राजर्षि जनक माविको ३ बिघा १५ कठ्ठा जग्गाको लालपुर्जा बदर, जिल्ला अदालतको निर्णयविरुद्ध विद्यालय उच्च अदालत जाने

जिल्ला अदालत धनुषाले जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित राजर्षि जनक माध्यमिक विद्यालयको नाममा ६ कठ्ठा साढे ६ धुर जग्गा मात्र हुने आदेश गरेको छ । 

अदालतले कित्ता नम्बर ५३ को ३ बिघा १५ कठ्ठा ५ धुर जग्गाको लालपुर्जा बदर गरी ६ कठ्ठा साढे ६ धुर जग्गा विद्यालयको हुने आदेश गरेको हो । 

३ बिघा १५ कठ्ठा ५ धुर जग्गाबाट विद्यालयको ६ कठ्ठा साढे ६ धुर लगत कट्टा गरी व्यक्तिको नामको नयाँ लालपुर्जा बनाउन अदालतले आदेश दिएको छ ।

प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले विद्यालयको जग्गा कीर्ते गरेको आरोपमा दूषित लालपुर्जा बदर गरी पाऊँ भनी ०७५ सालमा जिल्ला अदालत धनुषामा मुद्दा दिएका थिए । झन्डै दुई वर्षदेखि विचाराधीन सो मुद्दाको बुधबार अन्तिम सुनुवाइ सम्पन्न भएको हो ।

यस सम्बन्धमा प्रधानाध्यापक यादवले जिल्ला अदालतले अन्यायपूर्ण निर्णय गरेको बताएका छन् । उनले आफूले व्यक्तिको नाममा रहेको दूषित लालपुर्जा बदर गर्न मुद्दा दिए पनि अदालतले विद्यालयसँग नै अन्याय गरेको आरोप लगाए । 

यादवले आफूहरुलाई जिल्ला अदालतको निर्णयसँग सन्तुष्टि नभएकोले अब उच्च अदालतमा जाने बताएका छन् । 



झण्डै ६ दशकपूर्व निर्माण गरिएको सो विद्यालय यसक्षेत्रकै पुरानो विद्यालयमध्येको एक हो । यो विद्यालय र विद्यालय मातहतको पोखरी सोही वडाका वडाध्यक्ष रामेश्वर महासेठले स्थानीयबासीलाई छलेर कीर्ते लालपुर्जा बनाएको स्थानीयले आरोप लगाउँदै आइरहेका थिए ।

२०१५ सालमा स्थापना भई विधिवत् रुपमा २०१७ सालदेखि पठनपाठन सुरु भएको विद्यालयको सम्पत्तिउपर सोही वडाका वडाध्यक्ष रामेश्वर महासेठ परिवारले नजर गाडेको स्थानीयवासी र प्रधानाध्यापकको आरोप छ ।
 
तत्कालीन समयमा खाली सार्वजनिक जग्गामा पञ्चायत भवन, प्रहरी चौकी र स्कुल एकसाथ सुरु भएको र विद्यालय परिसरमा रहेको पोखरीसमेत २०२६ सालमा नापी कार्यालयको टोली आउँदा विद्यालयको नाममा नापनक्सा भएको थियो । 



स्थानीय समाजसेवी भोगेन्द्र रायले आफ्नो बाबुबाजेले स्थानीयको सहयोगमा २०१७ सालमा विद्यालय स्थापना गरेको बताए । पछिल्लो समयमा आएर महासेठ परिवारले तत्कालीन विद्यालयका प्रधानाध्यापक, तत्कालीन प्रधानपञ्च स्वयं भएको अनुकूल पारेर विद्यालयको जग्गाको लालपुर्जा कीर्ते गरेको आरोप लगाउँदै आइरहेका थिए ।

पहिलेदेखि नै दनुवार समुदायको नाममा रहेको उक्त जग्गा पछि तीन चरणमा १० जनाको नाममा नामसारी भयो । पहिलो चरणमा झल्लु महासेठ, सुबन्त, मुकुन्द र मणि महासेठको नाममा नामसारी भएको थियो । उनीहरूले ०४६ सालमा फेरि सोही जग्गा रामलखन महासेठ, जगदीश महासेठ, राजदेव महासेठ र चन्देश्वर महासेठको नाममा नामसारी गरे । उनीहरूले रामलखन महासेठ, सुरेन्द्र महासेठ, श्याम महासेठ र उपेन्द्र महासेठको नाममा संयुक्त रूपमा लालपुर्जा बनाएका थिए ।

२०१७ सालमा स्थापित राजर्षि जनक माध्यामिक विद्यालय कुर्थामा हाल ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा स्थायी, बालविकास र निजी गरेर जम्मा १७ जना शिक्षक रहेका छन् ।

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १७:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया