सार्वजनिक ठाउँमा खोपकार्ड अनिवार्यपछि खोप केन्द्रमा भिड

कैलालीको धनगढी उपमहानगरपालिक–५ तारानगर बस्ने रमेशसिंह धामी खोप केन्द्रमा विहान ९ बजे नै पुगे । बिहीबार धनगढी उपमहानगरको गेटसँगै जोडिएको खोप केन्द्रमा पुगेका उनले १२ बजेपछि मात्र पालो पाए ।

यसअघि कोरोना खोप वेवास्ता गर्दै आएका उनले सरकारले सार्वजनिक ठाउँमा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य भनेपछि उनी केन्द्रमा पुगेका हुन् । अहिलेसम्म तपाईले किन खोप नलगाउनुभएको प्रश्नमा उनले भने, ‘व्यापारी मान्छे हुँ । फुर्सद पनि हुँदैन आवश्यक पनि ठानेन । तर, अहिले सार्वजनिक यातायातमा समेत खोप कार्ड अनिवार्य भनेपछि पसल बन्द गरेर भए पनि विहानै खोप केन्द्रमा आए ।’ 

यसअघि धनगढी उपमहानगरपालिकाले खोप लगाइदिन पटक–पटक आग्रह गर्दा पनि धेरै स्थानीयले चासो देखाएका थिएनन् । तर केही दिनयता भने धनगढीका विभिन्न ठाउँमा राखिएका खोप केन्द्रमा खोप लगाउनेको ठूलो भिड देखिने गरेको छ ।

 ‘खोप लगाउन आवश्यक ठानेको थिएन, के गर्नु सार्वजनिक ठाउँमा सेवा लिन जाँदा कार्ड अनिवार्य भनिदियो’, स्वास्थ्यकर्मीसमेत रहेका एक व्यक्तिले भने,  ‘त्यसपछि बाध्य भएर लाइनमा बसेर भए पनि खोप केन्द्र आएको हो ।’ 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसीसी)को बैठकले आउँदो ३ माघदेखि सार्वजनिक ठाउँहरू सरकारी कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेपछि यहाँ पनि खोप लगाउनेको संख्या बढेको हो ।



कैलालीमा विभिन्न स्थानी तह र स्वास्थ्य कार्यालयले विभिन्न ठाउँमा खोप केन्द्र राखेको छ । नेपाल भारत सीमामा समेत खोप केन्द्र राखिएको छ ।

कैलालीमा दिनहुँ संक्रमितको संख्या बढ्न थालेपछि जिल्लामा १२ बुँदे आदेशसमेत जारी गरिएको छ । संक्रमण दर नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको हो । 



कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सिसिएमसीको सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

आदेश लागू भएपछि एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाइयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने आदेशमा उल्लेख छ । 

आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरेको छ । शिक्षा मन्त्रालयको निर्देशन बमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।

त्यस्तै, सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ । 

अक्सिजन सिलिन्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिन्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ । 

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १२:४०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया