सुपारी तस्करको जालोमा देउवा सरकार पनि, फाइभ स्टारमा बसेर सुपारीको कोटा !

सरकारले २५ हजार टन सुपारी आयात खोल्ने प्रक्रिया अगाडि बढाएको छ । औद्योगिक प्रयोजनका लागि यसो गर्ने तयारी गरिएको भनिए पनि पछिल्लो समय फेरि सुपारी व्यापारी तथा तस्करीलाई पोस्न नेपाल सरकारले यो प्रक्रियालाई अगाडि बढाउन थालेको हो ।

केही समयअघि बन्देज लगाइएको सुपारी आयात खोल्न वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट टिप्पणी उठिसकेको स्रोतको दाबी छ । यो फाइल प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेको र केही दिनमा नै मन्त्रिपरिषद् बैठकबाट निर्णय आउने बताइएको छ ।

तीन वटा गुट्खा उद्योगलाई आवश्यकता परेको देखाउँदै वर्षौदेखि सुपारी तस्करी गर्दै आएकाहरुलाई पनि सहज बनाउँदै सुपारी आयात गर्न दिन खोजिएको हो । स्रोतका अनुसार उपकार गुट्खा, करेन्ट गुट्खा, भोला गुट्खा र श्रीराम टोबाकोका लागि सुपारी आवश्यक भएको भन्दै यो खुलाउन खोजिएको हो ।

यी कम्पनीलाई निकै कम सुपारी आवश्यक भए पनि सुपारी तस्करहरुलाई सहज हुने गरि २५ हजार टन सुपारी आयात खुलाउन सरकार लागेको हो । 

स्रोतका अनुसार यसका लागि सुपारी तस्करीमा लामो समय देखि काम गरिरहेका दीपक पोखरेल, प्रदीप मित्तल, दिनेश राठीलगायतहरुको संलग्नता छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले पनि २५ जना व्यापारीका नाममा सुपारी आयात खुला गरेको थियो ।

पछिल्लो समय अवैद्य रकम र हुण्डी कारोबारमा समेत सक्रिय दीपक पोखरेलले नै यसपटक पनि सुपारीको आयात खोल्न सेटिङ मिलाएका हुन् । स्रोतका अनुसार केही समयअघि यही विषयमा छलफल गर्न पोखरेललगायतका केही व्यापारी काठमाडौंको याक एन्ड यति होटलमा बसेका थिए ।



२०७७ साल ९ चैतको राजपत्रको सूचनामा केराउ, छोकडा, सुपारी र नधुल्याएको मरिच पैठारीमा लगाइएको बन्देज हटाइएको उल्लेख छ । 

राजपत्रमा आर्थिक वर्ष २०७७र७८ का लागि परिमाण तोकि परिमाणात्मक बन्देज लगाइएका सुपारी लगायतका सामाग्री आयात गर्न खुल्ला गरिएको थियो । 



यही राजपत्रको आधारमा बाणिज्य विभागले कृषी मन्त्रालयको सिफारीसमा सुपारीका लागि २५ हजार मेट्रिक टन परिमाण आयात गर्न कोटा खोलेको थियो । 

कोटा खुलेपछि सुपारी आयात गर्न इच्छा देखाउँदै ८५ कम्पनीले निवेदन दिएका थिए । 

तर, यसको अनुमति दिइयो २५ कम्पनीलाई । स्रोतका अनुसार सेटिङ मिलाएर यी २५ कम्पनीले सुपारी आयात र निर्यातका लागि काम गरिरहेका छन् ।

‘कम्पनी नयाँ खडा गरेका होलान् तर केही तस्करहरूले नै यसमा आधिपत्य जमाइसकेका छन्,’ विराटनगरका एक सुपारी व्यवसायीले फरकधारसँग बताए । अहिलेको अवस्थामा पनि यसअघि ओली सरकारको पालामा जसले यो काम पाएका थिए, उनीहरुलाई नै यसको जिम्मेवारी दिन लागिएको छ ।

