प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा भने उपस्थिति जनाएको छ ।
एमालेको तर्फबाट उपमहासचिव विष्णु रिमालसहित नेताहरू निरज आचार्य र भीष्म अधिकारी बैठकमा पुगेका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।
गत १४ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो । गत २३ भदौदेखि एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएपछि उक्त गतिरोध हटाउनका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । एमालेले भने सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनमा सहयोगी भूमिका निर्वाह गरेको आरोप लगाउँदै आएको छ ।
एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी सहभागी हुने बैठकमा आफूहरू नजाने अडान एमालेले लिएको थियो । त्यसअघि सभामुख सापकोटाले २८ भदौमा बोलाएको बैठक पनि एमालेले बहिष्कार गरेको थियो । सभामुखसँगको विषय भएकाले एमालेसँग मात्र वार्ता गरे हुने र अरू दललाई राख्न नपर्ने जिकिर गर्दै बैठक बहिष्कार गरेको थियो ।
एमालेले कारबाही गरेका व्यक्ति सहभागी भएको बैठकमा आफूहरु उपस्थित नहुने स्पष्ट बताउँदै सभामुखले बोलाएको बैठक अस्वीकार गरेको थियो ।
चुनावको चाहना
गत २९ असारमा सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवालाई एमालेले ‘परमादेशी प्रधानमन्त्री’ भन्दै आएको छ । एमालेले षड्यन्त्र गरेर जनताको मतबाट बनेको सरकारलाई गिराउँदै अदालतको आदेशबाट प्रधानमन्त्री देउवा नियुक्त भएको बताउँदै आएको छ ।
यसबीचमा सभामुख सापकोटाले सूचना टाँस गर्न ढिला गरी एमाले विभाजनमा सहयोग गरेको एमालेको आरोप छ । सँगसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले चाँडोभन्दा चाँडो निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै आएका छन ।
उनले सत्ता गठबन्धनका नेताहरू निर्वाचनसँग डराएर भागेको पनि बताएका छन । केहीदिनअघि मात्र एमालेको संखुवासभा जिल्ला अधिवेशनको उद्घाटनको क्रममा निर्वाचनको परिणामसँग डराएर चुनावबाट सत्ता गठबन्धन भाग्न खोजेको बताएका थिए ।
दुईपटकसम्म आफैंले विघटन गरेको संसद् चल्न नदिन ओलीले सक्दो प्रयास जारी राखेका छन् । संसद् विघटन गरेर ओलीले आम निर्वाचनको मितिसमेत घोषणा गरिसकेका थिए । यद्यपि उनको यो निर्णयलाई सर्वोच्चले बदर गरिदिएको थियो ।
संसद् चलाउन प्रधानमन्त्री र सभामुखको बैठक बहिष्कार गरेका एमालेले निर्वाचन आयोगको बैठकमा उपस्थित भएर निर्वाचन चाहना उन्मुख भएको सन्देश पनि दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।