नेकपा (माओवादी केन्द्र)का झण्डै एक दर्जन नेता/कार्यकर्ताहरूमा एकैसाथ कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै भोलि २५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि सारिएको छ ।
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्वाचित भएपछि उनलाई बधाई दिन खुमलटार पुगेका अधिकांश नेताहरूमा कोरोना संक्रमण देखिएको हो । अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले बिहानै आफ्नो रिपोर्ट पोजेटिभ आएको भन्दै आन्तरिक रूपमा भेटघाटमा रहेका साथीहरूलाई काेराेना परीक्षण गर्न आग्रह गरेका छन् ।
त्यस्तै, नेताहरु हरिबोल गजुरेल, मातृका यादव र डोरप्रसाद उपाध्यायलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । युवा संघका पूर्व संयोजक समेत रहेका केन्द्रीय सदस्य रामप्रसाद सापकोटालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई यसअघि पनि कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, अर्का वाइसियल नेता तथा केन्द्रीय सदस्य सुबोध सेर्पालीलाई पनि कोरोना पुष्टि भएको छ।
वाइसियका संयोजक सुमन देवकोटा र अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, वाइसियलका नेता तथा यसअघि प्रचण्डका सचिवालयमा कार्यरत अंगरक्षक प्रकाशचन्द्र पाण्डेलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
उनीहरू सबै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार केहीदिन अघिमात्र गएका थिए । अध्यक्ष प्रचण्डलाई सामान्य लक्षण देखिएपछि अन्यको पनि धमाधम पिसिआर परीक्षण गरिएको थियो ।
माओवादीका नेताहरूका अनुसार महाधिवेशनबाट अधिकांशमा कोरोना फेलिएको हुनसक्छ । यो संख्या अझै थप हुनसक्ने भन्दै सबैलाई कोरोना परीक्षणका लागि भनिएको एक नेताले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।