वाणिज्य विभागले तेस्रो मुलुकबाट नेपाल ल्याउन अनुमति दिएको २५ हजार मेट्रिक टन नेपाल आएर भारत पुग्दा अर्बौ रुपैयाँ फाइदा हुने देखिन्छ । इन्डोनेसियामा एक मेट्रिक टन सुपारीलाई औसतमा १८ सय डलर पर्छ । यसको  भन्सार एक हजार ५० डलर तिर्नु पर्छ । 

इन्डोनेसियाबाट नेपालसम्म आउँदा लाग्ने ढुवानी खर्च एक मेट्रिक टनको करिब एक लाख रुपैयाँ पर्न आउने व्यवसायीहरू बताउँछन् । यसरी हेर्दा नेपालमा तेस्रो मुलुकबाट आएको एक मेट्रिक टन सुपारीको नेपाली मूल्य चार लाख रुपैयाँको हाराहारी पर्न आउँछ । यो सुपारी भारतमा बेच्दा एक किलोमा कम्तिमा पनि १ सय ५० रुपैयाँ फाइदा हुने गरेको व्यापारीहरू नै बताउँछन् ।

याे पनि पढ्नुहाेस्:

दीपक पोखरेल : सुपारी तस्करीका नाइके

 

नेपाली बजारमा ६० रुपैयाँसम्ममा बिक्री भइरहेको काँचो सुपारी भारतमा एक सय २० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । यही कारण पनि दीपक पोखरेल र उनीनिकट केही व्यापारीले वर्षेनी नेपालबाट भारत सुपारी तस्कर गर्ने गरेका छन् ।

पोखरेल विवादित व्यवसायी हुन् । 

गत शनिबार सौर्य एयरलाइन्समार्फत काठमाडौं ल्याइएको स्रोत नखुलेको ५० लाख रुपैयाँ प्रहरीले बरामद गर्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट सोही एयरलाइन्सका कर्मचारीलाई प्रहरीले ५० लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।

याे पनि पढ्नुहाेस्:

 

विमानस्थलमा भेटिएको स्रोत नखुलेको ५० लाख सुपारी तस्करीका नाइके दीपक पोखरेलको

उक्त रकम विराटनगरबाट काठमाडौं पठाइएको र रिसिभ गर्ने क्रममा एयरलाइन्सकी कर्मचारी विराटनगर(४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । रेशाको बयानका आधारमा प्रहरीले सोही एयरलाइन्सका विराटनगरका स्टेसन इन्चार्ज प्रकाश पौडेललाई पनि पक्राउ गरेर राजस्व अनुसन्धान विभागलाई बुझायो ।

स्रोत नखुलेको रकमका विषयमा विभागले अनुसन्धान अगाडि बढायो । बयानका क्रममा विभागलाई एयरलाइन्सका कर्मचारीले उक्त रकम विराटनगरका व्यापारी दिनेश राठीको कार्यालयबाट दिएको भन्ने जानकारी दिए । त्यसपछि विभागले व्यापारी राठीसँग सोधपुछ गर्यो ।

विभागको अनुसन्धानका क्रममा प्रहरीले विमानस्थलबाट बरामद गरेको उक्त रकम सौर्य एयरलाइन्सकै अध्यक्ष दीपक पोखरेलको भएको खुल्यो ।

याे पनि पढ्नुहाेस्:

 

सुपारी तस्करी : वाणिज्य र कृषिका कर्मचारीसँग सेटिङ, योजनाकार दीपक पोखरेल

स्रोतका अनुसार विभागले कर्मचारीलाई नियन्त्रणमा लिएपछि दीपकले ५० लाख रुपैयाँ आफ्नो भएको जानकारी गराएका हुन् । उनले सौर्य एयरलाइन्सकै लेटरप्याडमा पत्र लेख्दै कर्मचारीलाई छोड्न आग्रह गरेका थिए । उनले औपचारिक रूपमा पत्र लेख्दै कर्मचारी छाड्न भनेपछि विभागको अनुसन्धान उनीप्रति मोडिएको छ ।

विभागले कर्मचारीलाई छुटाउने भए बरामद रकम बराबरकै धरौटी राख्नुपर्ने जवाफ फर्काएको विभाग स्रोतको भनाइ छ । विभागले कर्मचारीलाई दीपकले धरौटीको रकम बुझाएपछि छाडिदिएको छ ।

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १५:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया