निर्मला पन्त हत्याकाण्ड : ओली–देउवा प्रतिपक्षी बन्दा उछाल्ने ‘राजनीतिक’ मुद्दा

१० साउन २०७५ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको पाँच महिना सात दिन भएको थियो । त्यसै दिन निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।

निर्मला कञ्चनपुरको भीमदत्त नगरपालिका–२ कि हुन् । १३ वर्षीया उनै निर्मलाको हत्या भएको तीन वर्ष पाँच महिना नाघेको छ ।

हत्या भएपछिको झण्डै तीन वर्षसम्म ओली नै सत्तामा रहे । त्यसयताको ६ महिना भने पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् ।

दुर्गादेवीको प्रश्न हो–मेरी छोरीलाई मार्ने को हो त र किन दोषीलाई कारबाही भएन ? यति लामो समयसम्म पनि निर्मलाकी आमा दुर्गादेवीको प्रश्नको जवाफ न तत्कालीन ओली सरकारले दियो न वर्तमान प्रधानमन्त्री देउवाले नै दिन सकेका छन् ।

जबकि अपराध अनुसन्धान गर्ने दुइटा सुरक्षा निकाय छन् । एउटा नेपाल प्रहरी र अर्को खुफिया निकाय राष्ट्रिय अनुसन्धान विभाग ।

दुवै निकायले घटनाबारे अनुसन्धान गरे तापनि साढे तीन वर्ष हुँदासम्म प्रगति शून्य छ । घटनामा संलग्न को थिए ? अर्थात् कसले बलात्कार गरेर हत्या गरे निर्मलाको ? सुइँकोसम्म पाएका छैनन् अनुसन्धान गर्ने यी निकायले ।



हुन त स्थानीय दिलीपसिंह विष्ट अनुसन्धानको घेरामा परे । आशंकामा अन्य केही मानिसलाई पनि अनुसन्धानको दायरामा ल्याइए । उनीहरू अनुसन्धानमा तानिएको ओली सरकारमा हुँदा हो ।

तर, हत्यामा संलग्न पक्राउ हुनु त कहाँ हो कहाँ पहिचानसम्म हुन सकेको छैन । यसबीचमा उनै प्रधानमन्त्री ओली भने प्रमुख विपक्षी दलको नेता भएका छन् । 



आफ्नो राजनीतिक हैसियत फेरिएपछि पहिलो पटक शुक्रबार ओलीले एउटा प्रश्न गरे, निर्मला पन्तको हत्याबारे । उनले भने, 'निर्मला पन्त, निर्मला पन्त भनेर यिनीहरू (हालका सत्तारूढ दलहरू) कराए । छ महिनासम्म निर्मला पन्त...के हेरेर बस्याछन् ? किन छानबिन गर्दैनन् यिनीहरू ?'

जबकि, ओलीले बैतडीकी किशोरी भागरथी भट्टको हत्या घटनापछि बुटवलमा पुगेर निर्मला र भागरथीको हत्यारालाई ‘पानीमुनि गए पनि छाडिनन्’ भनेका थिए ।

ओलीले त्यस्तो वाचा गरे तापनि निर्मलाको हत्या घटनाको अनुसन्धान बीच बाटोमै अड्किएको छ । ओली सरकारमा छँदा अनुसन्धान झन् गिजोलियो । यसबीच उनमाथि हत्यामा संलग्नलाई राजनीतिक संरक्षण दिएको आरोपसमेत लाग्यो । आरोप लगाउने तत्कालीन प्रमुख विपक्षी दलका नेता हालका प्रधानमन्त्री देउवा हुन् ।

र, ओली त्यसबेला बढी विवादित पनि भए, जतिबेला संसद् विघटन गरेर २४ पुसमा धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न जाँदा सात जना युवा पक्राउ परे ।

पक्राउ पर्नुको कारण थियो – ‘निर्मला पन्तको हत्यारा खै’ लेखिएको टिसर्ट लगाउनु । निर्मलाका हत्यारा पत्ता लगाएर कानुनी दायरामा ल्याउनका लागि सरकारलाई दबाब दिन युवाले टिसर्ट लगाएका थिए । सरकारलाई दबाब दिन उत्रिएकालाई गिरफ्तार गरेपछि ओली विवादित बन्न पुगेका थिए । घटना घटेको छिमेकी जिल्ला पुग्दा पनि ओलीले निर्मलाको हत्याबारे एक शब्द पनि बोलेनन् ।

पछि चाहिँ आरोप लगाए – घटनालाई राजनीतिकरण गरियो । यससँगै निर्मलाको हत्यारा पनि समय क्रममा पक्राउ पर्ने र घटनालाई राजनीतिक गर्नेहरूको खुलासा हुने चेतावनी दिन भ्याए । यद्यपि, ओली सरकारमा रहँदासम्म निर्मलाले न्याय पाइनन् ।

आफ्नो पालमा आश्वासनमात्र दिएका ओलीले शुक्रबार फेरि घटनालाई राजनीतिक रङ दिने प्रयास गरे । उनले शुक्रबार देउवालाई प्रश्न गरे - निर्मला पन्तको हत्याको घटनामा छानबिन नगरेर के हेरिबसेका छन् ?

यता देउवाले निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराजलाई १७ फागुन २०७५ मा घरमै भेटेर भनेका थिए– यो (ओली) सरकार बलात्कारीलाई पक्रिन सक्दैन । कति चाहिँ नालायक छ भन्ने यसबाट पुष्टि हुन्छ ।’

यसरी ओलीलाई नालायक भनेका देउवालाई पनि गृह प्रदेशको यत्रो ठूलो घटनामा प्रगति देखिने गरी काम गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

यसो हुँदा प्रतिपक्षमा रहेको बेला ओलीमाथि देउवाले आरोप मात्रै लगाएको पुष्टि हुन्छ र ओलीले पनि शुक्रबार प्रश्न गर्नु प्रतिपक्षी दलका नेताको धर्म निर्वाह गरेको भान हुन्छ ।

अर्थात् देउवा र ओलीको प्रतिपक्षमा रहँदा 'निर्मला हत्याकाण्ड' राजनीतिक मुद्दा बन्ने गरेको छ ।

मृतक निर्मला कक्षा ९ मा पढ्थिन् । १० साउन २०७५ मा साथीको घर गएकी उनी भोलिपल्ट भीमदत्त नगरपालिका – १८ को उखुबारीमा मृत फेला परेकी थिइन् ।

उक्त घटनाको अनुसन्धान प्रहरीको लापरबाहीका कारण सुरुदेखि नै गिजोलिएको छ । यद्यपि, १८ पुसमा शंकास्पद अली थरका एक जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । घटनामा उनको संलग्नता पुष्टि हुन बाँकी छ ।

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १७:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया