प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारलाई जनही ३ लाख उपलब्ध गराउने

मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिद परिवारलाई प्रदेश २ सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

आगामी माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा सहिद परिवारहरुलाई जनही ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । 

विभिन्न समयमा भएका मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ५७ जनाको परिवारलाई मधेसी सहिद प्रतिष्ठानको सिफारिसबमोजिम सरकारले जनही ३ लाखका दरले आर्थिक सहयोग प्रदान गर्ने मन्त्री साहले बताए । 

उनले सहिद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रदान गर्न लागिएको जानकारी दिए ।

मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पनि आर्थिक सहयोग उपलब्ध गराइने मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरी २५ हजारदेखि ३ लाखसम्म रकम प्रदान गरिने जानकारी दिए ।

मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रोपटक पर्साको वीरगञ्जमा र तेस्रोपटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको प्रदेश २ सरकारले यसपटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाउने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १८:४६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया