कवि केशव सिलवालको तेस्रो कविता सङ्ग्रह ‘चिबेचरा’ सार्वजनिक भएको छ ।
विमल निभा, माइला लामा, उज्ज्वल प्रसाईं र धनकुमारी सुनारले संयुक्तरूपमा चिबेचराकाे सार्वजनिक गरेका हुन् ।
कवि विमल निभाले आफू प्रौढ नभएर, समकालीन कवि भएको जिकिर गर्दै उनले सरल शैलीका कविताबाट नै जनताका मुद्दा बलियोसँग स्थापित गर्न सकिने बताए ।
उनले भने, ‘गहन शब्द र शिल्पको जालोबाट कवितालाई मुक्त गर्नुपर्छ,’ निभाले भने, ‘सबैले बुझ्ने भाषा र बिम्बकै प्रयोग गरेर शक्तिशाली कविता लेख्न सकिन्छ । आजको कविताको प्रमुख विशेषता यही हो ।’
अर्का वक्ता उज्ज्वल प्रसाईंले कविता राष्ट्र, धर्म, जात र मानवीय विभाजनहरूभन्दा उच्च स्थानमा रहनु पर्ने धारणा व्यक्त गरे ।
‘अबको कविताले राष्ट्रप्रेम र राष्ट्रिय मुद्दा मात्र बोक्नु असान्दर्भिक हुन्छ । कविताले मानव जाति र पृथ्वीको साझा मुद्दालाई सम्बोधन गर्न सक्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा खगेन्द्र संग्रौला, नारायण वाग्ले, नयनराज पाण्डे, भूपाल राई, युग पाठक लगायतको उपस्थिति रहेको थियो ।
दुई दशकभन्दा बढी समय सांस्कृतिक एवम् साहित्यिक आन्दोलनमा क्रियाशील सिलवालको यसअघि ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरू’ कवितासंग्रह प्रकाशित भइसकेको छ ।
सांग्रिला बुक्सले प्रकाशन गरेको ‘चिबेचरा’भित्र ५० वटा कविता समेटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।