खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर : सिके राउतको डरले कार्यालय प्रमुखमा जान कोही चाहँदैनन्
तीन महिनादेखि काम ठप्प

सिके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुखलाई दुर्व्यवहार गरेयता सो कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार भएको घटनापश्चात करिब तीन महिनादेखि कार्यालय प्रमुखको अभावका कारण आर्थिक र प्रशासनिकदेखि आयोजनाको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।

कार्यालय प्रमुखविहीन भएकोले सो कार्यालयमा चालू आयोजनाका सम्पूर्ण कामकाज ठप्प हुनुका साथै कर्मचारीले तीन महिनादेखि तलब–भत्तासमेत खान पाएको छैनन् भने उनीहरुलाई कार्यालयमा पानी खान समेत समस्या भएको छ ।

आयोजनाका सिनियर इन्जिनियर गंगाप्रसाद महतोले कार्यालय प्रमुख नहुँदा आयोजनाको कार्य मात्रै ठप्प नभई आफूहरुको तलब भत्ता रोकिनुका साथै पानी खान र गाडी चढ्नसमेत समस्या भएको बताए । 

उनका अनुसार चालू आर्थिक वर्षमा करिब दुई दर्जन चालू आयोजनाको कामका साथै सम्पूर्ण आर्थिक कारोबार ठप्प हुन गएको छ । सिके राउतका कार्यकर्ताले कार्यालयमा रहेको चारपांग्रे गाडीको रिमोटसहित गाडीमा तोडफोड गर्दा मर्म्मतसम्भार हुन नसकेकोले गाडी चढ्न पनि समस्या भएको छ ।

आयोजनाका अर्का इन्जिनियर पुष्पराज सिंहले आयोजनाका ठेकेदारहरु दिनहुँ नयाँ कामको सम्झौता, बक्यौता भुक्तानी र चालू आयोजनाको काम सुचारु गर्न धाइरहेको र विगत लामो समयदेखि प्रमुख नहुँदा आयोजनाले तिर्न बाँकी रहेको भुक्तानी रकम, योजना सञ्चालनका लागि दिनुपर्ने पेस्की रकम, नयाँ योजना सम्झौता, मर्मत सम्भारका योजना, कार्यालयमा कार्यरत कर्मचारीको तलब भत्तालगायत रोकिएकाले निकै समस्या भएको बताए ।



उनले भने,‘ तिहारजस्ता पर्वमा हामीले तलब पाउन सकेनौँ । निकै बिजोग भएको छ । कार्यालय जान गाडीमा आफ्नै पैसाले इन्धन हाल्नुपरिरहेको छ भने पानीसमेत घरबाटै लिएर खानुपर्ने अवस्था छ ।’

सिनियर इन्जिनियर महतोले कार्यालय प्रमुख नहुँदा सञ्चालित आयोजनाको काम र आर्थिक कारोबार ठप्प भएको विषयमा पटक–पटक सम्बन्धित विभाग र मन्त्रालयमा जानकारी गराउँदा समेत अहिलेसम्म कुनै पनि प्रमुख नपठाएको बताए । विभाग र मन्त्रालयलाई लिखित तथा मौखिक रुपमा जानकारीका साथै आफैँ गएर कैयौँपटक ताकेता गर्दा पनि कुनै चासो नलिइएको गुनासो उनले गरे ।



गएको कात्तिक ४ गतेका दिन जनमत पार्टीका कार्यकर्ताले पार्टी अध्यक्ष सिके राउतको घर जाने बाटोमा बाटो निर्माण नगरेको निहुँमा निमित्त प्रमुख कुशवाहालाई कार्यालयमा दुर्व्यवहार गर्नुका साथै अर्धनग्न गरी जनकपुरधाम बजार क्षेत्रमा नगरपरिक्रमा गराएका थिए ।

कर्मचारी स्रोतका अनुसार निमित्त प्रमुख कुशवाहासँग भएको दुर्व्यवहारको घटनापश्चात् यहाँ कुनै पनि कर्मचारी प्रमुखको रुपमा आउन मानिरहेका छैनन् ।

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १९:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया