नेपाल एमाले सुदूरपश्चिम प्रदेशको बझाङबाहेक प्रदेशका ८ जिल्लामा नेतृत्व चयनका लागि अधिवेशन भइरहेको छ । बझाङमा प्रतिकूल मौसमका कारण हुन नसकेको जनाइएको छ ।
अधिकांश जिल्लामा अध्यक्षका लागि एकभन्दा बढी छन् । सहमतिको प्रयास भइरहेको छ भने सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ ।
प्रदेशको सबैभन्दा चासोका रूपमा हेरिने जिल्ला कैलालीमा नेतृत्वका तीन जना आकांक्षी छन् । रणबहादुर चन्द, रतन थापा र डेजी पाण्डेले आकांक्षी छन् ।
एमालेको अघिल्लो अधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापा अहिले जिल्ला अध्यक्ष र सचिवमा निर्वाचित चन्दले उपाध्यक्षको पद सम्हालिरहेका छन् ।
कैलालीमा सहमति हुने सम्भावना कम रहेको नेताहरूले बताएका छन् ।
‘सहमतिको सम्भावना एकदम न्यून रहेको छ’ एक नेताले भने । नेता भीम रावल पक्षधर नेता कार्यकर्ताहरू निर्वाचन हुनुपर्ने जोड दिइरहेका छन् भने रावल इतरपक्ष सहमतिमा टुङ्ग्याउनु पर्ने भनिरहेका छन् ।
कञ्चनपुरको नेतृत्व छनोटका लागि पनि तीन जनाले दाबेदारी पेश गरेका छन् । जिल्लामा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्द अध्यक्षमा आकांक्षी छन् ।
डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य पदम पालले आकांक्षा देखाएका छन् ।
बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी देखिएका छन् ।
पार्टीले सहमति गरेमा दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन् । तर, उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्तीले पनि अध्यक्ष बन्ने चाहना बनाएका छन् । बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् ।
बाजुरामा नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाको फरक–फरक धारमा हुने चर्चा छ ।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको टिमबाट लालबहादुर ओली अध्यक्षका उम्मेदवार रहने र केन्द्रीय सदस्य लालबहादुर थापाको टिमबाट कालीबहादुर उम्मेदवारी रहेन चर्चा छ ।
युवा पिँढी चुनाव हुनुपर्नेमा जोड दिइरहेका छन् भने केन्द्रीयस्तरका नेताहरू सहमति गरेरै अधिवेशन सम्पन्न पार्ने गृहकार्यमा जुटेका छन् । चुनाव हुँदा अन्तर्विरोध हुने भएकोले सहमतिमै टुङ्ग्याउने कोसिसमा लाग्ने एमाले बाजुराका एक नेताले बताए ।
अछाममा प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैशी पनि अध्यक्षका आकांक्षी देखिएका छन् । सबै जिल्लामा अहिले औपचारिक कार्यक्रम चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।