राष्ट्रिय परिचयपत्रको विवरण ९ सय स्टेसनबाट, १० प्रतिशत सामानको क्षति

इ-पासपोर्टका लागि अनिवार्य गरेपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनेहरूको भीड लाग्न थालेको छ । इ-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्रको नम्बर आवश्यक पर्छ भने सबैखाले सेवा पनि यसैबाट लिन सकिने छ । 

सरकारको लामो समयदेखिको प्रयासपछि राष्ट्रिय परिचयपत्र बन्न थाले पनि अहिलेसम्म कार्ड नेपाल आइसकेको छैन । यद्यपि, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले फागुन अन्तिम सातादेखि कार्ड बाँड्न सुरु गर्ने दाबी गरेको छ ।

जनवरीको अन्तिमसम्ममा चेक गणतन्त्रबाट ५० लाख परिचयपत्रका लागि आवश्यक कार्ड आइपुग्ने र फेब्रुअरीबाट कार्डमा विवरण राखेर छपाइ सुरु हुने विभागले जनाएको छ । छपाइपछि वितरण गर्ने विभागको तयारी छ ।

परिचयपत्रमा  रहेको ‘चिप्स’मा नागरिकको १० औँलाको छापसहितका जैविक र वैयक्तिक विवरण राखिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका प्रमुख तीर्थ भट्टराईले बताए । 

यसमा नागरिकता, शैक्षिक योग्यता, चालक अनुमतिपत्र, जग्गा धनीपुर्जासहित सार्वजनिक प्रशासनसँग सम्बन्धित सबै विवरण समेटिने उनको भनाइ छ ।

उनले भने, ‘यो बहुउपयोग छ । कार्डमा भएको १० वटा नम्बर (डिजिट) का आधारमा व्यक्तिको पहिचान गरिन्छ, अहिले कार्ड नबनिसकेकोले त्यही १० वटा नम्बरबाट नै इ-पासपोर्टको काम भइरहेको छ । ’



टुटफुटमै  १० प्रतिशत सामानको क्षति 

देशभर गरेर १ हजार ६६ वटा परिचयपत्रको विवरण संकलन गर्ने स्टेसन बराबरको सामग्री विभागसँग छ । तर, सामग्री बिग्रँदै गएका छन् ।  एउटा स्टेसनमा १२ वटा सामग्री हुन्छन् जसमा प्रिन्टर, औँला स्क्यानिङ मेसिन, ल्यापटप, क्यामरालगायतका सामग्री हुन्छन् ।



स्टेसनका सामग्रीमध्ये १० प्रतिशत सामग्री बिग्रिएका महानिर्देशक भट्टराईले जानकारी दिए । सामान बिग्रनुमा सबै संवेदनशील सामग्री भएको र केही टुटफुट निक्लेको भट्टराईले बताए ।

स्टेसनका सामग्रीको करिब १० प्रतिशत क्षति हुनुमा विवरण संकलन गर्न गाउँगाउँमा जाँदा टुटफुट हुने, ल्यापटप बिग्रने, गाडीमा लैजाँदा फुट्ने लगायत समस्या रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व्यवस्थापन शाखाका निर्देशक ललित कुमार बस्नेतले स्पष्ट पारे । उनका अनुसार केही स्थानमा ल्यापटपलगायतका सामग्रीसमेत चोरी भएका छन् ।

नवलपरासीको दक्षिणी क्षेत्रमा ल्यापटपलगायत केही सामग्री हराएको उनले बताए । हराएको सामग्रीको बारेमा सम्बन्धित क्षेत्रको जिम्मा लिएका कर्मचारीलाई स्पष्टीकरण सोधिने र सही कारण नखुलाए तलबबाट नै भरपाई गराउनेसमेत निर्देशक बस्नेतले जानकारी दिए । 

९ सय स्टेसनबाट सेवा

राष्ट्रिय परिचयपत्र सबै जिल्लामा पुगे तापनि अहिले सुरुवातको चरण भएकाले यसको भीड जिल्ला-जिल्लामा पनि थामिनसक्नु रहेको छ । राकसिराङ गाउँपालिका ३ का खड्गबहादुर सिंजाली मगरले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट राष्ट्रिय परिचयपत्र बनाउन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कुर्नु परेको थियो । 

प्रायः सबै जिल्लामा यस्तै भीड छ । राष्ट्रिय परिचयपत्र बनाउनेको भीड काठमाडौं, भक्तपुर र ललितपुरमा पनि उच्च भीड छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थ भट्टराईका अनुसार देशभरी मंसिर १५ गतेसम्ममा १५ लाख राष्ट्रिय परिचय पत्रको विवरण संकलन भइसकेको छ ।

अभियान अहिले राष्ट्रिय परिचयपत्र वितरण अभियान नै चलिरहेको भट्टराईले जानकारी दिए । देशका सबै जिल्लामा नै स्टेसन छन् भने काठमाडौंमा जिल्ला प्रशासनबाहेक मात्रै ४ वटा स्टेसन थिए । अहिले थप १० वटा थपिएका छन् ।

यस्तै, कर्मचारीका लागि नारायणहिटीमा छुट्टै स्टेसन छ भने ललितपुर र भक्तपुरमा पनि जिल्ला प्रशासनबाहेक अन्य स्टेसन बनाएर राष्ट्रिय परिचय पत्रको काम भइरहेको छ । उपत्यकामा मात्रै २८ वटा स्टेसन छन् ।

अतिआवश्यक भएका तर जिल्लामा जान नभ्याउनेका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम हुने भए तापनि अहिले सबै खाले मानिस गएर राष्ट्रिय परिचयपत्र बनाउँदा भीड धेरै भएको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए ।

राष्ट्रिय पत्रका देशका १७ वटा इलाका प्रशासनबाट पनि स्टेसन राखेर वितरण भइरहेका छन भने २५ वटा जिल्लामा अभियान नै सञ्चालन भइसकेको छ  ।

अहिले १३  जिल्लामा जारी छ ।  देशैभरिबाट अहिले १ हजार ६६ मध्ये करिब ९ सय स्टेसनबाट विवरण संकलन भइरहेका छन् ।  बाँकी स्टेसनमा कहिले केही सामग्री बिग्रने, कहिले क्यामरा बिग्रने हुँदा सबै एकैचोटि चल्न नसकेको विभागले जनाएको छ ।

  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार ८:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया