ई–पासपोर्ट बनाउन सास्ती : सेवाग्राहीको गुनासो - कर्मचारीले दुःख दिए, विभाग भन्छ - एकैपटक दुइटा सिस्टम चल्दा समस्या भयो

लकडाउन खुलेलगत्तै छुट्टीमा आएका उदयपुरका श्यामराज पोखरेलको राहदानी नवीकरण नहुँदा फेरि रोजगारीका लागि साउदी अरब जान पाइरहेका छैनन् । आफूसँग भएको एमआरपी पासपोर्टको म्याद ५ महिनामा सकिने भएपछि उनी नवीकरणका लागि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । त्यहाँ दुई दिनसम्म लाइनमा बस्दा पनि इ–पासपोर्ट बनाउन सकेका छैनन् । उनलाई प्रत्येक दिन 'आज नभ्याइने' भन्दै फर्काइयो ।

सरकारले ई–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने बताएको छ । पोखरेलले राष्ट्रिय परिचयपत्रको नम्बर लिएर काठमाडौं आएर पासपोर्ट बनाउने पालो कुरेका हुन् । १७ जनवरीका लागि कम्पनीले उनको टिकट व्यवस्थापन गरेको छ भने इ–पासपोर्टका लागि २३ जनवरीमा मात्रै राहदानी विभागले बोलाएको छ ।

उनलाई कम्पनीमा जान पासपोर्ट कुनै पनि हालतमा नवीकरण गर्नुपर्ने बाध्यता छ ।  उनी भन्छन्, ‘म दुई दिन बिहानदेखि लाइन बसेँ, तर मलाई अब २३ तारिखमा मात्रै तपाईंको पालो आउँछ भने । मेरो भिसा, कम्पनीले दिएको टिकट सबै देखाइसकेँ तर पनि मैले ई–पासपोर्ट बनाउन पाइनँ । यही कामको लागि लागेको ८–९ दिन भइसक्यो ।’

उनले सरकारप्रति वितृष्णा पोख्दै भने, ‘यो देश हामीजस्ता सर्वसाधारणका लागि होइन रहेछ, यहाँ नेताका आसेपासेलाई मात्र काम गर्न सजिलो छ ।’

यता, तनहुँबाट अर्जेन्ट ई–पासपोर्ट बनाउन काठमाडौं आएका लक्ष्मण मल्लको गुनासो पनि उस्तै छ । उनी त झन् राहदानी विभागले सेवाग्राहीलाई जानीजानी दुःख दिने गरेको गुनासो गर्छन् ।

‘हिजै ई–पासपोर्ट बनाउनका लागि आएको थिएँ । फेरि आज बिहान ५ बजेबाट लाइन बस्दा यति जनालाई पासपोर्ट दिने, यतिले पाउँछन् केही भनेनन्, अहिले दिउँसो १ बजेपछि आजलाई सकियो भन्छ । अब हामी के गर्ने ? खाना पनि नखाइ लाइन बसेको तर अहिले आएर यस्तो भन्छ । कर्मचारीसँग कुरा गर्न प्रहरीले दिँदैन । ’



उनले कि टोकन दिनुपर्ने नत्र बिहानै यति जनालाई पासपोर्ट बाँडिन्छ भनेर जानकारी गराउनु पर्ने माग गर्छन् । 'हामी गाउँबाट आएको मान्छेलाई काठमाडौंमा बस्ने कर्मचारीले सधैँ हेप्छन् । गेटमा जानेबित्तिकै प्रहरीले लौरो बोकेर आइहाल्छ,’ गहभरी आँसु पार्दै मल्लले भने ।

मंगलबार चितवनबाट पासपोर्ट बनाउन आएकी लक्ष्मी विश्वकर्माको दुःख पनि उस्तै छ । दुई दिन लगाएर राष्ट्रिय परिचयपत्रको नम्बर लिएर काठमाडौं आएकी लक्ष्मीले दुई दिनभित्र ई–पासपोर्ट लिने आस गरेकी थिइन् । तर, काठमाडौंमै फेरि दुई-चार दिन लाइन बस्नुपर्ने देखिएपछि उनी अकमक्क परिन् ।



उनले नेपालको सरकारी प्रणालीप्रति प्रश्न गरिन्, ‘नेपालको सिस्टम नै हामीले बुझ्न सकेका छैनौँ, जनताका लागि सुविधा हुने खालको पो सिस्टम हुनुपर्छ, हाम्रो काम जहाँ पनि लाइन मात्रै बस्ने होर ?’

उनले युवा नेपाल बस्न नसक्नुको कारण पनि सरकारको झन्झटिलो काम गर्ने तौरतरिका रहेको औंल्याइन्  ।  विकले थपिन्, ‘कलेजको फि तिर्न पनि लाइन, सरकारलाई पैसा तिर्न पनि लाइन, मतदाता बन्न पनि लाइन, पासपोर्ट बनाउन पनि लाइन, नेतालाई काहिँ लाइन बस्न नपर्ने हामीलाई मात्रै किन दुःख ?’ यति भन्दा उनको आँखाबाट आँशु खसिसकेको थियो ।

नवलपुर कावासोतीका दिनेश सापकोटाको पनि समस्या यस्तै छ । ‘दुई दिनपछि फ्लाइट छ । तर, पासपोर्ट नवीकरण नगरी जान मिल्दैन, सबैको  डकुमेन्ट देखाउँदा पनि भित्र जान दिँदैन । लठ्ठी हान्छु भनेर भन्छन् हामी पनि यही देशका मान्छे हौं, हाम्रो समस्या कसले बुझ्छ' उनी निरास हुँदै भन्छन्, 'विदेश नगई खान-लाउन पुग्दैन, विदेश जान्छु रेमिट्यान्स पठाउँछुभन्दा पनि हाम्रो यस्तो हालत छ ।’ अत्यावश्यक परेको बेला पनि कसैले सहयोग नगरेको उनको दुखेसो छ ।

ई–पासपोर्ट बनाउनका लागि उनीहरूजस्ता सयौँ युवा काठमाडौंमा आउने गरेका छन् । तर, उनीहरू सबैको गुनासो उस्तै छ ।  ई–पासपोर्ट लिन भएको ढिलाईका कारण खाडीसहित अन्य मुलुकमा श्रम गर्न जानेहरूको रोजगारी गुम्ने डर उनीहरूलाई छ ।

राहदानीको लागि लाइन बस्नेहरू अनलाइन फारम भरे तापनि त्यसको खास काम नभएको तर्क गर्छन् । ‘फारम भरेर काम छिटो भए पो अनलाइन फारमको महत्त्व हुन्छ, फारम बोकेर फेरि लाइन बस्नुपर्ने भएपछि यसको नाटक किन ?’ उनीहरूको प्रश्न छ ।

एकैपटक दुइटा सिस्टम चल्दा समस्या भयो : विभाग

सेवाग्राहीले चर्को आक्रोश व्यक्त गरे तापनि राहदानी विभागले भने सेवामा गुणात्मक रूपमा सुधार भइरहेको बताएको छ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल दैनिक रूपमा सेवामा सुधार गर्दै लगिएको बताउँछन् ।  

उनले एकैपटक दुईवटा सिस्टमले काम गरेकाले केही ढिलाइ भएको तर्क गरे । ‘अहिले ई–पासपोर्ट र एमआरपी दुवै एकैचोटि जारी गरिरहेका छौँ । जिल्लाबाट भरेका एमआरपी पनि वितरण भइरहेका छन् भने नयाँ पासपोर्ट ई–पासपोर्ट बनेर आइरहेका छन्,' उनले भने, 'एकैचोटी दुई सिस्टमले काम गरिरहेकोले केही समस्या भएको हो । अर्को कुरा सबै जिल्लामा ई–पासपोर्ट सुरु भइनसकेकोले काठमाडौंमा चाप बढेको हो ।'

बुधबारसम्म २७ जिल्लामा इ–पासपोर्ट सुरु भइसकेको उनको भनाइ छ । अबको एक महिनाभित्र सबै जिल्लाबाट सेवा सुरु गर्ने तयारी भएको उनले बताए । 

सेवाग्राहीले कुरा नबुझ्दा पनि केही समस्या भएको उनी बताउँछन् । ‘पहिले टिकट काटेर पासपोर्ट बनाउन आउने होइन, पासपोर्ट बनाएर मात्रै टिकट काट्ने हो' उनले भने ।

एमआरपीभन्दा ई–पासपोर्टमा सुरक्षाको धेरै प्रावधान समावेश गरिएको बताउँदै केही सेवाग्राहीको राहदानी अनुसन्धानमा समेत परेकाले ढिलाइ भएको उनले बताए । आकस्मिकबाहेक अरूले काठमाडौंमा आएर हतारहतार पासपोर्टका लागि भीड नगर्न उनले आग्रह गरे ।

भिडियो

  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार २१:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया