चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको सख्या उल्लेख्य वृद्धि भएपनि नेपाल भित्रने रेमिट्यान्स भने घटेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ अपडेट अनुसार २०७८ साउनदेखि मंसिरसम्मको अवधिमा नेपाल भित्रने रेमिट्यान्स घटेको हो ।
राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच महिनामा नेपाल भित्रने रेमिट्यान्स ६.८ प्रतिशतले कमी आएको छ । गत साउनदेखि मंसिरसम्म नेपालमा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ११ प्रतिशतले वृद्धि भएको थियो ।
अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा ७.३ प्रतिशतले कमी आएको छ । नेपालमा पछिल्लो पाँच महिनामा ३ अर्ब २६ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको देखिन्छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भएको थियो ।
चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
पछिल्लो पाँच महिनामा १ लाख ३१ हजार ८२ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।
यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत साउनदेखि मंसिरसम्म २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।