बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थीको शव फेलापरेको छ । गएको मंसिर १४ गतेदेखि घरबाट हराएका ३० वर्षीय अवस्थीको शव घरनजिकैको गुफामा फालेको अवस्थामा फेला परेको हो ।
अवस्थीको शव सडेको अवस्थामा घरनजिकैको रहेको जंगलको गुफामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
केही दिनअघि आफूलाई विप्लव समूहले अपहरण गरेको भनेर नाटक गरेका सुर्नया गाउँपालिका ६ कलालबसेका हरिश अवस्थीले नै डम्मर अवस्थीको हत्या गरेको प्रहरीले जनाएको छ । हरिशले दिएको लोकेसनको आधारमा खोजी गर्दा डम्मरको शव फेलापरेको र उनले नै हत्या गरेको पुष्टि भएको प्रवक्ता ओझाले बताए ।
उनले भने ‘अहिले हाम्रो हिरासतमा रहेका हरिशले भने अनुसार नै शव फेला पर्यो । उनले हत्या गरेको पनि स्वीकार गरिसकेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।’
करिब १५ फिट गहिरो गुफाबाट डम्मरको शव निकालिएको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रवक्ता ओझाले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । डम्मरको हत्या एक्लै हरिशले गरेका थिएकी अरु पनि सहभागी थिए भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एकै ठाउँ बस्ने मानिसको हत्या भएपछि अहिले गाउँमा त्रास फैलिएको छ । डम्मरको हत्यामा संलग्न हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक समेत हुन् । डम्मरको हत्यापछि पक्राउ पर्ने डरले हरिशले अपहरणको नाटक गरेको प्रहरीको निष्कर्ष छ ।
डम्मर र हरिशको घर १० मिनेटको दूरीमा रहेको छ । उनीहरुको परिवारमा केही वर्षपहिलादेखि खटपट रहेको बुझिएको छ । हरिशले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि राखेका थिए ।
उनले सो स्टाटस अहिले भने मेटाइसकेका छन् ।
यस्तो थियो उनको स्टाटस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।