'कर्णालीमा दुर्घटना बढी हुनुमा भूगोल मात्रै कारण होइन'

कर्णाली प्रदेशमा बर्सेनि सवारी दुर्घटनाका कारण थुप्रै नागरिकहरुले ज्यान गुमाएका छन् । दुर्घटनाकै कारण अंगभंग हुनेहरुको संख्या पनि उस्तै छ । कर्णाली राजमार्गलाई त मृत्युमार्गकै नाम दिइएको छ । भौगोलिक विकटता, पुराना सवारी साधन, चालकको लापरबाही, ट्राफिक प्रहरीको व्यवास्था र मानवमैत्री सडक नहुनुले पनि सवारी दुर्घटना बढेको अनुमान धेरैको छ । गत पाँच महिनामा कर्णाली प्रदेशभर भएका १ सय ६८ सवारी दुर्घटनामा १ सय ८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ ।  

प्रदेशका विभिन्न जिल्लामा दैनिक हुने दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयले कस्तो योजना बनाएको छ, सवारी दुर्घटना न्यूनीकरणमा देखापरेका चुनौती र सवारी दुर्घटना न्यूनीकरण गर्न कसले कस्तो भूमिका खेल्नुपर्छ ? लगायत विषयमा फरकधारका कर्णाली प्रदेश संयोजक सहकर्मी सीता वलीले कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसँग गरेको कुराकानी : 

प्रदेशमा ट्राफिक व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

म कर्णाली प्रदेशको ट्राफिक प्रमुख भएर आएको खासै धेरै समय भएको छैन । तर पनि मैले कार्यभार सम्हालेलगत्तै कर्णालीका पाँच जिल्लाको भ्रमण गरिसकेको छु । विशेष गरी बढी दुर्घटना भइरहने र मृत्युमार्गका रुपमा चिनिएको कर्णाली राजमार्गमा पर्ने जिल्लामा मैले भ्रमण गरेको हुँ । मुगु, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा मैले भ्रमण गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी, स्थानीय नागरिक, सम्बन्धित स्थानीय तहलगायतसँग छलफलसमेत गरेको छु । 

यसका अलवा ट्राफिक प्रहरीले नियमित गर्ने काम सवारी तथा मापसे चेकजाँच, सवारी आवागमनमा सहजता, दुर्घटनापछि उद्धारलगायत काम गरिराखेका छौँ । वास्तवमा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका कम हुन्छ । सडक सुरक्षामा विभिन्न निकाय जस्तै ः विद्युत्, खानेपानी, सामुदायिक सेवाकेन्द्र, स्थानीय तह, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी सबैको उत्तिकै भूमिका हुन्छ । तर, पनि ट्राफिक प्रहरीले मुख्य भूमिका निर्वाह गरिरहेको छ । 

ट्राफिक व्यवस्थापनका लागि जिल्ला भ्रमणबाट सम्बन्धित जिल्लामा समेत कार्यायोजना बनाएको छु । यसको कार्यान्वयन सुर्खेत जिल्लाबाट भइसकेको छ । सवारी चालकलाई अभिमुखीकरण, चालकसँग एक मिनेट, यात्रीसँग एक मिनेट, कर्मचारीसँग ट्राफिक प्रहरीजस्ता जनचेतनामुलक कार्यक्रमको सुरुवात भइसकेको छ । सुर्खेतबाट सुरु भएको यो अभियान अन्य जिल्लामा समेत सुरु गर्न लागिएको छ । 



जिल्ला भ्रमणका क्रममा कस्ता गुनासा आए ?

थुप्रै गुनासा नागरिक तथा अन्य सम्बन्धित निकायबाट आएका छन् । ती गुनासा समाधानका लागि समेत मैले पहल गरेको छु । सरकारी सवारीसाधन दुरुपयोग, सडकमा पानी लगाइदिने, गाँजा खाएर सवारी चलाएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, यातायात व्यवसायीले महँगो भाडा असुल गरेको, गन्तव्यभन्दा बढी भाडा असुल गरेको, साना झोलाको समेत भाडा असुल गरेको गुनासा आएका छन् । सडकहरुमा घर निर्माणका सामग्री थुपार्ने, बढी यात्रु बोक्नेलगायत गुनासा आएका छन् । नागरिकस्तरबाट आएका गुनासा हल गर्नका लागि कार्ययोजना तयारी गरी काम भइरहेको छ ।  



कर्णालीमा सवारी दुर्घटना अत्यधिक बढी छ । यसको कारण के देख्नुहुन्छ ?

कर्णालीमा अत्यधिक सवारी दुर्घटना हुनुमा थुप्रै कारण छन् । जसको मुख्यकारण मानवमैत्री सडक नहुनु नै हो । त्यसमा पनि कर्णालीमा चल्ने सवारी साधन धेरै पुराना छन् । पुराना सवारी साधन चलाउने र त्यसको कन्डिसन नै नहेरी यात्रु बोक्ने गर्नाले नै बढी मात्रामा सवारी दुर्घटना भएको पाइएको छ ।  

कर्णालीको भौगोगिक विकटता दुर्घटनाको कारण पनि भन्ने गरिन्छ । तर, कर्णाली आफैँमा दुर्घटनाको कारण नभई मानवीय कारण हो । साँघुरा सडक, पुराना सवारी साधन, लापरबाहीकै कारण दुर्घटना हुनेगरेको मैले पाएको छु । 

चालकमा अप्ठ्यारो बाटो भए पनि म सधैँ हिँडेकै त हो नि भन्ने खालको सोच, दुर्घटना त अरुको सवारी पो हुन्छ नि वा अरुले नै ज्यान गुमाउने त हो नि भन्ने खालको सोचले पनि लापरबाही बढेको देखिन्छ । यसलाई रोक्न सके दुर्घटनाको दर शून्यमा झार्न सकिन्छ । 
    
कर्णाली प्रदेशमा कस्ता खालका दुर्घटना बढी भएको पाउनुभएको छ । खास कुन–कुन जिल्ला दुर्घटनाको बढी जोखिममा छन् ?   

लापरबाही भयो भने सबै ठाउँमा दुर्घटना हुने हो । यो जिल्ला ऊ जिल्ला भन्नुभन्दा पनि कहाँ कसले के कमजोरी गरेको छ । कहाँ बढी मानवीय त्रुटि छ भन्ने कुरा महत्वपूर्ण छ । अर्को कुरा कर्णालीको माथिल्लो जिल्लामा ठूला सवारी साधन दुर्घटना हुने गरेका छन् भने सहरी क्षेत्रमा साना सवारी साधन तुलनात्मक रुपमा दुर्घटना हुने गरेको पाइएको छ ।
 
केही महिनापहिले मुगु बस दुर्घटनामा ३३ जनाले ज्यान गुमाउनुभयो । यस्ता धेरै दुर्घटना छन्, जुन संख्याको हिसाबले एउटा दुर्घटना भए पनि सयौँको ज्यान गुमेको छ । त्यसैले कुन जिल्ला जोखिमभन्दा पनि कहाँ लापरबाही बढी भयो भन्ने कुरासँग दुर्घटना सम्बन्धित छ । 

ट्राफिक व्यवस्थापनका चुनौती के–के छन् ?

चुनौती थुप्रै छन् । भनेबमोजिम ट्राफिक प्रहरी जनशक्ति छैन, ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री पर्याप्त मात्रामा छैनन्, मानवमैत्री सडक छैन, पुराना सवारीसाधन छन् । नागरिकमा समेत ट्राफिक नियमको पालना गर्नुपर्छ भन्ने भावना छैन । सबै दोष ट्राफिक प्रहरी, चालकलाई दिने प्रचलन छ । तर, नागरिकमा समेत ट्राफिक सचेतनासम्बन्धी चेतना हुनुपर्छ । 

सवारी दुर्घटना हुनुमा ट्राफिक प्रहरीलाई मात्र दोषी देखाइन्छ नि ! यसमा तपाईंको धारणा के छ ? 

ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण तथा प्रत्यक्ष भूमिका खेलेको प्रहरीलाई नागरिकले दुर्घटनाको दोषी देख्नु स्वाभाविक हो । तर, सवारी दुर्घटना हुनुमा ट्राफिक प्रहरी दोषी छैन । यसमा सरोकार राख्ने विभिन्न निकाय दोषी छन् । सडक निर्माणको भूमिका खेल्ने निकाय, विद्युत्, खानेपानी, सर्वसाधारण, चालक सबैको भूमिका सवारी दुर्घटना हुनुमा छ । जहाँसम्म ड्युटीमा खटिएको ट्राफिक  प्रहरीले कडाइ नगरेको कारण दुर्घटना हुन्छ भने नागरिकले दोषी देख्नु स्वाभाविक हो । अहिले हामीहरुले ट्राफिक  प्रहरीलाई घुस दिन खोज्नेलाई समेत मुद्दा चलाउने कामको सुरुवात गरिसकेका छौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेको खण्डमा दुर्घटना न्यूनीकरण हुन्छ । 

अन्तमा केही भन्न चाहनुहुन्छ ? 

सवारी दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्छ । सबैभन्दा बढी तीव्र गति नियन्त्रण गर्नुपर्छ । लभ ३० को अवधारणालाई प्रयोग गर्न सकियो भने दुर्घटना भएका घटनामध्ये ९० प्रतिशतको मृत्यु हुने दर कम हुन्छ । प्रतिघण्टा ३० किलोमिटर सवारी गुडाउनु नै लभ ३० को अवधारणा हो । 

त्यस्तै, सवारीको कन्डिसन हेरेर सवारी चलाउने, सिट क्षमताअनुसार यात्रु राख्ने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी नचलाउने, कर्णाली राजमार्गमा सिसिटिभी क्यामेरा जडान गर्ने गर्न सके दुर्घटना कम गर्न सकिन्छ । सवारीसाधन चलाउँदा सबैले आफ्नो र अरुको जीवन सुरक्षित गर्नुपर्छ भन्ने धारणा बनाउनुपर्छ ।

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १८:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया