हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक
फरकधार / २९ पुस, २०७८

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनलाई रोक्न नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ ।



बिहीबार राजधानीमा एक कार्यक्रमका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वागमती प्रदेशको पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरेका हुन् । 

आज सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलीबेटी बेचबिखनको कथालाई भिडियोमा मनछुने ढंगबाट देखाउन खोजिएको छ । 

गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलो पटक यो विषय उठाएको बताए । 



आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुगेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नु अगाडि नै बचाउने सन्देश दिएको बताए । गीतले चेलीबेटी बेचबिखनलाई रोक्न भूमिका खेल्ने श्रेष्ठले बताए ।

यो गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ । गीतमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक जागरणको लागि कलाकार हरिवंश आचार्यसँग अभिनय गर्न पाउदा गौरव महसुस गरेको बताइन् ।

वरिष्ठ कलाकार आचार्यको आफ्नै शब्द र स्वरले भरिएको गीतमा किरण तुलाधरको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् । सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथामा भिडियो निर्माण गरिएको छ ।

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १८:५०:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया