अमेरिका, रुस, भारत तथा अन्य राष्ट्र चन्द्रमामा जान किन चाहन्छन् ?
फरकधार / २६ पुस, २०७८

पछिल्लो एक वर्षमा चन्द्रमामा कुनै पनि अन्तरिक्ष यान अवतरण गरेको छैन । कसैले कुनै मिसन चन्द्रमामा पठाएको पनि छैन । 



तर यस वर्ष अर्थात् सन् २०२२ मा भने चन्द्रमा सम्बन्धि धेरै सामग्री मिडियामा आउने पक्का छ । किनभने धेरै देश तथा कम्पनीहरूले यस वर्ष चन्द्रमालाई मिसन बनाएर विशेष योजनामा काम गरिरहेका छन् । 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस वर्ष ‘आर्टेमिस प्रोग्राम’ सुरु गर्नेछ । यो कार्यक्रममार्फत् नासाले महिला अन्तरिक्ष यात्रीलाई पहिलो पटक चन्द्रमामा पठाउँदै छ । लामो समय चन्द्रमामा बस्नको लागि नासाले केही उपकरण र सामग्री पनि पठाउने तयारी गर्दैछ । 

भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्रीले समेत प्रयोग गर्न मिल्ने गरी नासाले चन्द्रमामा उपकरण पठाउन लागेकाे हाे ।



यसको लागि नासाले चन्द्रमामा एउटा यस्तो आर्टेमिस बेस क्याम्प बनाउने छ जहाँ अन्तरिक्षयात्री बस्न र अध्ययन गर्न सक्नेछन् । उक्त बेस क्याम्पमा रहेर अन्तरिक्षयात्रीले चन्द्रमाको सतहको परसम्म पुगेर अध्ययन गर्न सक्नेछन् । 

आर्टेमिस बेस क्याम्पमा एउटा अत्याधुनिक मोबाइल घर र एक रोवर हुनेछ । चन्द्रमाको गहन अध्ययनमा मोबाइल घर र रोवरले सघाउनेछन् । यो अभियानले मंगल ग्रहमा कदम राख्न समेत सघाउने बताइएको छ ।
 
क-कस्ले सुरु गर्दैछन् अभियान ? 

भारत, जापान, रुस, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले यस वर्ष चन्द्रमा मिसनमा विशेष काम गर्दैछन् । यसको अलवा अन्य राष्ट्र र कम्पनी पनि चन्द्रमाको अध्ययनमा लागिरहेका छन् । उनीहरूले अध्ययनको लागि पृथ्वीको कक्षमा स्याटलाइट पठाउने तयारी गरिरहेका छन् ।

यस वर्ष सञ्चालन गरिएका धेरैजसो मिसनहरू मानवरहित हुनेछन् । उनीहरूको काम चन्द्रमामा आवश्यक सामग्री पुर्‍याउने हुनेछ । यसले आगामी वर्षहरूमा चन्द्रमा जान, बस्न अनुसन्धान गर्न सघाउने विश्वास लिइएको छ । आउँदो एक दशकभित्र मानिसले चन्द्रमामा बसोबास सुरु गर्ने लक्ष्य राखिएको छ । यसको साथै चन्द्रमा नजिक अन्तरिक्षमा चन्द्रमा स्पेस स्टेसन बनाउने योजना पनि छ ।

यस वर्ष सुरु हुने मिसनलाई मंगल ग्रहमा कदम राख्ने योजनाको पहिलो चरणको रूपमा लिइएको छ । 

बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलका एस्ट्रोफिजिसिस्ट जोई लिनहार्टका अनुसार यो वर्ष विश्वका शक्ति राष्ट्रबीच स्पेस रेस सुरु हुनेछ । यो रेसमा धेरै देशको नाम जोडिने उनले बताए ।

यस वर्ष सुरु हुने धेरै योजना चन्द्रमाको अनुसन्धानमा केन्द्रित हुनेछन्, थोरैको उद्देश्य भने चन्द्रमामा कसरी लामो समयसम्म बस्न सकिन्छ भन्ने हुनेछ ।
 
‘केही मिसनको उदेश्य ठूलो परियोजनाको लागि पहिलो कदम अघि बढाए जस्तो हुनेछ । चन्द्रमा मिसनले केही नयाँ विचारलाई स्थापित गर्न मौका प्रदान गर्नेछ भने अन्तरिक्षसँग सम्बन्धित प्रविधि र साझेदारीको परीक्षा पनि गर्नेछ,’ जोई लिनहार्टले भने ।

नासाको आर्टेमिस-वन तथा केपस्टोन

नासाको यो महत्वाकांक्षी परियोजनाको उद्देश्य सन् २०२५ सम्म फेरि एक पटक मानिसलाई चन्द्रमाको सतहमा उतार्नु हो । यो मिसन यत्तिमै समाप्त हुनेछैन । यो कदम मंगल ग्रहमा हुने यात्राको पनि पहिलो कदम हुनेछ । 

यो मिसनको धेरैजसो हिस्सा मानवरहित यानद्वारा पूरा गरिनेछ । आर्टेमिस-वनमा ‘मुनिकिन’ पनि चन्द्रमा पठाइने छ । यसैमार्फत् स्पेससुटको परीक्षण गरिने छ, जसलाई पछि अन्तरिक्षयात्रीले लगाएर जानेछन् ।

यो मिसनलाई नासाको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट स्पेस लञ्च सिस्टम (एसएलएस) मार्फत् स्थापना गरिनेछ । यसले ओरायन अन्तरिक्ष यानलाई चन्द्रमाको नजिकसम्म लैजाने छ र जुन यानले अन्तरिक्षयात्रीलाई चन्द्रमा उतार्ने छ अनि त्यसको परीक्षण समेत गर्नेछ । 

नासाले ओरायनमा हुने हिट सिल्डको पनि अध्ययन गर्नेछ । पृथ्वीमा फर्कने समयमा ओरायन जब पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा प्रवेश गर्नेछ त्यतिबेला लगभग २ हजार ७६० डिग्री सेल्सियस तापक्रमको सामना गर्नुपर्नेछ । 

आर्टेमिस कार्यक्रमअन्तर्गत यस वर्ष एउटा अर्को महत्वपूर्ण काम पनि हुनेछ, जसअनुसार केपस्टोन अन्तरिक्ष यान मार्च २०२२ सम्म अन्तरिक्षमा पठाइने छ । यसले माइक्रोवेब ओभनजत्रो एक अटोनोमस पोजिसनिङ सिस्टम क्लुबसैट लञ्च गर्नेछ, जसले चन्द्रमालाई परिक्रमा गर्नेछ । यसको उद्देश्य भविष्यमा अन्तरिक्ष यात्रीको सुरक्षा सुनिश्चित गर्नु हो ।

मंगल ग्रहमा कदम राख्ने महत्वाकांक्षी योजना 

आर्टेमिस कार्यक्रममार्फत् जति पनि जानकारी संकलन हुन्छ त्यसको प्रयोग मंगल ग्रहमा जानको लागि पनि प्रयोग गरिनेछ । 

नासाले चन्द्रमा नजिक एउटा ‘गेटवे’ बनाउनेछ । यो गेटवे एउटा यस्तो आवास हुनेछ जहाँ लामो समय मानिस रहेर अन्तरिक्ष, चन्द्रमा र मंगल ग्रहको अध्ययन गर्न सक्नेछन् ।

यदि सबैकुरा योजना अनुसार भयो भने सन् २०२५ सम्म आर्टेमिस-तीन मार्फत् मानिसलाई चन्द्रमामा पठाइने छ । सन् १९७२ मा अपोलो १७ मिसनपछि यो मिसन पहिलो पटक मानिसलाई लिएर चन्द्रामाको सतहसम्म पुग्नेछ । यो यानमा एक जना महिला र एक जना अश्वेत नागरिक पनि हुनेछन् ।

डाक्टर हान्ना सार्जेन्ट अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाका अन्तरिक्ष वैज्ञानिक हुन् । उनका अनुसार चन्द्रमा पाइला राख्नु भनेको ठूलो लक्ष्य प्राप्त गर्नु हो । नासाको गेटवेले अन्तरिक्षको खोजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको बुझाइ छ । 

‘चन्द्रमामा हुने रोबोटिक मिसन एउटा ठूलो योजनाको सुरुवात हुनेछ । यसैको आधारमा चन्द्रमा नजिक एक स्पेस स्टेसन, चन्द्रमा एउटा वेस क्याम्प र मंगल ग्रहमा मानिस पठाउने तयारी हुन्छ,’ हान्ना सार्जेन्टको भनाइ छ । 

नासाको अलवा भारत, जापान र युएईले पनि यस वर्ष चन्द्रमाको अध्ययनको लागि विभिन्न कार्यक्रम तय गरेका छन् । 

भारतको चन्द्रयान 

भारतले चन्द्रमाको सतहमा अवतरण गर्ने गरी एक चन्द्रयान पठाएको थियो । यो मिसन सफल हुन सकेन । यस वर्ष भारतीय स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रयान-३ चन्द्रमा पठाउने योजना बनाएको छ । 

कार्यक्रम अनुसार भारतले एक अन्तरिक्ष यान, एक रोवर र चन्द्रयान-३ यो वर्ष समाप्त हुनु अगावै चन्द्रमातर्फ पठाउने छ । यो एउटा अर्विटर मिसन हुनेछ जसले चन्द्रमामा अवतरण गर्ने प्रयास गर्नेछ । रोवरले चन्द्रमाको तस्विरहरू पृथ्वीमा पठाउने छ, जसले चन्द्रमाको सतह बुझ्न सहयोग गर्नेछ ।

चन्द्रयान-३ मार्फत चन्द्रमाको अध्याँरो पाटोमा रोवर अवतरण गराउने योजना भारतको छ । रोवर चन्द्रमाको त्यस्तो भागमा अवतरण गरिने छ जहाँ करोडौं वर्षदेखि सूर्यको प्रकाश परेको छैन । उक्त भागमा हिउँ र महत्वपूर्ण खनिज पदार्थ हुनसक्ने अनुमान छ ।

जापानको योजना 

यस वर्ष चन्द्रमालाई लिएर जापानले पनि दुईवटा परियोजना सञ्चालन गर्नेछ । जापानी स्पेस एजेन्सी (जेएएक्सए)ले यस वर्षको अप्रिलमा चन्द्रमामा एक ल्याण्डर अवतरण गर्ने योजना बनाएको छ । 

यो मिसनको उदेश्य चन्द्रमामा अवतरण प्रविधिको परीक्षण गर्नु रहेको छ । यो मिसनले फेसियल रिकग्निसन सिस्टम मार्फत चन्द्रमाको जानकारी संकलन गर्नेछ । 

जापानले अप्रिलमा पठाउने यानमा एउटा एक्सरे इमेजिङ एण्ड स्पेक्ट्रोस्कोपी मिसन (एक्सआरआइएसएम) नामको स्पेस टेलिस्कोप पनि पठाउइनेछ ।

जापानी कम्पनी आइस्पेसले पनि यसैवर्ष पहिलो र सन् २०२३ मा अर्को ल्याण्डर चन्द्रमा पठाउने तयारी गरेको छ । हाकुटो-आर कार्यक्रम मार्फत यी दुई मिसनलाई मिसन-१ र मिसन-२ नाम दिइएको छ । यो चन्द्रमाको यस्तो खोज अभियान हुनेछ जहाँ मानिसलाई बस्नको लागि चन्द्रमा कति सहज छ भन्ने कुरा खोजिने छ । 

कम्पनीका अनुसार आफ्नो अनुसन्धानले भविष्यमा चन्द्रमामा मानिसको बस्ती बसाल्न, पृथ्वी र चन्द्रमा बासिन्दाबीच सम्पर्क गराउन र चन्द्रमा व्यापारको सम्भावनाबारे अध्ययन गर्न सघाउनेछ । 
तेस्रोदेखि नवौं मिसनसम्म कम्पनीले चन्द्रमामा डेलिभरी सिस्टम र औद्योगिक प्लेटफर्म तयार गर्ने योजना बनाउने जनाइएको छ ।

रुसको लुना-२५ मिसन 

यस वर्ष रुसले लुना-२५ मिसन र दक्षिण कोरियाले लुनर अर्विटर मिसन लञ्च गर्ने योजनामा काम गरिरहेका छन् । 

रुसी स्पेस एजेन्सी रासकासमासका अनुसार रुसले यसै वर्षको मेमा लुना-२५ मिसनलाई चन्द्रमामा उतार्ने छ । रुसले यसमा एक ल्याण्डर पठाउने छ । पछिल्लो ४५ वर्षमा रुसको चन्द्रमामा यो पहिलो मिसन हुनेछ । 

रुसले पठाउने अन्तरिक्षयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने बताइएको छ । नासाले पनि चन्द्रमाको यसै भागमा अन्तरिक्षयात्री उतार्ने योजनामा काम गरिरहेको छ । 

यसपछि रुसले सन् २०२४ मा लुना-२६, २०२५ मा लुना-२७, २०२७-२८ मा लुना-२८ लञ्च गर्ने योजनामा काम गरिरहेको छ । 

दक्षिण कोरिया पनि रेसमा 

चन्द्रमाको अध्ययन गर्ने रेसमा यस वर्ष दक्षिण कोरियाले पनि आफूलाई तयारी अवस्थामा राखेको छ । 

दक्षिण कोरियाली स्पेस एजेन्सी कोरिया एरोस्पेस रिसर्च इन्स्टिच्युटले यस वर्षको अगस्टमा चन्द्रमाको अध्ययनको लागि पाथफाइडर लुनर अर्विटर मिसन (केपीएलओ) सुरुवात गर्ने जनाएको छ । 

यो मिसनले चन्द्रमाको सतह र वातावरण सम्बन्धित सूचना संकलन गर्नेछ । यसको उद्देश्य भविष्यमा चन्द्रमा जाने मिसनलाई सहयोग गर्नु रहेको छ । 

नासाको व्यापारिक रोबोट्स

सकारकाका अलवा विभिन्न निजी कम्पनी पनि चन्द्रमामा जाने होडबाजीमा छन् । जापानी कम्पनी आइस्पेस यो होडबाजीमा सहभागी छ । 

नासाको एक कार्यक्रम ‘कमर्सियल लुनर पोलोड सर्भिसेस’ मार्फत् केही कम्पनीले चन्द्रमासम्म सामान पुर्‍याउन एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । 

अमेरिकाको ह्युस्टनमा रहेको कम्पनी इडुइटिव मसिन्सले सन् २०२२ को सुरुवातमा नोवी-सी नामक रोबोटमार्फत् चन्द्रमामा सामान पुर्‍याउने योजना बनाएको छ । 

अमेरिकाको पेन्सिल्भेनियामा रहेको अर्को कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले यसै वर्षको मध्यमा एक मिसन सुरु गर्ने जनाएको छ । यो मिसनमार्फत् एउटा ल्याण्डरले केही सामान चन्द्रमाको सतहमा पुर्‍याउने छ । 

मिसन चन्द्रमाको उद्देश्य के हो ? 

डाक्टर सोर्जेटका अनुसार धेरै मिसनको काम चन्द्रमाको वातावरणको बारेमा धेरैभन्दा धेरै जानकारी संकलन गर्नु रहेको छ । 

यो अध्ययनको उदेश्य चन्द्रमामा पठाइने अन्तरिक्षयात्री र सामानलाई तीव्र गतिको हावा र धुलोको कणबाट कसरी बचाउन सकिन्छ भन्ने जानकारी लिनु हो । 

विभिन्न उपकरण चन्द्रमाको सतहमा परीक्षण गर्दा यसले चन्द्रमाको सतहमा पानीको मात्रा छ वा छैन भन्ने पत्ता लगाउन पनि सहयोग गर्नेछ । 

‘हामी चाहन्छौं कि चन्द्रमाको सतहमा मानिस ओर्लन सफल हुन् । तर यसभन्दा अघि आवश्यक उपकरण चन्द्रमामा पुग्न र सही तरिकाले काम गर्न जरुरी छ । यी उपकरणबाट जे जस्ता जानकारी प्राप्त हुन्छ त्यसले मंगल मिसनको लागि योजना बनाउन मद्दत गर्नेछ,’ डाक्टर सार्जेटले भनिन् । 

उनले चन्द्रमाको अध्ययनबारे थप स्पष्ट पारिन्, ‘चन्द्रमा हाम्रो लागि ठूलो प्रयोगशालाजस्तो हो । चन्द्रमामा हामी सबै प्रविधिको प्रयोग गर्न सक्छौं जुन हामी मंगल ग्रहमा गर्न चाहन्छौं । चन्द्रमा मात्र हामीबाट तीन दिनको दुरीमा छ, तर मंगल ग्रहमा पुग्न हामीलाई कम्तीमा पनि ६ महिना लाग्छ ।’ 

यसैकारण अहिले धेरैको ध्यान चन्द्रमामा केन्द्रित भएको भनाइ उनको छ ।
  
(बिबिसीबाट साभार) 

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ७:४७:३२,   अन्तिम अपडेट : पुस २६, २०७८ साेमबार ७:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया