बागमती प्रदेशमा समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउने निर्णय

बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको बैठकले समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउने निर्णय गरेको हो ।

समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ ।

‘कोभिड–१९ विरुद्धको खोप अभियानमा स्थानीय तहलाई पनि पहलकदमीका लागि अनुरोध गर्ने र त्यसका लागि ११९ स्थानीय तहका जनप्रतिनिधिसँग जुम मिटिङ गरिने भएको छ,’ बैठकपछि स्वास्थ्य मन्त्री निमा लामाले भने । 

बागमती प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्यभन्दा कम जनसंख्याले खोप लगाएको तथ्यांकले देखाएकाले खोप अभियानमा जनप्रतिनिधिको पहलकदमी आवश्यक देखिएको उनको भनाई छ । उनका अनुसार यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान संचालन गरिने भएको छ ।

कोरोना संक्रमण दर नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्ने/गराउने, २५ जनाभन्दा बढी सहभागी भएर गरिने कार्यक्रममा रोक लगाउने, धार्मिकस्थलमा हुने नियमित पूजाबाहेकका गतिविधिलाई नियन्त्रण गर्ने, स्वास्थ्यकर्मीसहित कोरोनाविरुद्धको अभियानमा सक्रियलाई प्रोत्साहनको काम गर्ने, फ्रन्टलाईनरलाई प्राथमिकताका साथ कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने व्यवस्था गर्ने निर्णय निर्देशक समितिले गरेको छ ।

बैठकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम एवं उपचारका लागि निजी क्षेत्रसहित सबै पक्षसंग सहकार्य गर्ने निर्णय गरेको छ । 





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १३:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया