राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमाले-राप्रपा गठबन्धन

राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले) र राप्रपाबीच गठबन्धन हुने भएको छ । राप्रपाको पदाधिकारी बैठकले सत्तारूढ गठबन्धनसँग चुनावी गठबन्धन नगरेर एमालेसँग गर्ने निर्णय गरेको हो ।

गठबन्धनका लागि सम्वाद गर्ने जिम्मेवारी उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पाएका थिए । उनले राजनीतिक एजेण्डाका आधारमा एमालेसँग गठबन्धन गर्ने निर्णय पदाधिकारी बैठकबाट गरिएको फरकधारलाई बताए । 

एमालेले राप्रपालाई अन्य क्लस्टरको उम्मेदवार बनाउन दिने पनि भएको छ । यसो भएपछि राप्रपाले अमरबहादुर विष्टलाई उम्मेदवार बनाउने भएको छ  । राप्रपाले महिला तर्फबाट रञ्जु प्याकुरेललाई पनि उम्मेदवार बनाएको थियो । तर, एमालेले महिला क्लस्टर दिएन । त्यसो भएपछि राष्ट्रियसभा सदस्यको उम्मेदवार हुनबाट प्याकुरेल बञ्चित हुने भएकी छिन् । 

सत्तारूढ गठबन्धनले पनि राप्रपालाई चुनावी गठबन्धनको प्रस्ताव राखेको थियो । राप्रपाले भने अस्वीकार गर्‍यो । प्रदेश १ मा राप्रपाका स्थानीय तहमा चारजना र प्रदेशमा एकजना जनप्रतिनिधि छन् । उनीहरूको कूल मतभार १२० छ । 

यही मतभार प्रदेश १ मा हुने राष्ट्रियसभा निर्वाचनमा निर्णायक छ । निर्णायक मतभार रहेको राप्रपाको समर्थन अन्ततः एमालेले पाएको हो । यससँगै एमाले सत्तारूढ गठबन्धनभन्दा बलियो भएको छ । एमाले सांसद घनश्याम खतिवडाले प्रदेशमा राप्रपाको समर्थनले गठबन्धनलाई पराजित गर्न सकिने गणित भएको बताएका छन् । 

राष्ट्रियसभा निर्वाचन १२ माघमा हुँदैछ । एमालेका अगमप्रसाद वान्तावा, परशुराम मेघी गुरुङ र नैनकला ओझाको पदावधि २० फागुनमा सकिने भएपछि उनीहरूको सिटमा निर्वाचन हुन लागेको हो । उनीहरू चार बर्से अवधिका लागि २०७४ फागुनमा निर्वाचित भएका थिए । 



अन्य कोटा राप्रपालाई पर्दा बस्नेत पछि हट्दै 

एमालेले महिलाबाट सुमित्रा भण्डारीलाई उम्मेदवार बनाएको छ । अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिबाट सोनाम ग्याल्जेन शेर्पालाई र अन्यबाट गोपाल बस्नेतलाई उम्मेदवार बनाएको हो ।



तर, गठबन्धन गर्ने क्रममा राप्रपालाई अन्य क्लस्टर परेपछि भने एमालेले अल्पसंख्यक र महिला क्लस्टरबाट मात्रै उम्मेदवार बनाउने भएको हो । अन्य क्लस्टरका उम्मेदवार बस्नेत भने पछि हट्नुपर्ने भएको छ ।

एमालेभित्र भण्डारीलाई पछि हटाउने प्रयास पनि नभएको होइन । तर, यसअघि राजदूत नबनाएको र जसरी भए पनि राष्ट्रियसभा सदस्य बनाउनुपर्ने भन्दै भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै चर्को दबाब दिएकी थिइन् । अन्ततः ओली उनलाई उम्मेदवार बनाउन तयार भएका हुन् । 

भाग्यशाली राप्रपा 

प्रतिनिधिसभामा एक सिट जितेको राप्रपा राष्ट्रियसभा निर्वाचनमा भाग्यशाली दल बन्ने देखिएको छ । कारण– एमालेसँग प्रदेश १ मा गठबन्धन हुनु हो ।

गठबन्धनपछि सत्तारूढ गठबन्धनभन्दा बलियो भएको छ । सोही कारण एमाले–राप्रपा गठबन्धनले प्रदेश १ मा ‘क्लिन स्विप’ गर्नसक्ने अवस्था देखिन्छ । त्यसका लागि अन्तर्घात नभइ एमाले–राप्रपाको भोट सर्लक्कै आफ्नै टिमका उम्मेदवारलाई खस्नुपर्ने हुन्छ । यसो हुँदा राप्रपाको प्रवेश राष्ट्रियसभामा पनि हुनसक्ने अवस्था छ । 

प्रतिनिधिसभामा भने यसअघि नै राप्रपाको एकजना सांसद छन् । देश संघीय प्रणालीमा गएपछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट निर्वाचन जित्ने राजेन्द्र लिङ्देन नेता हुन् । 

उनले तत्कालीन नेकपाको सहयोगमा निर्वाचन जितेका थिए ।

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १३:१०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया