सुरुवाती सात महिनामाभन्दा पछिल्लो एक सातामा थपिने कोरोना संक्रमितको संख्या ठूलो

विश्वमा कोरोना भाइरसको संक्रमण सुरु भएको सुरुवाती सात महिनामाभन्दा पछिल्लो एक सातामा ठूलो संख्यामा नयाँ संक्रमित थपिएको पाइएको छ । 

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो एक सातामा विश्वमा १ करोड ५२ लाख ८९ हजार ५१६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो भाइरस विश्वभरी फैलिई महामारीको रूप लिएको थियो । 

कोरोना संक्रमितको कूल संख्या १ करोड ५२ लाख पुग्न करिव सात महिना लागेको थियो । अर्थात सन् २०२० जुलाई तेस्रो साता मात्र विश्वमा कूल कोरोना संक्रमितको संख्या १ करोड ५२ लाख नाघेको थियो । 

सुरुवाती सात महिनामा देखिएका जति कोरोना संक्रमित अहिले एक सातामा देखिन थालेका छन् । कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमणसँगै संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

अघिल्लो साताभन्दा पछिल्लो साता विश्वमा नयाँ कोरोना संक्रमितको संख्या ५१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता विश्वमा १ करोड १ लाख ३० हजार २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । 

सबैलाई चकित पार्ने तथ्याङ्क यो छ की जुन देशमा सबैभन्दा बढी जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ तिनै देशमा पछिल्लो समय सबैभन्दा बढी संक्रमण फैलिएको छ । पछिल्लो साताहरुमा सबैभन्दा बढी संक्रमण विकसित देशहरुमा फैलिएको छ । 



वर्ल्डोमिटर्स​का अनुसार पछिल्लो साता सबैभन्दा बढी कोरोना भाइरसको संक्रमित थपिने १० देशमा क्रमशः अमेरिका, फ्रान्स, बेलायत, इटाली, स्पेन, भारत, अर्जेन्टिना, अष्ट्रेलिया, टर्की र जर्मनी रहेका छन् । 

पछिल्लो सात दिनमा अमेरिकामा ४४ लाख ५३ हजार ५८५, फ्रान्समा १६ लाख २३ हजार १९५, बेलायतमा १२ लाख १७ हजार २४७,  इटालीमा १० लाख १४ हजार २६७ र स्पेनमा ६ लाख ३८ हजार ७७२ जना नयाँ संक्रमित थपिएका छन् ।



यस्तै, भारतमा ६ लाख ८३ हजार ७७७, अर्जेन्टिनामा ५ लाख ६३ हजार ९७, अष्ट्रेलियामा ४ लाख ४६ हजार ७२१, टर्कीमा ३ लाख ९७ हजार ४४४ र जर्मनीमा ३ लाख ४ हजार ६६४ जना नयाँ संक्रमित पछिल्लो साता थपिएका छन् । 

पछिल्लो एक सातामा कोरोनाका कारण विश्वमा ४३ हजार ३२ जनाले ज्यान गुमाएका छन् । अघिल्लो सातामा तुलनामा पछिल्ला साता कोरोनाका कारण मृत्यु हुनेको संख्या एक प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता विश्वमा ४२ हजार ५०६ जनाको मृत्युको कारण कोरोना बनेको थियो । 

पछिल्लो साता विश्वमा प्रत्येका दिन औसतमा करिव २२ लाख जना कोरोनाका नयाँ संक्रमित थपिदै आएका छन् । यस्तै, सोही अवधिमा कोरोनाका कारण प्रत्येक दिन औषतमा ७ हजारभन्दा बढीको मृत्यु भएको छ । 

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १२:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया