नेप्से ७३.०१ अंकले बढ्दा कारोबार रकम ७ अर्ब नाघे

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको  छ ।

नेप्से परिसूचक पछिल्लो एक सातादेखि केही दिनबाहेक निरन्तर रूपमा उकालो लाग्न थालेको छ । आइतबार त्यसैको निरन्तरता स्वरूप नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ । 

त्यस्तै, ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको छ ।

आज कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

नेप्से परिसूचकको कारोबार पछिल्लो दुई महिनाकै धेरै शेयर कारोबार भएको छ । मंसिर लागेदेखि  ७ अर्बभन्दा बढीको शेयर कारोबार हुन छाडेको थियो ।  

पछिल्लो समय दैनिक औषतमा ३/४ अर्बको मात्रै शेयर कारोबार भइरहेको थियो । तर, आइतबार भने एकैदिनमा कारोबार रकम ७ अर्ब नाघेको छ । 



त्यस्तै, आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक हरियाली छाएको छ ।  जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी  ६.०८ प्रतिशत बढेको छ । 

त्यसैगरी विकास बैंक र वित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । 



निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी, बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

आइतबार उच्च अंकले  बढेको नेप्सेसँगै ४ कम्पनीहरुको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन उर्जा विकास कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स, युनियन हाइड्रोपावर र मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

त्यस्तै न्यादी पावर, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, एचआइडीसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर, मिथिला लघुवित्तको सेयरमूल्य भने  १.२७ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा २९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर अपी पावर कम्पनी पहिलो स्थानमा रहेको छ । यता  प्रभु बैंक र अपर तामाकोशीको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १८:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया