यसैले संसदलाई सुचारु गर्ने बारेमा पनि छलफल भएको छ । संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भूमिका र कर्तव्य रहन्छ । त्यसैले संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ,’ उनले भने ।
त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै मन्त्री कार्कीले राष्ट्रियसभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।