सुर्नया गाउँपालिकामा पनि एम्बुलेन्स

बैतडीको सुर्नया गाउँपालिकामा पनि अब एम्बुलेन्स उपलब्ध भएको छ । गाउँपालिकाका लागि खरिद गरिएको एम्बुलेन्स जिल्लामा ल्याइसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

खरिद प्रक्रिया सुरु गरेको झण्डै एक वर्षपछि एम्बुलेन्स ल्याइएको हो । कोरोना भाइरसका कारण एम्बुलेन्स खरिद प्रक्रियामा ढिलाइ भएको प्रमुख भट्टले बताए । 

बैतडी क्षेत्र नं (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि १२ लाख बजेट विनियोजन गरेका थिए । 

सोही बजेटमार्फत स्वास्थ्य कार्यालयले एम्बुलेन्स खरिद गरेको हो । बिहीबार गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको प्रदेशसभा सदस्य भट्टले बताए । 

जिल्लाको सुर्नया गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई सास्ती हुँदै आएको थियो । स्थानीयको मर्कालाई ध्यानमा राखेर आफूले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एम्बुलेन्सका लागि बजेट विनियोजन गरेको र अब स्थानीयलाई सहज हुने प्रदेशसभा सदस्य भट्टले बताए । 

गाउँपालिकाका लागि एम्बुलेन्स खरिद भएपछि अब अन्यत्र रेफर गर्नुपर्ने आकास्मिक बिरामीका लागि सहज हुने विश्वास गरिएको छ । योसँगै जिल्लाका आठ स्थानीय तहसँग आफ्नै एम्बुलेन्स भएका छन् । सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य प्रमुख भट्टले बताए ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १८:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया